१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एमआर नारायण स्वामी
२o८१ बैशाख २० बिहीबार o८:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

किन भयाे श्रीलंकामा राजपाक्षेकालको अन्त्य ?

Read Time : > 2 मिनेट
एमआर नारायण स्वामी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५o:oo

यदि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले जनताको नाडी छामेका भए कोलम्बोस्थित निवासबाट भाग्नुपर्ने थिएन । आफू अपदस्थ हुने वातावरणलाई नकार्दै तानाशाहहरूको आफ्नो सत्ता बचाइराख्न जनता र घटना–परिस्थितिलाई नियन्त्रण गर्न सक्छु भन्ने प्रवृत्ति संसारभरि भइरहेकै त्रासदी हो । यदि गोटाबायाले सन् २००९मा सैन्य रूपमा पराजित गर्न असम्भव लाग्ने लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटिटिई)लाई तहसनहस बनाउन अग्रणी भूमिका नखेलेका भए श्रीलंकाली जलसेनाले शिष्टाचारपूर्वक ९ जुलाईमा सुरक्षित रूपमा उनलाई निवासबाटै मार्गप्रशस्त गर्थे भन्नेमा शंका छ ।

९ मेमा राष्ट्रव्यापी प्रदर्शन र हिंसापछि सडकको आक्रोशको सामना गर्न सकिन्छ भनेर राष्ट्रपतिले आफ्ना दाइ महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्याए र आफ्ना धूर्त भाइ बसिल राजपाक्षेलाई पनि सरकारबाट हटाए । सम्भवतः राजपाक्षे परिवारलाई सडकको असन्तुष्टिलाई यसै गरेर मत्थर पार्छौं भन्ने थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि महिन्दाले पूर्वीसहर ट्रिन्कोमालीमा रहेको सैन्य ब्यारेकमा शरण लिएका थिए । आत्मविश्वाससाथ महिन्दाका छोरा नमल राजपाक्षेले आफ्नो बुबाले केवल ‘एक समस्या झेलेको’ बताएका थिए । नमलले जोड दिँदै राजपाक्षे परिवारले मुलुक छाड्ने कुनै विचार नगरेको बताएका थिए ।

तर, ९ जुलाईका दिन बिहानै कोलम्बोतर्फ जनसागर उर्लियो, गोटाबायालाई पनि दाइ महिन्दालाई झैँ हतार–हतारमा भाग्न र अन्ततः सेनाको शरण लिन बाध्य पारियो । सम्पूर्ण सेना र सुरक्षा संयन्त्र राष्ट्रपतिको चरम अपमानलाई रोक्न असफल ठहरिए । अश्रुग्यास, गोली प्रहार र सुरक्षा ब्यारिकेड (बाँध) छिचोल्दै आक्रोशित भिडले उनको आधिकारिक गढमा आक्रमण गर्दा गोटाबाया राष्ट्रपति भवनमै थिए भने के हुन्थ्यो होला ? राष्ट्रपति एक हिसाबले भाग्यमानी थिए किनभने उनले आफ्नो भव्य घर छाडेका थिए । रमणीय ढंगले सुसज्जित कोठा, भान्साकोठा, निजी जिम र पौडी पोखरी एकाएक ‘सार्वजनिक सम्पत्ति’ बन्न पुगे ।

यदि गोटाबायाले सहयोगी र विरोधीको सल्लाह मानेका थिए भने सम्मानजनक रूपमा पदबाट बहिर्गमन हुन सक्थ्यो र राजीनामा नगर्ने अड्डी कसेका राष्ट्रपतिलाई हटाउन भएको ठूलो आन्दोलनलाई रोक्न सकिन्थ्यो । अभूतपूर्व आर्थिक पतनको परिणामस्वरूप खाद्यान्न, इन्धन र औषधिजस्ता आधारभूत आवश्यकता उपलब्ध नहुनु वा बहुसंख्यक जनताका लागि निकै महँगो हुनाले श्रीलंकामा बिस्तारै आक्रोश बढ्दै गयो । विपक्षी मात्रै नभई महिन्दा राजपाक्षेले राजीनामा दिएपछि प्रधानमन्त्री चुनिएका रनिल विक्रमासिंघेसँगै नागरिक समाज र व्यावसायिक संघसंस्थाका नेता, धार्मिक नेता (विशेषतः बौद्ध र इसाई धर्मका) एवं व्यक्तित्वलगायत समूहले राष्ट्रपतिलाई राजीनामाका लागि दबाब दिन थालेका थिए । श्रीलंकाली मिडियाले पनि मोटामोटी रूपमा बफादारीसाथ जनताको भावनालाई प्रतिध्वनित गरेको थियो ।

