१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १५ बिहीबार १३:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खेलकुदमन्त्री श्रेष्ठले गरे टी-२० विश्वकपको तयारीमा हिँडेका राष्ट्रिय क्रिकेट टिमका सदस्यको बिदाइ

आगामी जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि भारत जान लागेको टिम उतैबाट एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १३:५४:oo

भारतको घरेलु क्लबसँग त्रिकोणात्मक टी–२० शृंखला खेल्न जाने नेपाली राष्ट्रिय टिमका सदस्यलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिदाइ गरेका छन्।

टी–२० विश्वकप तयारीको क्रममा नेपाली टिमले भारत भ्रमणका क्रममा गुजरात र बरोडासँग टी–२० शृंखला खेल्ने कार्यक्रम छ । साथै, टोली एसिसी प्रिमियर कप खेल्नका लागि उतैबाट ओमान प्रस्थान गर्नेछ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो । टी–२० विश्वकपका लागि हालसम्म राष्ट्रिय टोलीको घोषणा भने गरिएको छैन ।

मन्त्री श्रेष्ठले भारतको गुजरातमा सञ्चालन हुने मैत्रीपूर्ण तथा ओमानमा हुने प्रिमियर कपमा सहभागी हुन जाने राष्ट्रिय टिमका सदस्यलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । 

नेपालको मुख्य लक्ष्य विश्वकप भएकाले यी दुवै प्रतियोगिताले विश्वकप तयारीलाई अझ निखार्ने विश्वास व्यक्त गरेका छन्।

भारत भ्रमणमा जाने टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, ललित राजवंशी, , प्रतीश जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

यही टोली ओमानमा हुने एसिसी प्रिमियर कप खेल्न जानेछ। एसियाली क्रिकेट परिषद् (एसिसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह ‘ए’मा परेको छ। समूह ‘बी’मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्। 

नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी ३० चैतमा मलेसियासँग खेल्नेछ। दोस्रो खेलमा १ वैशाखमा कतारसँग तथा तेस्रो खेलमा ३ वैशाखमा हङकङसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा नेपालले ५ वैशाखमा साउदी अरेबियाको सामना गर्नेछ। 

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने प्रतियोगिताकै विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।