मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २१ मंगलबार १२:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनरूपी विमान आकाशमै छ, सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जान्छ : नेता गुरुङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २१ मंगलबार १२:००:००

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन का‌ंग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनरूपी विमान आकाशमै रहेकाले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए । आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्ने बताए । उनले  संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको र बीचबाटोमा पुगेर दलहरूले एक–अर्काप्रति आरोप–प्रत्यारोप गर्नु नहुने बताए । जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उल्लेख गरे । उपसभापति गुरुङले गठबन्धनकै दलहरूले कांग्रेस  इमानदार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए । 

उनले भने, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौँ । जहाज उडिसकेको छ । आकाशमा छ । तर, ल्यान्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको वेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्यान्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर, खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ । जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ । १० हजार, साढे १० हजार फिट माथि उडिरहेको छ अहिले जहाज । अब त्यसलाई सेफ ल्यान्डिङ गर्ने वेलामा कसैले कांग्रेस इमानदार भएन भन्ने, अर्को दल इमानदार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा सुरु गर्ने हो भने जहाजले सेफ ल्यान्डिङ गर्न सक्दैन । हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो । हामीले जहाज ल्यान्डिङ नगर्दै एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्ने कुरा हामी आफैँले प्रमाणित हुन्छ । हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्यान्डिङ गर्न सक्छौँ भन्ने विश्वास छ ।’

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेकाे पुष्टि हुने दाबी गरे । उनले सधैँ देश गरिब बनाएर काम गर्नु नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए । उनले व्यवस्था परिवर्तन गरेर पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको बताए ।