एलटिटिईलाई हराएर प्राप्त भएको सैन्य विजयपछि राजपाक्षे खलकले मुलुकलाई निजी मौजाका रूपमा हेर्न थाल्यो । श्रीलंकामा बिस्तारै भ्रष्टाचार दैनिकी बन्दै गयो ।
 

यस घटनाबारे मैले पहिल्यै अनुमान गरिसकेको थिएँ । महिन्दाले पद त्याग्नुअघि नै मैले ५ अप्रिलमा द वायरमा यस्तो टिप्पणी गरेको थिएँ– ‘गोटाबायासँग अब श्रीलंकाको नेतृत्व गर्ने नैतिक अधिकार छैन । हालको सरकार खारेजी र गोटाबायाको राजीनामाका लागि दुई करोड २० लाख जनसंख्या भएको मुलुकका हजारौँ प्रदर्शनकारी सडकमा ओर्लेर एकजुट हुनेछन् । श्रीलंकाको सडकको आक्रोश सजावटी समायोजनले परिवर्तन हुनेछैन । श्रीलंकाको सबैभन्दा खराब आर्थिक पतन गोटाबायाका कारण हुन वा नहुन सक्छ, यद्यपि उनी आफ्नो जिम्मेवारीबाट भाग्न सक्दैनन् ।

प्रतिपक्ष वा सर्वदलीय सरकारबाट पनि तत्कालै समस्या समाधान हुने छाँटकाँट छैन । आफूसँग शासन चलाउने नैतिक अख्तियारी नभएपछि राजीनामा दिनु नै उचित हुन्छ । गोटाबायाले राजीनामा दिनुपर्छ । र, उनी श्रीलंकाली जनताको मन छुन कहिल्यै सफल हुनेछैनन् ।’ गोटाबाया केही समयका लागि पछि हटेका थिए, तर ठूलो वैदेशिक ऋण र दिवालीय अर्थतन्त्रले ध्वस्त भएको मुलुकको आर्थिक स्थायित्वलाई पुनस्र्थापित गर्न सक्ने आत्मविश्वाससाथ उनी उभ्रेकोजस्तो देखिए । सरकारको छोटो हनिमुनकालपछि राष्ट्रपति र प्रधानमन्त्रीले विभिन्न अधिकारीसँग भिन्नाभिन्नै भेट्न थाले र यसले अन्योल र अराजकता बढायो । 

आमनागरिक निराशामा रहेको अवस्थामा गोटाबायाले कूटनीतिक मोर्चामा सक्रिय भएर, शीर्ष कूटनीतिज्ञलाई भेटेर र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरेर आगोमा घिउ थपे, जबकि उनका परराष्ट्रमन्त्री एक देशबाट अर्को देशमा श्रीलंकाका लागि जमानती रकम खोज्दै थिए । अन्तर्राष्ट्रिय समुदायले राष्ट्रपतिलाई पद त्याग गर्न दबाब दिइरहेको थियो, ताकि कम्तीमा एक वर्षका लागि सर्वदलीय सरकारको नेतृत्व लिन सकोस् र श्रीलंकालाई दिइने कुनै पनि सहयोगले राजपाक्षे खलक वा आसेपासेलाई फाइदा पुग्नेछैन भन्ने आश्वासन दिन सकियोस् । ९ जुलाईको घटनाभन्दा केही दिनअघि गोटाबायाले संसद्मा उपस्थिति जनाएर विपक्षीबाट हुने कोलाहलपूर्ण विरोधको स्थिति उत्पन्न गरेका थिए । सर्वदलीय सरकारको नेतृत्व गर्न राष्ट्रपतिले चतुर्‍याइँसाथ आफ्नो राजनीतिक छवि पुनस्र्थापित गर्न कोसिस गर्दै थिए ।

राजपाक्षे परिवारको त्रासदी यो हो कि यस खलकले एलटिटिईलाई पराजित गर्न निर्दोष तमिल जनताको हत्या गरेको थियो । एलटिटिईलाई हराएर प्राप्त भएको सैन्य विजयपछि यो खलकले मुलुकलाई निजी मौजाका रूपमा हेर्न थाल्यो । श्रीलंकामा बिस्तारै भ्रष्टाचार दैनिकी बन्दै गयो । अर्थतन्त्रले एकपछि अर्को धक्का व्यहोर्न थाले पनि राजपाक्षे खलकले उत्पादन सम्बन्धित परियोजनामा करोडौँ डलर लगानी गर्न थाले । एलटिटिईलाई पराजित गर्न सेनालाई सहयोग गरेको भन्दै राजपाक्षे परिवारले आफू सधैँ सुरक्षित रहने विश्वास गरिरह्यो । तर, यिनले समकालीन इतिहास पढेको देखिएन । 
द वायरबाट (स्वामी श्रीलंका मामिलामा कलम चलाउने वरिष्ठ पत्रकार हुन्) 
 

ad
ad