१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
बाबुकृष्ण कार्की
२o८१ बैशाख १९ बुधबार o६:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मातृभूमि टल्काउने कसले ?

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको कार्यालयमा पद बहालीसँगै फोहोर अनिवार्य उठाउने सिस्टम पनि बहाली होस्

Read Time : > 2 मिनेट
बाबुकृष्ण कार्की
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५७:oo

भर्खरै पृथ्वी दिवस गयो । केही अगाडि वन्यजन्तु सप्ताह मनाइयो । लेखरचना लेखेर यी दिवसहरूलाई सम्मान गर्नुपर्ने थियो । अहँ, पटक्कै मन फुरेन, कलम सरेन । ऐतिहासिक, धार्मिक, सांस्कृतिक सहर र व्यापारिक केन्द्र तथा राजनीतिक मुख्यालय काठमाडौं फोहोरले पुरिएको थियो । झरीले झन् गुम्सिएको थियो । दुर्गन्धले निसासिएको थियो । गाउँघरका सडक, धारा, खोला रगत र लादीले लत्पतिएका थिए । राजनीतिक भोट खरिद–बिक्री र शक्ति प्रदर्शनका लागि पाल्तु अबोध जनावर बलि चढेकाचढ्यै थिए ।

पृथ्वीका मालिक दाबी गर्ने मान्छे मस्तराम थिए । बिहान फलानो दलको भोज, साँझसम्म यो र त्यो सबै दलको भोज । पृथ्वीको यो सुन्दर अंशमा पानीभन्दा धेरै रक्सीको खोलो बगेको भान हुन्थ्यो । पृथ्वीलाई अन्याय, माटोमाथि पाप, जल, जमिन, जंगल र जनावरको उपहास । त्यसैले, मैले लेख्ने धर्म निभाउन सकिनँ । पृथ्वी, वन्यजन्तु र घरपालुवा जनावरसँग माफी मागेँ । 

छोप्न नसकेको लाज : कति प्यारो र आकर्षक गन्तव्य हाम्रो अंशको पृथ्वी । पर्यटकको ओइरो, सभा सम्मेलनहरूको चटारो । दुर्भाग्य, सहर फोहोरले पुरिएको समयमा यहीँ हात्ती सम्मेलन आइलाग्यो । यही वेला विदेशी पाहुनाको स्वागत गर्नुपर्ने कार्यभार । फोहोर छल्न सडक भेटिएन । न चोक न त खुला चौर नै भेटियो । नदीनाला उस्तै दुर्गन्धित । लाज ढाक्ने कुनै टालो भेटिएन । सरमले मन उद्वेलित भयो । शिर निहुरियो । प्रश्न अनवरत आइरहे पवित्र भूमिमाथि कति धेरै प्लास्टिक, बोतल, फोहोर र प्रदूषण ? कति धेरै विषादी, धूम्रमान, अम्मल, लागु र पेय पदार्थ । विश्वकै डम्पिङ ग्राउन्डजस्तो । नेतृत्वविहीन सहरजस्तो । सक्षम व्यवस्थापक नभएजस्तो ।

नवनिर्वाचित स्थानीय प्रतिनिधिलाई अवसर : राजनीतिक गरिबी, राजनीतिक फोहोर र राजनीतिक प्रदूषण यो मुलुकको प्रमुख वातावरणीय समस्या हो । रोग, भोक, गरिबी, अशिक्षा, बेरोजगार थप वातावरणीय समस्या हुन् । कुशासनले वातावरणमा ठूलो अवरोध पु¥याएको छ । सलाम छ विजयी जनप्रतिनिधिहरूलाई, जलवायु परिवर्तन र वातावरणीय विषयलाई सम्बोधन गरिछाड्ने प्रतिबद्धता र प्रतिज्ञाका लागि । विषादीरहित कृषि उत्पादनको संकल्पका लागि । फोहोरलाई मोहोर बनाइछाड्ने कटिबद्धताका लागि । उत्खनन, दोहन, विनाश र बिक्री–वितरणबाट मातृभूमिको माटो जोगाइछाड्ने दृढ संकल्पका लागि । यी सुन्दर नारा र संकल्पलाई व्यवहारमा उतारेर देखाउने जिम्मेवारी तपाईं जनप्रतिनिधिहरूको काँधमा आएको छ । मतदाता याने कि आमजनताको साथ छ । सुरक्षा निकायहरूको झन् ठूलो साथ, हात र काँध छ । चुनौतीलाई अवसरमा रूपान्तरण गरेर सुन्दर, शान्त, विशाल नेपालको प्राकृतिक पुँजी र ओजलाई रक्षा, कल्याण र सम्मान गरेर देखाउने सुवर्ण अवसर प्राप्त छ ।

