Skip This
अब कर्जा असुली सहज हुन्छ : गभर्नर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अब कर्जा असुली सहज हुन्छ : गभर्नर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:४o:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनमा कर्जाको असुली सहज हुने बताएका छन् । उनले राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले बैंकिङ प्रणालीमा तरलता सहज भएको र ब्याजदर समेत घट्दै गइरहेकाले कर्जा असुली सहज हुने बताएका हुन् । 

उनले भने, ‘चालू खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको छ । निक्षेप तथा कर्जाको ब्याजदर घट्दो क्रममा छ । शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको छ । यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको छ ।’ 

गभर्नर अधिकारीले आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको भए पनि बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाको ब्याजदरसमेत क्रमशः घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा राखेका छन् । 

०८० सालको समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको उनको विश्लेषण छ । मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रहेको उनको भनाइ छ । उनले भने, ‘बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसंगत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा एवं परिमार्जनका काम पनि निरन्तर रूपमा गरिए ।’ 

तीन बैंक सम्मानित
राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० मा बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मान गरेको छ । एक वर्षमा ग्लोबल आइएमई बैंकले २१.१ प्रतिशत, हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने रेमिट कम्पनी आइएमई लिमिटेडलाई पनि केन्द्रीय बैंकले सम्मानित गरेको छ । आइएमईले २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो । राष्ट्र बैंकका अनुसार गत आवमा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको थियो ।

ad
ad