१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ जेठ २४ मंगलबार ०७:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

६४ वर्षपछि वेल्स विश्वकपमा

Read Time : > 1 मिनेट
२०७९ जेठ २४ मंगलबार ०७:१५:००

 वेल्स ६४ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ । वेल्सले विश्वकप प्ले अफमा युक्रेनलाई १–० ले हराउँदै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो ।कार्डिफ रंगशालामा वेल्सले इतिहास रच्दा आत्मघाती गोलको सहायता पाएको थियो । खेलको ३४औँ मिनेटमा युक्रेनका योर्मोलेन्कोले आफ्नै पोस्टमा गोल गरेपछि वेल्स १–० ले विजयी भयो । 

सन् १९५८ मा वेल्सले पहिलोपटक विश्वकप खेलेको थियो । गत साता युक्रेनले स्कटल्यान्डलाई हराउँदै वेल्ससँगको अन्तिम प्ले अफ खेलेको हो । युक्रेनी समर्थक रसियासँगको युद्धबाट प्राप्त चोट भुलाउने योजनाका साथ कार्डिफ रंगशाला पुगेका थिए । तर, एक आत्मघाती गोलसँगै युक्रेनी खेलाडी तथा समर्थकले पुनः एकपटक अर्को नराम्रो समाचारको सामना गरे । 

युक्रेन दोस्रोपटक विश्वकप खेल्ने तयारीमा थियो । वेल्सका स्ट्राइकर गेराथ बेलले प्रहार गरेको उत्कृष्ट फ्रिकिक बचाउने क्रममा युक्रेनका कप्तान एन्ड्रिय योर्मोलेन्कोले आफ्नै पोस्टमा हेडिङ गोल गरे । दोस्रो हाफमा युक्रेनले बराबरी गोल फर्काउने निकै प्रयास ग¥यो । वेल्सका खेलाडी पनि थप गोलका लागि प्रयासरत देखिन्थे । 
दोस्रो हाफमै बेलले एक सुन्दर मौका गुमाएका थिए । उनले डिबक्सबाट प्रहार गरेको बल क्रसबारनजिक हुँदै बाहिरिएको थियो । यसैगरी, विस्थापन्न खेलाडी बे्रनाम जोन्सनको प्रहार बारमा लागेको थियो । युक्रेनी खेलाडीका राम्रा प्रहारलाई वेल्सका गोलरक्षक वायन हेनेसेले उत्कृष्ट बचाउ गरेका थिए । 

जितसँगै वेल्सले अब कतारमा हुने विश्वकपमा अमेरिका, इंग्ल्यान्ड र इरान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ । वेल्स पछिल्ला केही विश्वकपको छनोट चरणको प्रतिस्पर्धामा निकै नजिकबाट बाहिरिएको थियो । यसपटक भने इतिहास रच्न सफल भयो । बेल सम्मिलित वेल्सको वर्तमान फुटबल टोलीलाई ‘गोल्डेन एरा’ भनिन्छ । वेल्स ५८ वर्षपछि सन् २०१६ को युरोकपको सेमिफाइनलमा पुगेको थियो । सन् २०२० मा पनि वेल्स युरोकपमा छनोट भयो ।वेल्सका बेलले युक्रेनमाथिको रोमाञ्चक जितलाई राष्ट्रिय टोलीको अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा भएको बताएका छन् । ‘हाम्रा लागि फुटबल इतिहासको सबैभन्दा ठूलो नतिजा हो,’ बेलले भने, ‘विश्वकप खेल्ने सपना पूरा भएको छ ।’ 

६४ वर्षपछि विश्वकपमा पुग्नुलाई बेलले वर्षौंदेखिको मिहिनेतको फलका रूपमा लिएका छन् । ‘आज उपलब्धि हात परेको छ,’ बेलले भने, ‘राष्ट्र, समर्थक र वेल्सका सम्पूर्ण नागरिकले यसलाई एक अविश्वसनीय उपलब्धिका रूपमा लिएका छौँ, हामीलाई सधैँ गर्व रहनेछ ।’

इतिहास रचेका छौँ
 रब पेज, प्रशिक्षक, वेल्स 

खेलाडीहरूको मिहिनेतका कारण इतिहास रचेका छौँ । मलाई खेलाडीप्रति गर्व छ, यो नतिजाका लागि उनीहरू हकदार थिए, विश्वकप खेल्ने सपना साकार बनाएका छन् । अबको यात्रा विश्वकप हुनेछ ।