१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार १६ बिहीबार ०९:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चौतर्फी घेरामा किसान : न्याय दिनुपर्ने गाउँको सिंहदरबार आफैँ गुहार माग्छ

Read Time : > 2 मिनेट
२०७९ असार १६ बिहीबार ०९:१०:००

केही दिनअघि इस्मा र मुसिकोटका कृषकको सयौँ रोपनी मकै बँदेलले नष्ट गर्‍यो । बाँदर र ढेडुले जिल्लाका सबै स्थानका किसान समस्यामा छन् । सत्यवती, मालिका, इस्मा, मुसिकोट, मदाने, धुर्कोट, रेसुंगा नगरपालिका, छत्रकोट र रुरु क्षेत्रका केही गाउँमा बाँदरको कारण खेती गर्न र मान्छे बसोवास गर्नै छाडेका छन् । इस्मा गाउँपालिका– ४ का अगुवा कृषक ओम कुँवरले बँदेलका कारण दुई वर्षदेखि बाँझो राखेको खेतमा अहिले मकै रोपे पनि एउटा घाेगो भित्र्याउन नपाएको गुनासो गरे । उनले बँदेल प्रभावित क्षेत्र घोषणा गरेर किसानलाई वैकल्पिक उपाय दिन सरकारसँग माग गरे । अहिले इस्मा र मालिका क्षेत्रमा बँदेलको आतंक बढेको छ । सत्यवती गाउँपालिका– १ र दुईका दर्जनभन्दा बढी परिवारले मकै स्याहार्न पाउँदैनन् । 

खेतबारीको मकै भित्र्याउने त परैको कुरा, घरमै आएर कुटपिट गर्ने गरेको स्थानीय शिक्षक शेरबहादुर कुँवरले बताए । रेसुंगा नगरकै अधिकांश वडाका नागरिक बाँदर र ढेडुबाट पीडित छन् । जेठदेखि असोज अन्तिमसम्म एकछिन बारी छोडे बाँदर र ढेडुले मकै सक्ने रेसुंगा नगरपालिका– ७ का विष्णु पन्थीले गुनासो गरे । उनले गाउँमा वृद्धवृद्धा मात्रै हुने र ठूलो संख्यामा बाँदर र ढेडु बारीमा पस्ने भएकाले स्थानीय सरकारले हेरालु राखिदिनुपर्ने माग गरे ।

हावाले सयाैँ रोपनीमा लगाएको मकैमा क्षति
बँदेल, बाँदर र ढेडुबाट मात्रै किसान पीडित छैनन् । भर्खरैको वर्षा र हावाले जिल्लाका विभिन्न ठाउँमा सयौँ रोपनी खेतबारीमा लगाएको मकै ढलाएपछि किसान पीडामा परेका छन् । जिल्लाको इस्मा, धुर्कोट, मुसिकोट र रेसुंगाकै विभिन्न स्थानमा हावा र पानीले मकैमा ठूलो क्षति गरेको छ । भर्खर धान फाल्ने र फल्ने वेलाका मकै हावाले ढलाएपछि किसान पीडामा रहेको इस्मा गाउँपालिका– ३ का रामबहादुर नेपालीले गुनासो गरे । उनले मंगलबार रातिको हावाले दर्लामचौरका अधिकांश किसानको मकै काम नै नलाग्ने गरेर नष्ट गरेको गुनासो गरे । उनले स्थानीय बाबुराम जिसीको ठूलो मात्रामा खुर्सानीमा पनि हावाले क्षति गरेको बताए । मुसिकोट नगरको कुर्घा, मुसिकोट, वडागाउँ, छल्दी पनाहका फाँट र अर्जे तथा अम्मरपुरमा हावाले मकैलाई क्षति गरेको गुनासो गरे । 

