१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मञ्जु टेलर काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

४६ वर्षसम्म पनि बनेन लागुपदार्थ सेवन र कारोबारसम्बन्धी छुट्टै कानुन 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:५४:oo

लागुऔषध ऐन, २०३३ समयसापेक्ष बनाउन नसक्दा लागुपदार्थ कारोबारी र सामान्य प्रयोगकर्तालाई एउटै सजाय हुने गरेको कानुनविद्हरूको भनाइ

४० ट्याब्लेट नाइट्रोभ्याटसहित नैकाप काठमाडौंबाट पक्राउ परेका एक व्यक्ति सात महिनापछि जेठ पहिलो साता हिरासतबाट छुटेका छन् । काठमाडौं जिल्ला अदालतमा हालसम्म चलिरहेको मुद्दामा प्रहरीले उनीसहित तीनजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

लागुऔषध नियन्त्रण ऐन २०३५ अनुसार कसुर निर्धारणका लागि उनलाई ९० दिन थुनामा राखिएको थियो भने पेसी तोकिएपछि उनलाई थप चार महिना थुनामा राखिए पनि हालसम्म उनले लागुऔषध सेवनको मुद्दा खेपिरहेका छन् ।

यसबाहेक पटके अर्थात् दोस्रोपटक लागुपदार्थ सेवन गरेको आधारमा ‘दफा १६’ अनुसार हुने दोब्बर सजायअनुसार थप कारबाहीमा परेका छन् । लागुपदार्थ प्रयोग गरिरहेको समयमा होटेलबाट पक्राउ गरिएको भनेको प्रहरीले दुईवटा बाइकसमेत बरामद गरेर अदालतलाई बुझाएको छ ।

चिकित्सकका अनुसार नाइट्रोभ्याट ट्याब्लेट अनिद्रा, एन्जाइटी डिसअर्डरलगायतका अवस्थामा औषधिको रूपमा प्रयोग गरिन्छ । यद्यपि, यो औषधि लागुऔषधको रूपमा समेत प्रयोगमा ल्याइने गरिन्छ । तर, लागुपदार्थ सेवन र कारोबारसम्बन्धी छुट्टै कानुन नहुँदा लागुपदार्थ सेवनकर्ता अनावश्यक कारबाहीको दायरामा आइरहेको कानुनविद्हरू बताउँछन् ।

 विष्णु फुँयाल शर्मा, अध्यक्ष, रिकभरिङ नेपाल

लागुऔषध प्रयोगकर्तालाई समाजमा राम्रो नजरले नहेर्ने प्रवृत्तिका कारण समाजमा घुलमिल हुने वातावरण बनेको छैन । यसबाट उनीहरू झन् कुलतमा फस्दै जाने गरेको पाइएको छ । कतिपय अवस्थामा लागुपदार्थ प्रयोगकर्तालाई अपराधीको रूपमा नभई बिरामीको रूपमा हेर्न सकेमा युवाहरूमा दुव्र्यसनको जोखिम कम गर्न सकिन्छ ।

अधिवक्ता सुजन पन्तका अनुसार ऐनको भाषा स्पष्ट नहुँदा लागुपदार्थ कारोबारी र सामान्य प्रयोगकर्ताको सजाय एउटै हुँदा समस्या भइरहेको छ । ‘ऐनको दफा १४ को जअनुसार साइकोट्रपिक सब्स्ट्रान्सको प्रयोगमा दुई महिना कैद र दुई हजार रुपैयाँसम्म सजाय तोकिएको छ । साथै, ४० ट्याब्लेट मात्रै भेटिएकाले बिक्री वितरणका लागि नभई सेवनका लागि मात्रै हो भन्नेसम्म प्रमाणित भएको छ । तैपनि, सामान बरामदसहित सात महिनासम्म जेल परेका छन् । कानुन स्पष्ट नहँुदा प्रयोगकर्तालाई अपराधीकरण अत्यधिक भइरहेको छ,’ उनले भने ।

लागुऔषध नियन्त्रण ऐन विशेष ऐनमध्ये पर्ने भएकाले अन्य अपराधको तुलनामा लागुऔषध सेवन वा कारोबारमा लामो समयसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छुट छ । तर, स्वास्थ्यका दृष्टिकोणले कतिपय अवस्थामा व्यक्तिको ज्यान जानेसमेत जोखिम रहने गरेको विज्ञहरू बताउँछन् । साथै, कानुनअनुसार स्पष्ट रूपमा उपचारको छुट दिइए पनि प्रयोगकर्ताले थप अपराध गर्न सक्ने भन्दै प्रहरी प्रशासनले कारबाहीमा मात्रै जोड दिने प्रवृत्तिका कारण लागुपदार्थ प्रयोगकर्ताहरू बढी प्रभावित भइरहेको विज्ञहरू बताउँछन् ।

