१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

थारू समुदायमा मात्र छैन ‘सिकलसेल एनिमिया’

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३७:oo

सिभियर सिकलसेल एनिमियाको समस्या देखिएपछि दुई साताअघि दमौलीका १२ वर्षीय सुजन कुँवर उपचारका लागी काठमाडौंस्थित वीर अस्पताल पुगे । परीक्षणको क्रममा उनको शरीरमा स्वस्थ हेमोग्लोबिनको मात्रा जम्मा दुई प्रतिशत मात्र बाँकी थियो । अन्य हेमोग्लोबिनमा सिकलसेल देखिएका कारण उनलाई तत्काल रगत चढाएर थप उपचारका लागि भर्ना गरियो । चिकित्सकका अनुसार स्वस्थ रगतका लागि शरीरमा हेमोग्लोबिनको मात्रा ९५ प्रतिशतभन्दा माथि हुन आवश्यक हुन्छ । तर, सुजनमा सिकलसेल एनिमियाको समयमै उपचार हुन नसक्दा आएका विभिन्न स्वास्थ्य जटिलताका कारण अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको थियो । उनी हाल वीरमा नियमित उपचाररत छन् । 

ललिलतपुरकी ४६ वर्षीय पार्वती श्रेष्ठ पनि वीर अस्पतालमा सिकलसेल एनिमियाको उपचार गराइरहेकी छिन् । रगतमा आएको समस्याका कारण देखिएका विभिन्न स्वास्थ्य समस्याको उपचारको क्रममा सिकलसेल ट्रेट देखिएपछि हाल उपचार गराइरहेकी हुन् । 

स्वास्थ्यकर्मी पनि भ्रममा छन् :डा. नीरज सिंह हेमाटोलोजिस्ट

जुन सुकै समुदायमा सिकलसेलका जटिल बिरामीको संख्या धेरै पाइएको छ । रोगका कारण अन्य स्वास्थ्य समस्या नदेखिएका, पत्ता नलागेका, उपचारको पहुँचमा नभएका वा रोगबाहक रहेकाहरूको संख्या अनुमान गर्नै सकिँदैन । तर, कतिपय स्वास्थ्यकर्मीमै पनि सिकलसेल थारू समुदायमा मात्रै हुने रोग हो भन्ने भ्रम देखिन्छ ।

सिकलसेल एनिमिया तराईको थारू समुदायमा बढी देखिने भएकाले थारूमा मात्र देखिने रोग भनेर चिनिँदै आएको छ । तर, आनुवंशिक रोगको परीक्षण बढ्दै जाँदा तराईमा मात्र नभई देशभरि अन्य समुदायका व्यक्तिहरूमा पनि सिकलसेलका प्रभावितहरू प्रशस्तै भेटिन थालेका छन् । आनुवंशिक रोग परीक्षणको ल्याब भएको एक मात्र वीर अस्पतालमा प्रत्येक महिना चारदेखि पाँचजना सिभियर सिकलसेलका बिरामी उपचारका लागि आउने गरेका छन् ।

सिकलसेललगायतका हेमोग्लोबिनसँग सम्बन्धित रोगहरूलाई लक्षित गरी मार्गनिर्देशिकासमेत जारी भइसके पनि आनुवंशिक रोगको उपचारका लागि छुट्टै स्वास्थ्य सेवा उपलब्ध नहुँदा समस्या बढ्दै गएको हेमाटोलोजिस्ट डा. नीरज सिंह बताउँछन् ।

उनी भन्छन्, ‘थारू समुदायमा महामारीको रूपमै देखिएको सिकलसेल अन्य समुदायमा पनि देखिन थालेको छ । तर, आनुवंशिक रोगको परीक्षण र उपचार सहज बनाउनुको सट्टा राजनीतिको विषय बनाउन थालिएकाले समुदायस्तरमा पूर्ण उपचार गर्न नसकिने यस्ता रोगको जोखिम दिनप्रतिदिन बढ्दै छ ।’ 

चिकित्सक सिंहका अनुसार सिकलसेल समुदाय विशेष रोग होइन । सिकलसेल एनिमिया नेपालमा मात्रै नभई दक्षिण एसियाका देशहरूमा सबैजसो समुदायमा यस्ता आनुवंशिक रोग प्रभावितको संख्या बढ्न थालेको छ ।  उनी भन्छन्, ‘थारूबाहेक अन्य समुदायमा केही छिटपुट केसबाहेक सिकलसेलको स्क्रिनिङ नै भएको छैन । रोगको स्क्रिनिङ मात्रै गरेमा धेरैजसो सिकलसेलवाहक वा सिकलसेलका बिरामी रहेको पुष्टि हुन्छ ।’ 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांकअनुसार हाल देशभरका अस्पतालहरूमा २२ सयभन्दा बढी बिरामी सिकलसेलको उपचार गराइरहेका छन् । डा. सिंह भन्छन्, ‘सिभियर बिरामीको संख्या नै यति धेरै छ भने रोगका कारण अन्य स्वास्थ्य समस्या नदेखिएका, पत्ता नलागेका, उपचारको पहुँचमा नभएका वा रोग वाहकको संख्या अहिले अनुमान गर्न सकिँदैन । अझै स्वास्थ्यकर्मीहरूसमेत सिकलसेल थारू समुदायमा मात्रै हुन्छ भनेर बसिरहेका छन् ।’

सिकलसेल के हो ? 
मानव रगतमा पाइने रातो गोलाकार रक्तकणको स्वरूप हँसिया अर्थात् बांगो आकारमा परिवर्तन हुने रक्तअल्पतासम्बन्धी समस्यालाई सिकलसेल मानिने वंशानुगत रोग विशेषज्ञ डा. निलम ठाकुर बताउँछिन् । उनका अनुसार ‘सिकलसेल एनिमिया भएका बिरामीहरूको रक्तकोषिकामा आउने लगातार परिवर्तनका कारण छोटो समयमै नष्ट हुन गई रक्तप्रवाहमा अवरोध उत्पन्न हुन्छ, जसले गर्दा बिरामीको रगतमा अक्सिजनको कमीका कारण विभिन्न अंगमा असर पर्ने गर्छ । पर्याप्त रक्तसञ्चार नहुँदा मस्तिष्कमा रगत जमेर स्ट्रोक, शरीरका अंग दुखाइ, अंग फेल र विभिन्न खालका संक्रमण निम्त्याउँछ ।’ 

चिकित्सकहरूका अनुसार सिभियर बिरामीको उपचारका लागि बाहेक काठमाडौंमा सिकलसेलका बिरामीको अनुपात निकै न्यून छ । तराईका विभिन्न भागमा सिकलसेल मुख्य समस्याकै रूपमा देखिए पनि उपचारका लागि बिरामीहरू अस्पतालसम्म आउने दर अझैसम्म न्यून रहेको बताउँछन्, डा. सिंह । 

ad
ad