१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रुपन्देहीको रोहिणी नदीको पुलबाट खसेको बस । तस्बिर : रासस
२o८१ बैशाख २४ सोमबार o६:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुपन्देही बस दुर्घटना : नौको मृत्यु, २३ घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४८:oo

रुपन्देहीमा आइतबार बिहान बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट बुटवल आउँदै गरेको लु.२ख ३८४१ नम्बरको बस झिसमिसे बिहान दुर्घटनामा परेको हो । बसमा ३३ जना सवार थिए ।

मृतकमध्ये आठजनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, ३७ वर्षीया तुल्सी बस्याल, बुटवल– ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका– ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, रौतहटका २० वर्षीय दिनेश दास, बुटवलका नन्देश्वर शर्मा र अरविन्द्र शर्मा तथा ठेगाना नखुलेका सञ्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

 बिहे सकाएर छोरी–ज्वाइँसँगै बुटवल आउँदै गरेका नन्देश्वर शर्माको दुर्घटनामा ज्यान गयो । नन्देश्वरका चार छोरीमध्ये साइँली छोरीको विवाह भएको थियो । उनको जनकपुर र बुटवल उपमहानगरपालिका– ६, सुकुमबासी बस्तीमा घर छ । हाल उनी बुटवलमा काठको मिस्त्रीको काम गर्दै आएका थिए । मृतक अरविन्द्रकी श्रीमती सीता, छोरी पाँच वर्षीया सन्दीपा र छोरा चार वर्षीय यश शर्माको उपचार भइरहेको छ । घाइते तीनैजना खतरामुक्त रहेको मेडिकल कलेज प्रशासन संयोजक तेज केसीले जानकारी दिए ।

विपरीत दिशाबाट आएको गाडीको लाइटका कारण दुर्घटना
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आइतबार गाडी बिहान करिब साढे ४ बजेतिर दुर्घटना भएको थियो । गाडीमा दुई चालक र एक सहयोगी थिए । विपरीत दिशाबाट आएको गाडीको लाइटले सडकको भाग नदेखिएर दुर्घटना भएको बयान चालकले दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएपी नवरत्न पौडेलले बताए । प्रहरी घटनास्थल पुग्दा अधिकांश घाइते बसभित्रै सिटले च्यापिएको अवस्थामा भेटिएका थिए ।

छोरीलाई अस्ट्रेलिया पठाउने तुल्सीको चाहना बाटोमै चुँडियो 
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ की ३७ वर्षीया तुल्सी बस्याल छोरीलाई विदेश पठाउन आवश्यक कागजात बनाउन काठमाडौंमा थिइन् । फर्किने क्रममा नारायणगढमा गाडी बिग्रिएपछि तुल्सी जनकपुरबाट भैरहवा आउँदै गरेको बसमा चढिन् । तर, उनी घरसम्म पुग्न पाइनन् । छोरीलाई अस्ट्रेलिया पठाउन कागजपत्र बनाउने क्रममा उनी छोरीसँगै काठमाडौं थिइन् । कागजपत्र बन्न अझै केही दिन लाग्ने भएपछि छोरीलाई छाडेर उनी घर फर्किने क्रममा दुर्घटनामा परिन् । आमाको मृत्युको खबर थाहा पाएसँगै भैरहवास्थित भीम अस्पताल पुगेका १४ वर्षीय छोरा आरम्भ बस्याल अचेत थिए । 

ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जिल यादव भन्छन्–जेसिबी लगाएर गाडी उठायौँ 
बस दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी, स्थानीय सबै मिलेर उद्धारमा जुट्यौँ । पुलबाट खसेर दुर्घटना भएको गाडीको केही भाग पानीमा थियो । गाउँबाट दुईवटा जेसिबी मगाएर बसलाई सीधा बनाएका हौँ । धेरै यात्रु गाडीभित्रै च्यापिएको अवस्थामा थिए । केही यात्रु झ्यालको सिसा फोडेर बाहिर निस्किएका थिए । सबै घाइतेलाई एम्बुलेन्समार्फत भीम अस्पताल र मेडिकल कलेजमा उपचारका लागि पठाएका हौँ ।

 

ad
ad