१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर सौजन्य : एन्फा
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद

फिफा विश्वकप– २०२७ छनोट : चार खेलमा नेपालको पोस्टमा १४ गोल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:२४:oo

समूह ‘एच’मा अंकविहीन नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त

नेपाल फिफा विश्वकप २०२७ छनोटअन्तर्गत दोस्रो चरणमा बराइनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चुकेको छ । नेपालले होम एन्ड अवे गरी बहराइनसँग दुई खेल्दा समग्रमा नेपाल ८–० ले पराजित भयो । पहिलो खेलमा ५–० ले जित निकालेको बहराइनले दोस्रो खेलमा ३–० को जित निकाल्यो । विश्वकपमा छनोटमा चार खेल खेलेको नेपालको पोस्टमा विपक्षीले १४ गोल गरेका छन् । यसविपरीत नेपालले एक गोल पनि फर्काएको छैन । युएईसँग ४–० ले पराजित नेपालले यमनसँग २–० को हार व्यहोर्‍यो । 

बहराइन राष्ट्रिय रंगशालामा नेपालले चार खेलाडी परिवर्तन गरे पनि हार टार्न सकेन । आन्तरिक विवाद तथा कमजोर तयारीका साथ बहराइन पुगेको नेपाली टोली दुवै लेगमा फिनिसिङ गर्न चुकेको देखियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्सँग स्वीकृति नलिई अनावश्यक रूपमा पदाधिकारी बहराइन पठाएपछि विवाद भएको थियो । 

यसको प्रभाव नेपालको प्रदर्शनमा समेत देखिएको छ । नेपालले पहिलो खेलमा बहराइनविरुद्ध फितलो प्रदर्शन गरेको थियो । यद्यपि, दोस्रो खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गर्‍यो । डिफेन्डर रोहित चन्द नहुँदा नेपालको डिफेन्स लाइन कमजोर देखिएको थियो । युवा खेलाडीबीच आपसी तालमेल नमिल्दा नै मिडफिल्ड तथा फिनसिङ पक्ष कमजोर भएको हो ।

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको बहराइनले अधिकांश समय नेपाललाई दबाबमा राख्यो । बहराइनले दोस्रो खेलमा सबै गोल पहिलो हाफमा गरेको थियो । नेपालमाथि सानदार जित निकालेको बहराइनले समूह ‘एच’को दोस्रो स्थानमा रहँदै युएईमाथि दबाब राखेको छ । नेपाल चार खेलमा अंकविहीन छ । युएई १२ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको बहराइनले ९ अंक जोडेको छ । ३ अंक जोडेको यमन तेस्रो स्थानमा छ । नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल जुनमा खेल्नेछ । 

तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त 
लगातार चार खेलमा हार व्यहोरेपछि नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । समूहमा शीर्ष दुईमा रहने टोली विश्वकप छनोटको तेस्रो चरण पुग्नेछ । एएफसी एसियन कप २०२७ मा सीधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । यद्यपि, एसियन कपमा छनोट हुने नेपालको बाटो अझै सकिएको छ । 

समूहमा तेस्रो र चौथो हुने टोलीले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछ । समूह ‘ए’को अर्को खेलमा युएईले यमनलाई हराउँदै शतप्रतिशत जित निकालेको छ । समूहको अन्तिम दुई खेलअघि नै विश्वकप छनोटको तेस्रो चरणको स्थान पक्का गरेको युएईले एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

पहिलो हाफमै तीन गोल 
बहराइनले सुरुदेखि नै आक्रामक खेल खेल्यो । खेलको सातौँ मिनेटमा १–० को अग्रता लियो । नेपालले कर्नर किक क्लियर गर्न नसकेपछि डिफेन्डर सायद बाकेरको प्रहार डिफ्लेक्ट हुँदै गोल भएको थियो । खेलको १७औँ मिनेटमा बहराइनले पेनाल्टीमा २–० को अग्रता लियो । काउन्टर अट्याकमा नेपालका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले मोहम्मद मरहुनमाथि फल गरेका थिए । त्यसपछि प्राप्त पेनाल्टीमा अब्दुल्लाह युसुफले गोल गर्दै बहराइनलाई २–० को अग्रता दिलाए । खेलको ३६औँ मिनेटमा बहराइनले तेस्रो गोल थप्यो ।

यसपटक बहराइनका कोमाइल इलसवादले ३–० का लागि गोल गरे । उनले काउन्डर एट्याक्टमा गोलरक्षक चेम्जोङविरुद्ध वान भर्सेस वानको अवस्थामा गोल गरे । नेपालका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले अघिल्लो खेलबाट पहिलो रोजाइमा चार परिवर्तन गरेका थिए । अञ्जन विष्ट, मनीष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाले बहराइनविरुद्धको दोस्रो खेल खेल्न पाएनन् । भरत खवास, जिलेस्पीजंग कार्की, सञ्जीव विष्ट र सौभाग्य राई खेलेका थिए । अञ्जन विष्ट अघिल्लो खेलमा घाइते भएका थिए । मनीष डाँगी कार्डका कारण निलम्बनमा छन् । सुमित श्रेष्ठ र हिसुब थपलिया बेन्चमा रहे । 

नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरेको थियो । खेलको ७३औँ मिनेटमा नेपालको गोल अफसाइड भएको थियो । सनिश श्रेष्ठको क्रसमा सञ्जीव विष्टले बक्सबाट वान टच गोल गरेका थिए । तर, सहयाक रेफ्रीले अफसाइड देखाए । बहराइनले दोस्रो हाफमा नेपालमाथि दबाब बनाएको थियो । हुसेन अब्दुलकरिमले ८९औँ मिनेटमा राम्रो अवसर पाएका थिए । उनले डिबक्सबाट प्रहार गरेको बल क्रसबारबाट माथि गएको थियो । 

बहराइनका प्रशिक्षक ड्रागनले अपेक्षा गरेजस्तै दोस्रो खेल केही कठिन भएको बताए । ‘नेपालको प्रदर्शन पनि राम्रो भएको छ । आगामी दिनमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास छ,’ उनले भने, ‘नेपालले युएईसँग अंक खोसेमा हामीलाई सहज हुनेछ ।’

विशालको डेब्यु
प्रशिक्षक भिसेन्जोले दोस्रो खेलमा विशाल बस्नेतलाई डेब्यु गराए । खेलको ८४औँ मिनेटमा उनी छिरिङ लामाको स्थान मैदानमा प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरे । प्रशिक्षक भिसेन्जोले अघिल्लो खेलमा चार नयाँ खेलाडीलाई डेब्यु गराएका थिए । नेपालले बराहराइनसँगको खेलमा ६ नयाँ खेलाडीसहित राष्ट्रिय टोली घोषणा गरेको थियो । यस भ्रमणमा नेपालबाट पाँच खेलाडीले डेब्युको अवसर पाए । अघिल्लो खेलमा अभिषेक लिम्बूले पहिलो रोजाइमै डेब्यु गरे । सौभाग्य राई, समीर तामाङ र सञ्जीव विष्टले वैकल्पिक खेलाडीका रूपमा डेब्यु गरे ।

ad
ad