१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार ८ बुधबार १९:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायमा मोलमोलाइ : घटनाक्रमका ५ श्रृंखला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १९:२३:oo

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलले ठगीसम्बन्धीको गम्भीर मुद्दालाई प्रभाव पार्ने गरी मोलमोलाइ गरिरहेको अडियो मंगलबार सार्वजनिक भएसँगै बुधबारदेखि न्यायाधीश र वकिलमाथि कारबाही सुरु भएको छ। सो प्रकरणबारे बुधबार दिउँसो न्याय परिषद् र नेपाल बार काउन्सिलको बैठक बस्यो। बैठकले अडियो संवादमा प्रकरणमा जोडिएका न्यायाधीश कोइरालालाई न्यायसम्पादनमा रोक लगाइएको छ। सोही प्रकरणका अर्का व्यक्ति अधिवक्ता पोखरेललाई स्पष्टकरण सोध्यो। 

सामाजिक संजालमै भेटिए आरोपी न्यायाधीश

अडियो बाहिरिएपछि विवादमा तानिएका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालाले विभिन्न प्रभाव र दबाबका बाबजुद आफूले निष्पक्ष भूमिका निर्वाह गरेको जनाएका छन् । उनले आफूमाथि न्याय परिषदबाट छानबिन होस् भन्दै सहयोग गर्ने पूर्ण प्रतिबद्धता जनाएका छन् । ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ, ’सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्यायपरिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्णप्रतिबद्धता व्यक्त गर्दछु ।’ 

४५ दिने म्यान्डेटसहित छानविन समिति

बुधबार बसेको न्याय परिषद्को बैठकले उक्त प्रकरणबारे छानबिन गर्न रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको सदस्यमा उच्च अदालत पाटनको कायममुकायम न्यायाधीश महेशप्रसाद पुडासैनी र पाटनकै महेश शर्मा पौडेल रहेका छन्। घुस लिएर आरोपितलाई छुटाउनेबारे न्यायाधीश र कानुन व्यवसायीबीच भएको ‘संवाद’पछि कानुनमन्त्री गोविन्द बन्दीको ध्यानाकर्षण भएको थियो। त्यसलगत्तै छानबिन समिति बनेको छ। समितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ। सो अवधिसम्मको लागि न्यायाधीश कोइरालाले काम गर्न नपाउने निर्णय परिषद्ले गरेको छ। 

अडियो प्रकरणमा काउन्सिलको एक्सन 

नेपाल बार काउन्सिलले अडियो प्रकरणमा जोडिएका अधिवक्ता रुद्र पोखरेललाई कारबाहीका लागि म्याद जारी गर्ने निर्णय गरेको छ। महान्यायाधिवक्ता खम्बबहादुर खातीको अध्यक्षतामा बसेको काउन्सिल बैठकले घुस लिएर आरोपितलाई छुटाउनेबारे न्यायाधीशसँग संवाद गरेको विषयमा उनीमाथि छानबिन अघि बढाउने निर्णय गरेको हो। 

बारको जोडबल : सत्यतथ्य छानबिन गर, कसुरदारलाई कानुनी दायरामा ल्याऊ

सोही प्रकरणमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण जनाएको छ। त्यसबारे सत्यतथ्य छानबिन गर्न एसोसिएसनले मागसमेत गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले उक्त अडियोमा भएको संवादको आधिकारिकता पुष्टि गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। विज्ञप्तिमा भनिएको छ,‘उक्त सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्यतथ्य व्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउन नियमनकारी निकायसँग जोडदार माग गर्दछ।’ 

पूर्वमहान्यायाधिवक्ता बडालको प्रष्टोक्ति

न्यायाधीशको मिलेमत्ता देखिने गरी सार्वजनिक भएको अडियोबारे पूर्वमहान्यायाधिवक्ता रमेश बडालले छानबिन र कारबाहीको माग राखेका छन्। उक्त अडियो संवाद हुँदा बडाल महान्यायाधिवक्ता थिए। तर त्यसबारेमा आफूलाई केही जानकारी नभएको बताउँदै बडालले अडियो प्रकरणबारे गम्भीर भएर छानबिन गर्नुपर्ने बताएका छन्। ‘टेलिफोन अडियो वास्तविक हो भने– टेलिफोन ट्यापिङ कसले गर्‍यो ? के सरकारले वा अरू कसले कस–कसको संवाद ट्यापिङ गर्दै छ ?’ उनले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘न्यायालयमा कुन हदसम्म न्यायिक विचलन र लेनदेन हुन्छ ? यसमा को कसरी संलग्न छ ? यो विषयमा गम्भीरताका  साथ छानबिन गरी सत्यतथ्य सार्वजनिक हुनु आवश्यक छ।’ उनले यदि यो अडियो बनावटी हो भने यस्तो कार्यमा संलग्नमाथि पनि छानबिन गरी सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताएका छन्।