१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ७ मंगलबार ०७:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कारका अभियुक्त पाण्डे पुर्पक्षका लागि जेल चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ७ मंगलबार ०७:०५:००

सौन्दर्य प्रतियोगिताको नाममा किशोरी बलात्कार घटनाका अभियुक्त मनोज पाण्डे भनिने मनोजकुमार जैसी पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले सोमबार पाण्डेलाई जेल चलान गर्न आदेश दिएको हो । 

पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुव्र्यवहार गरी दुईवटा मुद्दा अदालतमा पेस भएको थियो । जसमध्ये मानव बेचबिखन तथा ओसारपसार कसुरमा पाण्डे पुर्पक्षका लागि जेल चलान भएका हुन् । बाल यौन दुव्र्यवहारमा भने उनीसँग एक लाख रुपैयाँ धरौटी रकम माग गरिएको छ । अदालतको आदेशपछि पाण्डेलाई सोमबारै डिल्लीबजार कारागार चलान गरिएको छ ।

पाण्डेमाथि दुईवटा मुद्दा अभियोजन भएको थियो । त्यसमध्ये एउटामा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको छ भने अर्कोमा एक लाख रुपैयाँ धरौटी रकम माग गरिएको छ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाधर पौडेलले नयाँ पत्रिकासँग भने, ‘उनलाई सोमबारै डिल्लीबजार कारागार चलान गरिएको छ ।’ पाण्डेविरुद्धका दुवै मुद्दामा सोमबार थुनछेक बहस भएको थियो । 

सरकारी वकिल कार्यालयले मानव बेचबिखन तथा ओसारपसार कसुरमा १५ वर्ष र यौनहिंसा कसुरमा तीन वर्ष कैद सजाय माग दाबी गर्दै पाण्डेविरुद्ध मुद्दा अभियोजन गरेको थियो । आठ वर्षअघि किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पाण्डेलाई गत ७ जेठमा स्वयम्भूबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । बलात्कार अभियोगमा हदम्याद तगारो देखिएपछि प्रहरीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरअन्तर्गत जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । करिब १९ दिनको अनुसन्धानपछि महानगरीय प्रहरी परिसर काठमाडौंले गत २७ जेठमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको थियो । 

घटनालाई पुष्टि गर्न प्रहरीले पूर्वमिस नेपाल माल्भिका सुब्बा, सौन्दर्य प्रतियोगिताका आयोजक मोडल भिषास कल्सल्टेन्सीका तत्कालीन कर्मचारी, फोटोग्राफर श्रीधर पौडेललगायतका व्यक्तिसँग बयान लिएको थियो । प्रतियोगितापछि सक्सेस पार्टी आयोजना गरिएको नयाँबानेश्वरस्थित एभरेस्ट होटेलमा उपलब्ध त्यसवेलाका कागजात पनि प्रहरीले अनुसन्धान गरेको थियो । 

पाण्डे मोडल भिषाजका सञ्चालक हुन् । सोही कल्सल्टेन्सीमार्फत उनले १७ भदौ ०७१ मा ‘मिस ग्लोबल इन्टरनेसनल ०१४’ आयोजना गरेका थिए । सोही प्रतियोगितामा सहभागी एक प्रतियोगीलाई होटेल एभरेस्टमा बोलाएर बलात्कार गरेका थिए । त्यसअघि उनले युवतीलाई होटेलको वेटरमार्फत ‘लेमन जुस’सँग लठ्याउने औषधि खुवाएका थिए । बेहोस भएकी उनलाई बलात्कार गर्नुका साथै भिडियोसमेत खिचेका थिए । सोही भिडियोमार्फत ब्ल्याकमेल गर्दै पाण्डेले ६ महिनासम्म आफूले र अन्य व्यक्तिबाटसमेत बलात्कार गराएका थिए । डिप्रेसनमा पुगेकी पीडितले आठ वर्षपछि घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि पाण्डे पक्राउ परेका हुन् ।