१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ जेठ १० मंगलबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा सुकुमबासीलाई बसोवास प्रमाणित निस्सा बाँड्ने मेयरको निर्णय

Read Time : < 1 मिनेट
२०७९ जेठ १० मंगलबार १०:३४:००

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले अव्यवस्थित क्षेत्रमा बसोवास गरेकाहरूलाई लगत संकलनका आधारमा बसोवास प्रमाणित निस्सा उपलब्ध गराउने निर्णयलाई सदर गरेका छन् । 

सोमबार पदभार ग्रहण गर्दै उनले सुकुमबासी तथा अव्यवस्थित बसोवासीका पक्षमा त्यस्तो निर्णय गरेका हुन् । ‘भूमिहीन, सुकुमबासीको समस्या हल गर्न अल्पकालीन उपायका रूपमा तथ्यांक संकलन गर्ने र नगर परिषदबाट निर्णय गरी बसोवासका आधारमा थोरै शुल्क लिएर बसोवासको प्रमाणपत्र दिनेछौँ,’ पदभार ग्रहणपछि उनले भने । 

यसबाट वडाबाटै नामसारीको काम हुने र कसैले पनि त्यहाँ बसोवास गर्नेलाई दुःख दिन नपाउने अवस्था सिर्जना हुने उनले बताए । पाण्डेयले भने, ‘दीर्घकालीन रूपमा जग्गाधनी प्रमाणपत्र वितरणका लागि राष्ट्रिय भूमि आयोगसँग सहकार्य गर्नेछौँ ।’ 

पाण्डेयले बुटवलको मुख्य सडकखण्ड चौराहा–गोलपार्क सडक, तिनाउ–दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम गरिने बताए ।

पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिबद्धता जनाए । ०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार पाँच सय ३१ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।

बुटवलमा उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छिन् । १९ वडा रहेको बुटवलमा कांग्रेसले ११, एमालेले पाँच तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडामा विजय प्राप्त गरेका  छन् ।