जंगली जनावरसँगै कुकुरआतंक
केही दिनअघि रेसुंगा नगरपालिका– ७ का चूरामणि पन्थीको एउटा पाठो घरनजिकै आएर चितुवाले मार्‍यो । केही समय पहिले चितुवाको आक्रमणबाट इस्मा गाउँपालिका– ४ का दुर्गादत्त अर्यालका दुईवटा पाठा मरे । सोही गाउँपालिकाकै वडा नं. १ का खेतबहादुर कुँवर नै चितुवाको आक्रमणबाट गम्भीर घाइते भए । उनका एक दर्जनभन्दा बढी बाख्रा चितुवाले पटकपटक गरेर मार्‍यो । रुरु क्षेत्र गाउँपालिकामा अहिले भुसिया कुकुरको आतंक छ । केही समयअघि रुरु क्षेत्र गाउँपालिका– ४ की बालकुमारी श्रेष्ठका चारवटा बाख्राका पाठा कुकुरले मार्‍यो । कुकुरले स्थानीयका साना पाठा–पाठी र बाच्छा–बाच्छी आक्रमण गर्न थालेपछि स्थानीय त्रसित छन् । साना बालबालिका एक्लै घरमा छोड्न र विद्यालय पठाउन गाह्रो भएको रुरु क्षेत्र गाउँपालिकाको कार्यपालिका सदस्य दुर्गा घायलले बताए । 

मध्यअसारसम्म मल अभाव
मध्यअसारसम्म किसानले मल पाएका छैनन् । बुधबार धान दिवसमा खेत पुग्ने जनप्रतिनिधि, नेता र प्रशासकले माला र खुसी पाए । तर, किसानले मल पाएनन् । इस्मा गाउँपालिकाका अगुवा कृषक कृष्णप्रसाद घिमिरेले मल नहुँदा कृषक मर्कामा परेको बताए । ‘डिएपी मल भए पनि युरिया मल आएको छैन,’ उनले भने, ‘मल नै नभएपछि धेरै उत्पादनको के आस गर्नु ?’ उनले सकेसम्म छिटो मल ल्याएर किसानलाई राहत दिनुपर्ने बताउँदै सरकार, जंगली जनावर र प्रकृति सबैतिरबाट किसान पीडित भएको गुनासो गरे । धान उत्पादनमा वृद्धि गर्न दिवस औपचारिकतामा सीमित नभएर सरकार किसानमुखी हुनुपर्ने बताए । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले युरिया मल आफूहरूको पहुँचमा नभएको स्पष्ट पारे । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म २२ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । जिल्लामा हंशराज, जडन, रामधान, खुमल ४ लगायतका धान लगाउँदै आइएको छ । 

आफैँ गुहार माग्छन् स्थानीय सरकार
मध्यअसारसम्म किसानसँग मल छैन । बल्ल–तल्ल उत्पादन गरे पनि बजार र मूल्य छैन ।  स्थानीय सरकारसँग कृषक सहजीकरणको प्रभावकारी उपाय छैन । मंगलबारको जिल्ला सभाको शून्य समयमा बोल्ने अधिकांश पालिकाका प्रमुखहरू आफैँले मल, बजार, मूल्य र जंगली जनावरबाट हुने क्षति सहजीकरणका लागि गुहार मागे । रुरु क्षेत्र गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले बाँदरआतंकले किसान आजित भएकाले सबै स्थानीय तहबीच समन्वय र सहकार्य गरेर नियन्त्रणमा एकरूपता आउने विधि खोज्नुपर्ने बताए । उनले बाँदर, बँदेल र कुकुर एक ठाउँबाट धपाएर अर्को ठाउँमा पठाएर समस्याको समाधान नहुने भएकाले विकल्पको खोजी गर्न आग्रह गरे ।

मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले पनि बाँदरसँग पछिल्लो समय बँदेलले किसानको खेती नष्ट गर्ने गरेकाले यसको वैकल्पिक उपायबारे सोच्नुपर्ने धारणा राखे । इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले जिल्लाका कृषकले मूल्य नपाउने र वेलैमा मल पनि नपाउने स्थितिको अन्त्य गर्न जिल्लाभर एकीकृत रणनीति र मलका लागि जिल्ला समन्वय समितिले अन्तरजिल्ला र प्रदेशसँग समन्वय गर्नुपर्नेमा जोड दिए । धुर्कोट गाउँपालिकाका प्रमुख भूपाल पोखरेलले रासायनिक मलको विकल्पमा जैविक मल प्रयोग गर्नुपर्ने बताए । संघीय सरकारले समयमै मल नल्याएर किसान मर्कामा परेको भन्दै पोखरेलले अब त्यसको विकल्पमा जैविक मल प्रयोग गर्नुपर्ने बताए ।