Skip This
भिजिट भिसामा सुन तस्करी : कपडामा सुनको जलप लगाएर तस्करी गर्ने गिरोहका सातजना पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २४ मंगलबार o८:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा सुन तस्करी : कपडामा सुनको जलप लगाएर तस्करी गर्ने गिरोहका सातजना पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o८:३३:oo

कपडामा सुनको जलप लगाएर सुन तस्करी गर्ने नयाँ शैली प्रहरीले पत्ता लगाएको छ । आठ सय ८८ ग्राम सुनसहित सातजनालाई पक्राउ गरेपछि प्रहरीले यो तथ्य पत्ता लगाएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईबाट सुनको जलपसहितको कपडा लगाएर आएका दुईजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी अनुसन्धान गर्दा त्यसमा संलग्न थप पाँचजना पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा सो समूहले विगतमा पनि यसरी सुन तस्करी गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए । 

२१ जेठमा प्रहरीले दुबईबाट फर्कंदै गरेका रुपन्देही सैनामैना नगरपालिका–१ बस्ने गुल्मी ठेगाना भएका ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु वाणगंगा नगरपालिका–८ ठेगाना भएका २९ वर्षीय सन्दीप चन्द ठकुरीलाई सुराकीको आधारमा पक्राउ गरेको थियो । उनीहरूबाट बरामद कपडा परीक्षण गर्दा त्यसमा सुनको जलप थियो । विमानस्थलमा ती कपडा लिन गएकी बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ ठेगाना भएकी २२ वर्षीया निर्मला घलानलाई पनि प्रहरीले त्यहीँ पक्राउ गरेको थियो ।

उनीहरूमाथि थप अनुसन्धान गर्दा काठमाडौं बुढानीलकण्ठ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका–४ ठेगाना भएका ४१ वर्षीय राहुल भन्ने वरुणभक्त माथेमा, काठमाडौं बौद्ध बस्ने चिनियाँ मूलका नेपाली लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–१० ठेगाना भएका ४२ वर्षीय युवराज भुसाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगर ठेगाना भएका ५१ वर्षीय अमन राजपुत पक्राउ परेका हुन् ।

दुबईबाट फर्कंदै गर्दा पक्राउ परेका शाही र ठकुरी भिजिट भिसामा एक साताअघि त्यहाँ गएका थिए । ‘उनीहरू पटक–पटक भिजिट भिसामा सुन तस्करीकै लागि दुबई जाने गरेको देखिन्छ,’ एसएसपी कुँवरले भने, ‘गिरोहका नाइकेहरू दुबईमा पनि छन् भन्ने छ ।’ पक्राउ परेका सातजनामध्ये युवराज भुसाल प्रमुख व्यक्ति हुन् । प्रहरीले पक्राउ गरेलगत्तै उनले आफ्नो मोबाइल फुटाएका थिए । मोबाइलबाट गिरोहका बारेमा थप सूचना प्रहरीले पाउन सक्ने डरले उनले मोबाइल फुटाएका हुन् । गिरोहमा भारतीय नागरिकसमेत संलग्न रहेकाले यसरी आएको सुन भारत तस्करी हुने गरेको आकलन गरिएको छ । 

प्रहरीले केमिकल प्रयोग गरी ती कपडा गालेर सुन संकलन गरेको हो । कपडामा लेप लगाएर ल्याउँदा विमानस्थलको चेकजाँचमा सहजै झुक्याउन सकिने भएकाले सो गिरोहले यस्तो शैली अपनाएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । 

सुरक्षा जाँचलाई झुक्याउन सुन तस्करीमा संलग्न गिरोहले नयाँ–नयाँ शैली अपनाउने गरेका छन् । कहिले धुलो त कहिले झोल पदार्थमा मिसाएरसमेत सुन तस्करी हुने गरेको विगतमा पत्ता लागेको थियो ।