Skip This
हावाहुरीसहितको वर्षाले घटायो काठमाडौंको वायु प्रदूषण, पूरै सफा हुन ठूलै पानी पर्नुपर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १५ मंगलबार o६:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

हावाहुरीसहितको वर्षाले घटायो काठमाडौंको वायु प्रदूषण, पूरै सफा हुन ठूलै पानी पर्नुपर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o६:२७:oo

केही दिनदेखि वायु प्रदूषणको चपेटामा रहेको काठमाडौं उपत्यकामा बिहीबार भएको वर्षा र हावाहुरीले राहत मिलेको छ । एक सातादेखि हरेक दिन मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह पुग्दै आएकामा बिहीबार अपराह्न हावाहुरीसँगै वर्षा भएपछि केही घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार बिहीबार साँझ कीर्तिपुर क्षेत्रमा ८.९ मिलिमिटरसम्म पानी परेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा प्रतिघण्टा ५० किलोमिटरसम्मको वेगमा हावा चलेको छ । ‘तुवाँलोले छोपेको आकाशमा डढेलोको धुँवा मिसिँदा जनजीवन निकै प्रभावित भएको थियो, तर हावाहुरीले धुलो–धुवाँ बढारेको छ भने पानीले पखालिदिएको छ,’ मौसमविद् झाले भने, ‘पक्कै पनि बिहीबारभन्दा शुक्रबार काठमाडौंमा वायु प्रदूषणमा केही सुधार हुनेछ ।’ 

वातावरण विभागको वायु प्रदूषण गुणस्तर मापन गर्ने केन्द्रको तथ्यांकअनुसार बिहीबार बिहान सात बजे रत्नपार्क क्षेत्रको हावामा २.५ पिएम भनिने धुलो–धुवाँका निकै मसिना कणको बहावस्तर प्रतिघन्टा १६२ माइक्रो घनमिटरसम्म थियो । तर, हावाहुरी र वर्षापछि साँझ ६ बजे यो स्तर ५०.१८ माइक्रोघनमिटरमा झरेको थियो । जबकि, बुधबार दिउँसोभन्दा बिहान र साँझ प्रदूषणको स्तर निकै खराब थियो । बुधबार दिउँसो दुई बजे वायुमा पिएम २.५ को मात्रा ५२.२ रहेकामा साँझ १२० सम्म पुगेको थियो । 

तर, तराईसहितका क्षेत्रमा लागेको डढेलो र काठमाडौं उपत्यकामा ढल बिछ्याउन, फुटफाथमा टायल बिछ्याउन खनेर असरल्ल छाडिएकाले पनि धुलो घटिहाल्ने स्थिति भने छैन । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले ठूलो हावाहुरी वा पानी नपरेसम्म प्रदूषण निमिट्यान्न भइनहाल्ने बताए । ‘बिहीबारको वर्षाले थोरै राहत त भएको छ, शुक्रबार घाम पनि लाग्ने देखिन्छ,’ उनले भने, ‘तर, देशभर डढेलो कायमै छ । काठमाडौंको धुलो पनि छँदै छ । त्यही भएर पूरै सुधार हुने स्थिति छैन ।’

कहाँ कति पानी पर्‍यो ?
बिहीबार गण्डकीको पश्चिमी क्षेत्र बागलुङदेखि ताप्लेजुङसम्म बनेको स्थानीय वायुका कारण गण्डकी, बागमती र कोशीका पहाडी क्षेत्रमा वर्षा भएको हो । बिहीबार सबैभन्दा बढी पानी धनकुटामा ३१.४ मिमि, खोटाङको ऐँसेलुखर्कमा २६.८ मिमि, सिन्धुपाल्चोकमा २१ मिमि र मकवानपुरमा २०.२ मिमि परेको छ । नासाले भूउग्रहबाट लिएको डढेलोको तस्बिर हेर्दा पूर्वभन्दा मध्य र पश्चिम क्षेत्रमा डढेलोका घटना बढी देखिन्छन् । बुधबारसम्म भने हिमाली भेगबाहेक देशभरका वनमा डढेलो देखिन्थ्यो । बिहीबार तराई, मधेसका वनजंगलमा अझ बढी डढेलो सल्किएको देखिन्छ । 

वर्षाले डढेलो निभाउने भए पनि तराई क्षेत्रमा भने तत्काल सम्भावना देखिँदैन । मौसमविद् झाका अनुसार शुक्रबार कोशी, गण्डकी र बागमतीका पहाडी क्षेत्रमा बादलसँगै हल्का वर्षाको सम्भावना छ । ‘काठमाडौंमा बिहीबारभन्दा मौसममा सुधार हुन्छ, अपराह्नपछि हल्का वर्षाको सम्भावना पनि छ,’ झाले भने ।

प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ  
बढ्दो वायु प्रदूषणले मानव शरीरमा गम्भीर असर पारिरहेको चिकित्सकले बताएका छन् । श्वासप्रश्वासका कारण दूषित हावा शरीरमा प्रवेश गरी अल्पकालीन र दीर्घकालीन असर पुर्‍यारहेको छ । वायु प्रदूषण बढ्दा घातक ग्यासका कण शरीरमा प्रवेश गर्ने भएकाले श्वासनलीमा संक्रमण, फोक्सोमा क्यान्सरलगायतको जोखिम बढिरहेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुग्नेको संख्या पनि केही दिनयता बढिरहेको छ ।

छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएकाहरूमा वायु प्रदूषणको सीधा असर पर्छ । उनीहरूमा दम बढ्ने, क्षयरोग भएका व्यक्तिमा खोकी बढ्ने, खकारमा रगत देखिने, ब्रोंकाइटिस भएका व्यक्तिमा गम्भीर लक्षण देखिने हुन्छ । यसबाहेक मधुमेह, रक्तचाप, फोक्सोमा संक्रमण, गर्भाधानमा समस्याजस्ता समस्या पनि बढाइरहेको छ । प्रदूषण अत्यधिक भएको क्षेत्रमा बसोवास गर्दा श्वासनलीमा समस्या देखिने, घाँटी दुख्ने वा खसखसाउने, रुघाखोकी लाग्ने, भाइरस संक्रमण बढाउने जोखिम हुन्छ । प्रदूषणको मात्रा बढ्दै जाँदा छाला चिलाउने, आँखा चिलाउने वा रातो हुने समस्या देखिन्छन् ।

 सकेसम्म घरबाट ननिस्किन आग्रह
प्रदूषण बढेको समयमा घरबाट सकेसम्म ननिस्किने वा मास्क लगाएर मात्रै निस्कन चिकित्सकको सुझाब छ । तर, मास्कको प्रयोगले मात्रै जोखिमबाट बच्न नसकिने भएकाले प्रदूषण नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ छ । हावामा ७८ प्रतिशत नाइट्रोजन र २१ प्रतिशत अक्सिजन हुनुपर्छ, जुन मानव स्वास्थ्यका लागि स्वस्थ मानिन्छ । यसबाहेक, प्रायः आर्गन (०.९ प्रतिशत), ट्रेस, कार्बनडाइअक्साइड, मिथेन, हाइड्रोजन, हेलियम र अन्य ग्यासहरू हुनुपर्छ । यस्तै, हावामा पानीको आद्रता पनि हुन आवश्यक मानिन्छ । तर, हावामा धुलो–धुवाँसँगै कार्बनमोनो अक्साइड, नाइट्रोजन अक्साइड, सल्फरडाई अक्साइड, ओजोन, पार्टिकुलर म्याटर, लिड आदि थुप्रिँदा स्वास्थ्यका लागि घातक हुन्छ ।  

ad
ad