१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार १४ मंगलबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोसीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
२०७९ असार १४ मंगलबार १४:०३:००

सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ। बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुंङ्गा चलाउन, माछा मार्न र बाढीले बगाएर ल्याएका दाउरा झिक्न प्रतिबन्ध लगाएको छ।

नदीमा पानीको बहाव बढ्न थालेपछि प्रशासनले कोसीको बाँधलगायतको अनुगमन थालेको छ। सम्भावित जोखिमलाई मध्यनगर गर्दै उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ। नदीमा पानीको बहाव बढे पनि नदी आसपासका क्षेत्रमा खतरा भने नरहेको प्रशासनले जनाएको छ।

कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घन्टायता भने बढ्दो क्रममा छ। पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोसी नदीमा पानीको बहाव बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

पछिल्लो मापनअनुसार सप्तकोसीमा पानीको बहाव एक लाख २६ हजार पाँच सय पाँच क्युसेक प्रतिसेकेन्ड रहेको छ। ब्यारेजका १६ ढोका खोलिएका छन्। नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्परहरू सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले कहीँकतै कटानको खबर नरहेको जानकारी दिए। तटीय क्षेत्रका बासिन्दालाई भने सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ यादवले बताए।