कार्यालयमा पद बहालीसँगै फोहोर अनिवार्य उठाउने सिस्टम पनि बहाली होस् । असारको पूर्वसन्ध्याको बहाली । तपाईंहरू कति भाग्यमानी ? वृक्षरोपण गरेर तपाईंको बहाली होस् । सके लाखौँ विरुवाको वृक्षरोपण । नसके हजारौँ । नयाँ रेकर्ड र थिति होस् । पाँच महिनामा पाँच फिट तपाईंजत्रो बिरुवा होस् । पाँच वर्षमा फल र फूलको वासना र आत्मसन्तुष्टि दिने वृक्ष झाँगिसकोस् । कुवा, धारा र नदीमा सफा पानी देख्न पाइयोस् । प्रदूषणरहित नीलो आकाश हेर्न र देख्न पाइयोस् । तपाईंहरूलाई मतदाताको माया र विश्वास प्राप्त भएजस्तै प्रकृतिको आशिष प्राप्त भइरहनेछ ।

राजनीतिक गरिबी, राजनीतिक फोहोर र राजनीतिक प्रदूषण यो मुलुकको प्रमुख वातावरणीय समस्या हुन् । रोग, भोक, गरिबी, अशिक्षा र बेरोजगारी थप वातावरणीय समस्या हुन् । 

प्रकृति र पशु आशिष एकदम शक्तिशाली हुनेछ । तपाईंको कार्यालय परिसरका कबाडी सामान हटाइयोस् । पहिला कार्यालयको वातावरण ठिकठाक होस् । स्कुल, स्वास्थ्य सेवा केन्द्र, सेवाग्राही कार्यालय टल्किऊन् । मन्दिर, मस्जिद, स्तुप, चर्च र सम्पदाहरू उठून् । खानेपानी, ढल, बत्ती, सडक, सञ्चार सेवा चुस्त–दुरुस्त हुन् । नयाँ ग्रिनपार्क खुला चौर निर्माण होस् । इआइएसहित नयाँ प्रकृतिमैत्री योजना बनून् र प्रकृतिमैत्री पूर्वाधार मात्र बनून् । विचार र विकास दुवै टिमवर्क र समन्वयात्मक ढंगबाट अघि बढोस् । पारदर्शिता र सुशासनको बाढी आओस् । जल, जमिन जंगल, जनावर र जडीबुटीको सुगन्ध फैलियोस् मुलुकभर र त्यसपछि विश्वभर ।

नेपाली सेनालाई सुझाव : हिमाल सफाइ अभियान जारी रहोस् । सिमसार सरसफाइमा अझ धेरै ध्यान दिऊँ । एक ब्यारेक कम्तीमा एक पोखरीको अवधारण अघि सारौँ । सबै ब्यारेक जंगलभित्र ‘क्यामोफ्लाज’ हुन् । वृक्षरोपण धेरै गरेर यस वर्ष गिनिज बुकमा मुलुकको नाम दर्ज गरौँ । चुरे बचाउ अभियानमा योगदान गरौँ । फोहोर व्यवस्थापन कार्यमा सबै ब्यारेकले नमुना देखाऊन् । निकुञ्ज आरक्षमा फोहोर–मैला देख्न नपाइयोस् । वातावरण सुरक्षा अब उसको प्राथमिक एजेन्डा होस् । फास्ट ट्र्याक सडकमार्गको दायाँ–बायाँ व्यापक वृक्षरोपण गरेर हरित राजमार्गको सपना बुनियोस् । तराई खण्डमा सो राजमार्गमुनि विश्वस्तरीय सुरक्षित वन्यजन्तु ‘क्रसिङ प्लेस’ बनाइयोस् ।

हिमाल, पहाड, तराई, पूर्व, पश्चिम सर्वत्र सधैँ शून्य सिकार भइरहोस्, बुद्धको यो शान्ति भूमिमा । वातावरण सुरक्षामा अन्य सुुरक्षा निकायलाई समेत कामयाबी प्राप्त हुनेछ । अनुसरण गर्न विलम्ब गर्नुहुँदैन । विपत् व्यवस्थापनभन्दा प्राकृतिक विपत् आउनै नदिनु उत्तम सुरक्षा विकल्प हो । वनजंगल रक्षा र हरित नेपाल विपत् नियन्त्रणको अचुक अस्त्र हो । (कार्की संरक्षणकर्मी हुन्)
 

ad
ad