
अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि काठमाडौं आउने भएका छन् । छोटो तर नियमित औपचारिक भ्रमणका सिलसिलामा लू बिहीबार आइपुग्ने जानकारी आएको कूटनीतिक स्राेतले जानकारी दिएको छ । नेपालले ६ असारमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेपछि नेपाल आउन लागेका उनी पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।
स्रोतका अनुसार लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गर्ने तय भएको छ । उनी शुक्रबारै फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ । लूको भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा जानकारी भने दिएको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले लूको भ्रमणबारे आफू पनि जानकार नरहेको प्रतिक्रिया दिइन् । ‘मैले पनि पत्रकारहरूबाटै थाहा पाएको हुँ । भ्रमणका विषयमा म कन्फर्म गर्न सक्दिनँ,’ लम्सालले नयाँ पत्रिकासँग भनिन् ।
आठ महिनाअघि १ मंसिरमा पनि लू काठमाडौं आएका थिए । संसदबाट मिलिनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसिसी प्याक्ट) फागुनमा पारित हुनुअघि लूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर पारित गर्न दबाब दिएका थिए ।