- २०२४ को जनवरी–मार्चमा टिआइएबाट आन्तरिक र अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रु १३ प्रतिशतले बढे
- सन् २०२४ मार्चसम्म १२ लाख ४१ हजार अन्तर्राष्ट्रिय र १० लाख २१ हजार आन्तरिक यात्रु आवागमन
- टिआइएबाट २०२३ को तीन महिनामा १९ लाख ६४ हजार यात्रुले यात्रा गरेकामा २०२४ मा २२ लाख ६२ हजार पुगे
अर्थतन्त्रमा अझै मन्दीको प्रभाव कायम रहिरहे पनि उड्डयन उद्योगले भने लय समात्न थालिसकेको छ । जहाज चढेर आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा आवतजावत गर्ने यात्रुको बढोत्तरी उत्साहप्रद रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को तथ्यांकले देखाएको छ ।
सन् २०२४ को तीन महिनामा त्रिभुवन विमानस्थलमा यात्रुको (आन्तरिक र अन्तर्राष्ट्रिय) आवागमन १३ प्रतिशतले वृद्धि भएको छ । २०२३ को तीन महिनामा १९ लाख ६४ हजार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रा गरेकोमा २०२४ को सोही अवधिमा २२ लाख ६२ हजार पुगेका छन् । यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रु समान १३–१३ प्रतिशतले बढेको टिआइएको तथ्यांक छ ।
यस्तै, अन्तर्राष्ट्रिय फ्लाइट मुभमेन्ट सात हजार चार सय ६७ र आन्तरिक फ्लाइट मुभमेन्ट २१ हजार ६ सय ९५ पटक भएको छ । पर्यटकीय सिजनसँगै हवाई यात्रु बढेपछि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रत्येक फ्लाइट भरिभराउ छन् । यो वर्ष विदेशी पर्यटक आगमन पनि उल्लेख्य बढेको छ । गत मार्चमा मात्रै एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए ।
साढे १२ लाख अन्तर्राष्ट्रिय यात्रु
गत वर्ष सन् २०२३ मा अन्तर्राष्ट्रिय यात्रुको आवागमन संख्याले उच्च रेकर्ड कायम गरेको थियो । वर्षभर अन्तर्राष्ट्रिय यात्रु (भित्रिने र बाहिरिने) ३०.१८ प्रतिशतले बढेर ४५ लाख ४१ हजार पुगेका थिए । यो वर्ष फेरि नयाँ रेकर्ड कायम हुने पहिलो त्रैमासिक आँकडाले देखाएको छ । यस वर्ष तीन महिनामा अन्तर्राष्ट्रिय यात्रु आवागमन १३.१९ प्रतिशतले बढेर १२ लाख ४१ हजार पुगेका छन् । यी यात्रुलाई बोक्न त्रिभुवन विमानस्थलमा आठ हजार एक सय ८६ वटा अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन् । गत वर्षको सोही अवधिमा यस्ता यात्रु १० लाख ७७ हजार थिए ।
यस वर्ष सबैभन्दा बढी यात्रु बोक्ने अन्तर्राष्ट्रिय वायुसेवामा कतार एयरवेज पहिलो बनेको छ । कतार एयरवेजले नेपाल वायुसेवा निगमलाई पछाडि पार्दै तीन महिनामा एक लाख ५६ हजार यात्रुलाई सेवा दिएको छ । दोस्रो स्थानमा झरेको निगमले एक लाख ५० हजार यात्रु बोक्दा हिमालयले एक लाख ३० हजार, इन्डिगोले एक लाख १८ हजार, एयर इन्डियाले एक लाख दुई हजार र फ्लाई दुबईले एक लाख यात्रुलाई बोकेका छन् । निगमको एउटा न्यारोबडी ९एन–एकेएक्स महिनौँदेखि ग्राउन्डेड भएपछि व्यापार खुम्चिएको छ ।
आन्तरिक यात्रु सवा १० लाख
त्रिभुवन विमानस्थल भएर देशका विभिन्न गन्तव्यमा यात्रा गर्ने यात्रु पनि १३ प्रतिशतले बढेको छ । तीन महिनामा त्रिभुवन विमानस्थल भएर १० लाख २१ हजार यात्रुले आन्तरिक यात्रा (आवागमन) गरेका हुन् । गत वर्षको यसै अवधिमा आन्तरिक यात्रुको संख्या आठ लाख ८७ हजार रहेको थियो । यो वर्ष आन्तरिक यात्रुको संख्या पनि हालसम्मकै उच्च रहने आकलन पहिलो त्रैमासिक आँकडाबाट गर्न सकिन्छ । जनवरीमा दुई लाख ८२ हजार, फेब्रुअरीमा तीन लाख ३४ हजार र मार्चमा चार लाख चार हजार आन्तरिक यात्रुले त्रिभुवन विमानस्थलबाट सेवा लिएको तथ्यांक छ । यी यात्रुलाई बोक्न तीन महिनामा २२ हजार दुई सय ८८ पटक उडान–अवतरण भएको छ ।
सबैभन्दा धेरै आन्तरिक यात्रु बोक्नेमा बुद्ध एयर पहिलो नम्बरमा छ । बुद्धले तीन महिनामा ६ लाख ४८ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । यस्तै, यतीले एक लाख ९३ हजार, श्रीले एक लाख २८ हजार, सौर्यले करिब २६ हजार यात्रुलाई बोकेका छन् । बुद्धले भारतको बनारस र कोलकातामा अन्तर्राष्ट्रिय उडानसमेत गर्छ । बुद्धसँग १७, यतीसँग सात, श्रीसँग १०, सौर्यसँग दुई, सीतासँग तीन, तारासँग तीन र निगमसँग दुईवटा जहाज रहेका छन् ।