
पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीले पोखरास्थित गल्फ कोर्सको ४० रोपनी जग्गा आफ्ना नातेदारको कम्पनीलाई २५ वर्षका लागि भाडामा दिएको खुलेको छ । उनले कार्यकाल सकिनु दुई दिनअघि पोखराका तीन स्थानको कुल ६३ रोपनी जग्गा विभिन्न कम्पनीलाई गुपचुप रूपमा भाडामा दिएका थिए । त्यसमध्ये ४० रोपनी जग्गा मासिक दुई लाख ७२ हजार रुपैयाँ भाडामा गल्स कोर्स एक्सन बिल्डर्स प्रालिलाई दिएका हुन् । उक्त कम्पनीका तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गर्ने विष्णु भण्डारी जिसीका छोरी–ज्वाइँ राम भण्डारीका भाइ हुन् । त्यस्तै, सम्झौतापत्रमा सम्झौता समितिका तर्फबाट जिसी स्वयंले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, जिसीले शिला शालिग्राम निर्माण सेवा प्रालिलाई मासिक दुई लाख ७५ हजार तिर्ने गरी पर्यटक बसपार्क १० वर्षका लागि भाडामा दिएका छन् । बसपार्कको क्षेत्रफल करिब १८ रोपनी रहेको छ । सम्झौतामा महानगरका तर्फबाट जिसी र प्रालिका तर्फबाट छविलाल कुँवरले हस्ताक्षर गरेका छन् । त्यस्तै, यातायात व्यवस्था कार्यालयअगाडि रहेको पाँच रोपनी जग्गा राइजिङ कन्स्ट्रक्सन प्रालिलाई १० वर्षका लागि मासिक एक लाख ३५ हजार लिने गरी सम्झौता गरेका छन् । सम्झौतामा समितिका तर्फबाट मेयर जिसी र प्रालिका तर्फबाट गिरबहादुर पुनले हस्ताक्षर गरेका छन् ।
सेटिङको आशंका
जग्गा भाडामा दिने काम हेर्दा सबै काम सेटिङमा भएको आशंका गरिएको छ । बन्द अवस्थामा रहेको एक पत्रिका तीन प्रति मात्रै छापेर २६ चैतमा भाडामा दिने सूचना प्रकाशित हुनु, आफ्नै नातेदारलाई जग्गा भाडामा दिनु, कार्यकाल सकिन दुई दिन बाँकी रहँदा भाडा सम्झौता गर्नु, समितिका सदस्यसचिवसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल पोखरा नभएको तथा स्थानीय तहको निर्वाचको चापाचाप रहेको समयमा भाडाका लागि सूचना प्रकाशित गर्नु, स्थानीय तहको निर्वाचनको मतगणना चलिरहँदा कार्यालयमा सम्झौता गरिनु, समितिमा रहेका अन्य १० जनालाई थाहै नदिनुलगायत धेरै कारण आशंकाका आधार बनेका छन् ।
पर्यटकीय बसपार्क समितिलाई हस्तान्तरण
पूर्वमेयर जिसीले भाडामा लगाएको पर्यटक बसपार्क बुधबार मात्र पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरिएको छ । पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा महानगरका प्रमुख एवं समितिका अध्यक्ष धनराज आचार्यलाई बसपार्क हस्तान्तरण गरेका हुन् ।
पर्यटन विभागको समितिको नाममा रहेको जग्गामा आठ करोड ४५ लाख ८३ हजार रुपैयाँको लागतमा बसपार्क निर्माण गरी हस्तान्तरण गरेको विभागका निर्देशक तारानाथ अधिकारीले जानकारी दिए । बसपार्कमा ४० वटा पर्यटकवाहक बस, १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कारसमेत राख्न मिल्नेछ । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ, जहाँ पर्यटकले तस्बिर खिच्न पाउनेछन् ।
नियमअनुसार नै दिएको हुँ : पूर्वमेयर
पूर्वमेयर जिसीले आफूले कानुन र विधिसम्मत जग्गा भाडामा दिएको दाबी गरेका छन् । जिसीले एक विज्ञप्ति जारी गर्दै आफूले पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधिअनुसार नै जग्गा भाडामा लगाएको दाबी गरेका छन् । समितिको स्वामित्वमा रहेको राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको जग्गा र यातायात कार्यालयनजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार रहेको उनको दाबी छ । उनले कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह गरेका छन् ।