लागुपदार्थ नियन्त्रण ऐन २०३३ अनुसार साइकोट्रपिक सब्स्ट्रान्सको प्रयोगपछि पक्राउ परेका व्यक्तिलाई ‘चिकित्सा केन्द्रमा तीन महिनासम्म उपचार गराउने गरी त्यस्तो दुव्र्यसनीलाई जिम्मा लिने कुनै व्यक्ति वा संस्थाले कागज गरिदिएमा त्यस्तो चिकित्सा केन्द्रबाट उपचार गराइराखेको जानकारी १५–१५ दिनमा पेस गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्ने’ प्रावधानमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता, विशेष गरी साइकोट्रपिक सब्स्ट्रान्स प्रयोगकर्ताहरू कानुनको अस्पष्टताका कारण लामो सजाय भोगिरहेको अधिवक्ताहरू बताउँछन् ।

नेपालमा झन्डै ४६ वर्षअगाडि बनेको लागुऔषध ऐन, २०३३ कार्यान्वयनमा रहेकाले यसलाई परिमार्जन गरी समयसापेक्ष बनाउन नसक्दा समस्या झन् बढिरहेको विज्ञहरू बताउँछन् । नेपालले विश्वका विभिन्न फोरमहरूमा लागुऔषधसम्बन्धी नयाँ–नयाँ घोषणापत्रमा सम्झौता गरे पनि कानुनमा भने ४३ वर्षअघि तयार भएको ऐनलाई संशोधन नगरिएको रिकभरिङ नेपालका अध्यक्ष विष्णु फुयाँल शर्मा बताउँछन् । ‘लागुऔषध प्रयोगकर्तालाई समाजमा राम्रो नजरले नहेर्ने प्रवृत्तिका कारण समाजमा घुलमिल हुने वातावरण बनेको छैन । यसबाट उनीहरू झन् कुलतमा फस्दै जाने गरेको पाइएको छ । कतिपय अवस्थामा लागुपदार्थ प्रयोगकर्तालाई अपराधीको रूपमा नभई बिरामीको रूपमा हेर्न सकेमा युवाहरूमा दुव्र्यसनको जोखिम कम गर्न सकिन्छ,’ उनले भने । उनले नेपालमा प्रत्येक वर्ष ११ दशमलव ३६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको जानकारी दिए । ०६३ मा ४६ हजार, ०६९ मा ९१ हजार र ०७६ मा लागुऔषध प्रयोगकर्ताको संख्या एक लाख ३० हजार पुगेको उनको भनाइ छ । जसमा गाँजाजन्य लागुऔषध प्रयोग गर्नेको संख्या ८४ प्रतिशत रहेको शर्माले बताए ।

लागुपदार्थ प्रयोगकर्तामा विभिन्न संक्रमणको व्यापकता
लागुऔषध नियन्त्रण महाशाखाले ०७६ मा गरेको सर्वेक्षणअनुसार कुल लागुऔषध प्रयोगकर्तामध्ये २९.३ प्रतिशतले इन्जेक्टेड ड्रग प्रयोगमा ल्याएको पाइन्छ । जसमध्ये करिब पाँच प्रतिशतले लागुऔषध प्रयोगकर्ताले सुई र सिरिन्जहरू साटासाट गरेर प्रयोग गर्ने गरेका छन् । सुईको प्रयोगबाट अधिकांश प्रयोगकर्तामा एचआइभी र हेपाटाइटिस संक्रमण उच्च देखिएको तथ्यांकले देखाउँछ । सर्वेक्षणका अनुसार लागुऔषध प्रयोगकर्ताको ९२.८ प्रतिशतमा एचआइभी र हेपाटाइटिस बी/सी पाइएको छ ।

लागुपदार्थको प्रयोग प्रायजसो युवाले बढी गर्ने गरेको पाइन्छ । युवामा उच्च बेरोजगारी र मनोरञ्जनका लागि लागुपदार्थको प्रयोग बढी हुने गरेको बताउँछन् रिकभरिङ नेपालका अध्यक्ष शर्मा । ‘शिक्षा र प्यारेन्टिङ प्रणाली नै बिग्रँदै गएकाले किशोरहरू लागुपदार्थ दुर्व्यसनीमा फस्दै गएका छन् । लागुपदार्थ सेवनलाई अपराधको रूपमा हेरिने र प्रयोग गरेको थाहा भएमा समेत समाधानभन्दा पनि लुकाउनतर्फ लाग्ने प्रवृत्तिका कारण युवावर्ग निरन्तर दुव्र्यसनीमा पर्दै गएको देखिन्छ,’ उनले भने ।

ठाउँ र परिवेशअनुसार लागुपदार्थ प्रयोगका कारण भिन्न भए पनि यसबाट किशोरकिशोरीहरू अत्यधिक प्रभावित भइरहेको उनको भनाइ छ । लागुऔषध नियन्त्रण महाशाखाको तथ्यांकअनुसार लागुऔषध सेवनकर्तामध्ये मनोरञ्जनका लागि ७२.१ प्रतिशत र बेरोजगारीका कारण ४७.२ प्रतिशत लागुपदार्थको प्रयोग गरिरहेका छन् । जसमध्ये करिब ३६.९ प्रतिशतलाई मात्रै उपचार र लागुऔषध सेवन गर्ने बानी छोड्न सहज वातावरण सम्भव भएको तथ्यांकले देखाउँछ ।

 

ad
ad