१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अपुग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:१७:oo

कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ। कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा वार्षिक रूपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । यो संख्यालाई आधार मान्दा कर्णालीमा वार्षिक एकजनालाई दुई सय एक किलो खाद्यान्न आवश्यक पर्दछ । कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार आठ सय ९० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । 

कर्णालीलाई पूर्ण रूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार तीन सय २४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिए। जिल्लागत रूपमा सल्यान, दैलेख र सुर्खेत मात्रै खाद्यान्नमा आत्मनिर्भर छन् । अन्य सात जिल्लालाई आफ्नै उत्पादनले वर्षभर धान्न नसक्ने गरेको पाण्डेले बताए। ९१ हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने सुर्खेत खाद्यान्नमा आत्मनिर्भर छ । सुर्खेतमा चार हजार आठ सय ६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, खाद्यान्नमा आत्मनिर्भर जिल्ला सल्यान हो । सल्यानमा वार्षिक ४७ हजार सात सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि ५२ हजार तीन सय ७४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पाण्डेका अनुसार दैलेखमा पनि वार्षिक ५६ हजार आठ सय १२ मेट्रिक टन उत्पादन हुन्छ । जब कि दैलेखलाई ५० हजार तीन सय ६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ । अन्य सात जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् । अहिले पनि डोल्पामा वार्षिक पाँच हजार ९९ मेट्रिक टन खाद्यन्न अपुग छ । 

यस्तै, हुम्लामा आठ हजार पाँच सय ६५, मुगुमा ६ हजार चार सय ३९, जुम्लामा तीन हजार पाँच मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको छ ।  सबैभन्दा धेरै कालीकोटमा १० हजार तीन सय १७ मेट्रिक टन वार्षिक रूपमा खाद्यान्न अपुग हुँदा रुकुम पश्चिममा एक हजार ६ सय १५ र जाजरकोटमा चार हजार दुई सय ९९ सय मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको कृषि विकास निर्देशनालयको तथ्यांकमा छ । 

यस वर्ष हावाहुरीको कारण मकैबालीमा र केही जिल्लाको धानबालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्न क्षति भएका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयले जनाएको छ। रासस

ad
ad