बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरु गरेको छ। शुक्रबार उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको छ।
पहिलो चरणमा वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशाला लगिएको र व्यवस्थापनको काम सुरु भएको प्रमुख पाण्डेयले बताए। उनले पहिलो दिन करिब चार सय गाईगोरु गौशालामा राखिएको र दैनिक रूपमा अभियान सञ्चालन गरेर सडकबाट हटाउने बताए।
‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्,’ उनले भने, ‘अहिले हामीले बुटवलभित्र रहेका गाईगोरुको व्यवस्थापन गर्छौँ, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरूमा निगरानी गर्ने र सहरभित्र गाईगोरु ल्याउन रोक्ने काम पनि गरिनेछ।’
उनले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गरेका छन्। सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रूपमा सञ्चालन गरिएको हो।
‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयंसेवक र बुटवलवासीको साथ पाएका छौँ,’ प्रमुख पाण्डेयले भने, ‘यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ।’
उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरलाई थप व्यवस्थित र सुन्दर बनाउन छाडा चौपाया व्यवस्थापन थालिएको बताइन्। उनले यो अभियानमा सहभागी हुन बुटवलवासीलाई आह्वान गरिन्।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम सुरु भएको र त्यसको व्यवस्थापनका लागि सबै तयारी भएको बताए। उनले गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालुसमेत राखिएको बताए।