
अर्थमन्त्री जनार्दन शर्माले करका दरहरू परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरू र सचिवहरूसहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको बिहीबार जवाफ दिँदै शर्माले करका दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरे ।
शर्माले करका दर परिर्वतन गर्ने प्रचलनअनुसार परिर्वतन गरेका दररेटहरूप्रति आफू पूर्णजिम्मेवार र जवाफदेही रहेको बताए । उनले देशको डलरको सञ्चिति, आयात, उत्पादन र औद्योगिक वातावरणलाई कसरी अगाडि बढाउने भन्ने विषयलाई समेत ध्यानमा राखेर करका दरहरू परिर्वतन गरेको दाबी गरे ।
शर्माले करका दर परिर्वतन गर्दा कुनै पनि मान्छेभित्र नपसेको स्पष्ट पारे । उनले भने,‘करका दर परिर्वतन गर्ने सन्दर्भमा आवश्यक प्रक्रियाहरू छन् । परिवर्तन गर्दा सम्बन्धित विभागीय प्रमुख र सचिवहरूको कमिटीले बसेर करका दर परिर्वतन गर्ने प्रचलन रहेको छ । त्योअनुसार भएको करका दरहरूप्रति म पूर्ण जिम्मेवारी छु । जवाफदेही छु । यहाँ कुनै राष्ट्रघात भएको छैन ।’