मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७९ जेठ ९ सोमबार ०६:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आइतबार पनि खुले विद्यालय

Read Time : > 2 मिनेट
२०७९ जेठ ९ सोमबार ०६:३१:००

आइतबार विद्यालयसमेत बन्द गर्ने सरकारी निर्णय काठमाडौंका निजी विद्यालयले अवज्ञा गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका केही ठूला विद्यालयबाहेक अधिकांश सञ्चालन भएका छन् भने केहीले विद्यार्थी ओसारपसारका लागि गाडीसमेत चलाएका छन् । जेठ पहिलो सातादेखि हप्तामा दुई दिन बिदा दिने निर्णयलगत्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले दुई महिना आइतबार पनि विद्यालय बन्द गर्ने र त्यसपछि खोल्ने निर्णय गरेको थियो । तर, काठमाडौंमा प्याब्सन र नेसनल प्याब्सनको जिल्ला कार्यसमितिले निर्णय गरेर विद्यालय सञ्चालन गरेका छन् ।

आइतबार काठमाडौंको तुलनामा ललितपुरमा धेरै विद्यालय बन्द रहे । भक्तपुर नगरपालिकाले अर्को निर्णय नहुन्जेलसम्मका लागि साबिकअनुसार नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कतिपय विद्यालय बन्द र केही खुलेपछि अभिभावक पनि अन्योलमा परेका छन् । प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष प्रेम राईले काठमाडौंमा साना र मझौला अधिकांश विद्यालय सञ्चालन भएको बताए । शैक्षिक सत्र ढिला सुरु भएको र विगतमा कोभिडका कारण विद्यार्थीको सिकाइ कम भएकाले आइतबार पनि विद्यालय सञ्चालन गरेको बताए । काठमाडौंका बुढानीलकण्ठ, कीर्तिपुर, गोकर्णेश्वर, शंकरापुरमा औपचारिक रूपमै विद्यालय सञ्चालन गर्ने सूचना आएको राईको भनाइ छ । अन्य पालिकाले पनि विद्यालय चलाउन सकारात्मक संकेत गरेको उनले बताए । 

भक्तपुर नगरपालिकाले समेत अर्को निर्णय नहुन्जेल आइतबार विद्यालय सञ्चालन गर्ने जनाएको छ । १ जेठदेखि लागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध गरेको छ । 

प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले आफूहरू आइतबार बिदाको पक्षमा नरहेको र शिक्षामन्त्रीले समेत विद्यालय सञ्चालनका लागि सकारात्मक भएको बताएको जानकारी गराए । ‘हामी आइतबार बिदाको पक्षमा छैनौँ, कानुन बनेपछि अवज्ञा नै गर्नुपर्छ भन्ने होइन,’ अध्यक्ष ढुंगानाले भने, ‘छिट्टै निर्णय गर्ने निकायबाट सच्चिन्छ र चाँडो खुल्छ भन्ने अपेक्षामा छौँ ।’ 

विद्यालयमा हिउँदे र बर्खे गरी ५० दिन बिदा दिने गरेकोमा अब भने एक महिना मात्र बिदा दिने गरी आइतबारसमेत पठनपाठन नगर्न परिपत्र गरिएको थियो । विद्यालयमा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइ उपलब्धिमा कुनै असर नपर्ने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले परीक्षण नै गर्न मिल्दैन भन्नु ठीक नहुने बताए । ‘शनिबार र आइतबार बिदा गर्ने सरकारी निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ । यो परीक्षणका रूपमा कार्यान्वयनमा आएको हो । सरकारले परीक्षणका रूपमा कार्यान्वयनमा ल्याएको व्यवस्थालाई मान्दिनँ भन्न मिल्ला र ?’ शर्माले भने, ‘विद्यालयमा क्रेडिट आवर पुग्दैन भन्ने गुनासो सुनिन्छ । तर, कसरी क्रेडिट आवर पुग्छ भन्ने शिक्षा मन्त्रालयले मापदण्ड मिलाएर सर्कुलर गरेको छ । शुक्रबार ४ बजेसम्म पढाउने, बर्खे र दिउँदे बिदा कटौती गरेर योजना बनाएर पठाएको छ ।’

आइतबार निजी विद्यालयले विद्यार्थी ओसार्न गाडीसमेत प्रयोग गरेका छन् । सरकारले इन्धन बचतका लागि विद्यालय पनि आइतबारसमेत बन्द गर्ने निर्णय गरेको थियो । काठमाडौंका थोरै गाडी संख्या भएका केही विद्यालयले सञ्चालन गरेको पाइएको हो । ठूला र ठूलो संख्यामा गाडी भएका विद्यालय सञ्चालन नभएको प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले बताए । 

अहिले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहको रहेकाले त्यहीँबाट कार्यान्वयन हुने गरेको छ । ‘शिक्षा मन्त्रालय हरेक विद्यालयमा पुग्दैन, मन्त्रालयले योजना, मापदण्ड बनाएर सहजीकरण गरेको छ,’ मन्त्रालयका प्रवक्ता शर्माले भने ।

सामुदायिक विद्यालय अन्योलमा
सरकारको निर्णयले सामुदायिक विद्यालय अन्योलमा परेका छन् । सरकारी निर्णयविपरीत कतिपय पालिका र निजी विद्यालयले काठमाडौंमा खोल्ने निर्णय गरेपछि सामुदायिक विद्यालय अन्योलमा परेका हुन् । निजी विद्यालयसँग प्रतिस्पर्धा गरिरहेका सामुदायिक विद्यालयले आइतबार बन्द हुने भएपछि विद्यार्थी संख्या घट्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतनका प्रधानाध्यापक हेरम्बराज कँडेलले त्रिविले शैक्षिक संस्था चलाउने, निजी विद्यालय सञ्चालन हुने र केही पालिकाले समेत सञ्चालनको निर्णय गरिसकेको अवस्थामा आफूहरूलाई अप्ठ्यारो भएको बताए । उनले भने, ‘सरकारको निर्णय मान्दैनौँ भन्न पनि अप्ठ्यारो छ, मानौँ भने सबैतिर शैक्षिक संस्था खुल्दा हाम्रा विद्यार्थी अन्यत्र जाने पनि चिन्ता छ ।’ उनले सरकारले अपरिपक्व निर्णय गरेको गुनासो गरे । ‘कि त सबै विद्यालयमा एकरूपता हुनुपर्ने, कि निर्णय फिर्ता लिनुपर्‍यो,’ उनले सरकारसँग आग्रह गरे ।

उच्च शैक्षिक संस्थासमेत सञ्चालनमा
आइतबार विद्यालय मात्र होइन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थासमेत सञ्चालन भएका छन् । त्रिविका आंगिक क्याम्पसको अधिकांश पठनपाठन बन्द भएपछि प्राइभेट रूपमा सञ्चालन भएका कार्यक्रम र सम्बन्धनप्राप्त क्याम्पस सञ्चालन हुन थालेका छन् । त्रिविले यसअघि नै आइतबारसमेत विश्वविद्यालयका सेवा सुचारु गर्ने जनाएको थियो । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना जारी गरी अर्को सूचना जारी नगर्दासम्म साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवा सञ्चालनमा रहने जनाएको छ । त्रिविमा कोभिडको असरका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालको पाठ्यक्रमको संरचना ६ कार्यदिनलाई ध्यानमा राखेर निर्माण भइरहेको हुँदा पठनपाठन, स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित राख्ने जनाएको छ ।