मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७९ असार ८ बुधबार ०९:१९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

क्यान्सर उपचारमा ब्रेक थ्रु : नयाँ उपचार पद्धतिमा सहभागी सबै ६ महिनामै क्यान्सरमुक्त 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ असार ८ बुधबार ०९:१९:००

क्यान्सरको एक नयाँ उपचार पद्धतिमा सहभागी सबै बिरामी ठीक भएपछि वैज्ञानिकहरू निकै उत्साहित बनेका छन् । न्युयोर्क सहरस्थित मेमोरियल स्लोयन केटरिङ क्यान्सर सेन्टरले मलद्वारको क्यान्सरपीडित १४ बिरामीमा नयाँ उपचार विधि प्रयोग गरेको थियो । अनुसन्धानताले यस प्रयोगात्मक इम्युनोथेरापी औषधिको प्रयोगमा ‘ब्रेक थ्रु’ भएको बताए । 

चिकित्सकीय परीक्षणमा मेमोरियल स्लोयन केटरिङ क्यान्सर सेन्टरले डोस्टारलिमब नामक नयाँ औषधिलाई प्रयोगमा ल्याएको छ । यो औषधि दिएका सबै १४ बिरामीमा ६ महिनापछि क्यान्सरको कुनै अंश भेटिएको छैन । औषधि दिएका बिरामीको शारीरिक परीक्षण, इन्डोस्कोपी, एमआरआई र अन्य विभिन्न स्क्यान गर्दा सबै क्यान्सरमुक्त देखिएको क्यान्सर केन्द्रका अनुसन्धानकर्ताले बताए । 

डा. लुइस डियाज अनुसन्धान टोलीका प्रमुख सदस्य

क्यान्सर उपचारको परीक्षणमा सम्भवतः पहिलोपटक यस्तो नतिजा आएको होला  

परीक्षणको निष्कर्ष ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित छ । शोधकर्ताहरूले औषधिको शतप्रतिशत सफलताबाट आफूहरूसमेत आश्चर्यमा परेको बताएका छन् । ‘क्यान्सर उपचारको परीक्षणमा सम्भवतः पहिलोपटक यस्तो नतिजा आएको होला,’ अनुसन्धान टोलीका प्रमुख सदस्य डा. लुइस डियाजले न्युयोर्क टाइम्सलाई भने ।

अनुसन्धानमा सहभागी बिरामीहरूले पनि औषधिले नाटकीय परिणाम दिएको बताए । उनीहरू यो विधिले थप शल्यक्रिया, केमोथेरापी र विकिरणबाट गुज्रिन जोगाएकोमा खुसी थिए । अहिले सहभागीहरू रोग फर्किन्छ कि भनेर यकिन गर्नका लागि अवलोकन अवधिमा छन् । यो परीक्षणको सफलतले विशेषत युवा वयस्कहरूमा दूरगामी प्रभाव पार्न सक्ने शोधकर्ताले बताए । 

‘शल्यक्रिया र विकिरण प्रविधिले प्रजनन क्षमता, यौन स्वास्थ्य, आन्द्रा र मूत्राशयको स्वाभाविक काममा स्थायी रूपमा नकारात्मक प्रभाव पार्छ । उपचार पद्धतिमा सहभागी व्यक्तिको जीवनको गुणस्तरमै ह्रास आउँछ । विशेष गरी हाल प्रचलनमा रहेको क्यान्सरका उपचार विधिले बच्चा जन्माउने क्षमतालाई असर गर्ने सम्भावना हुन्छ,’ अनुसन्धानमा सहभागी अर्का प्रमुख अनुसन्धानकर्ता डा. एन्ड्रिया सेर्सेकले भने ‘युवा वयस्कमा मलद्वारको क्यान्सर बढ्दै गएको सन्दर्भमा यो उपचार विधिले ठूलो प्रभाव पार्न सक्छ ।’

डोस्टारलिमबलाई औषधि निर्माता कम्पनी ग्लाक्सोस्मिथक्लिनले विकास गरेको हो । अनुसन्धानमा सहभागी प्रत्येक बिरामीलाई तीनदेखि ६ महिनाको अन्तरमा औषधि दिएको थियो । प्रत्येक डोजको ११ हजार डलर खर्च भएको कम्पनीले जानकारी दिएको छ । औषधिलाई ‘चेकपोइन्ट इनहिबिटर(अवरोधक)’को रूपमा व्याख्या गरिएको छ । अर्थात् यसले क्यान्सर कोषिकाहरूले आफ्नो वरिपरि निर्माण गर्ने ढकनीलाई हटाएर आफ्नो काम गर्छ । यो ढकनीले प्रतिरक्षा प्रणालीको टी–सेलले क्यान्सर कोषिकालाई आक्रमण गर्नबाट रोक्ने गर्छ । औषधिले उक्त ढकनी नष्ट भएपछि क्यान्सर कोषिका प्रतिरक्षा प्रणालीको आक्रमणमा परेर नष्ट हुन्छन् । 

स्लोन केटरिङका अनुसन्धानकर्ताहरूले मलद्वारको क्यान्सरको एक उपसमूह बनाएर उनीहरूका लागि चिकित्सकीय परीक्षण डिजाइन गरेका थिए । सबै १४ बिरामीको ट्युमर कोषिकाहरूमा दुर्लभ म्युटेसन(उत्परिवर्तन) भएको थियो, जसका कोषहरूको डिएनएको मर्मत–सम्भार प्रणालीले काम गरिरहेका थिएनन् । फलस्वरूप, क्यान्सर कोषिकाहरूले तिनीहरूमा उच्चस्तरको आनुवंशिक त्रुटिहरू भएका प्रोटिनहरू उत्पादन गर्न थाले । जसको बाह्य ढकनी हटेपछि शरीरको प्रतिरक्षा प्रणालीले सहजै देखिने भएका थिए ।

डोस्टारलिमब औषधिको परीक्षणमा संलग्न वैज्ञानिकहरू अहिलेकै परिणामलाई हेरेर पूर्ण उपचार पत्ता लागेको नसम्झिन भन्छन् । विशेषत, परीक्षणमा सहभागी भएर क्यान्सरमुक्त भएका मानिसहरू कति समयसम्म क्यान्सरमुक्त रहन्छन् हेरेर मात्र अन्तिम निचोड निकाल्नुपर्ने तिनको राय छ । तथापि हालसम्मको परिणामबाट पनि उनीहरू आशावादी भएका छन् । डियाजले उपयुक्त खालको मलद्वारको क्यान्सरका लागि नयाँ उपचार पद्धति ‘क्रान्तिकारी’ हुने बताए ।

द गार्जियन