मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २८ बुधबार
  • Friday, 14 August, 2026
२o७९ बैशाख २८ बुधबार o६:३o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुनावले जहाज भरिभराउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २८ बुधबार o६:३o:oo

 नजिकिँदै गइरहेको स्थानीय तह निर्वाचन र बिहेबारीको सिजनका कारण आन्तरिक वायुसेवा भरिभराउका साथ उडिरहेका छन् । अहिले आन्तरिक उडान गर्ने जहाजमा यात्रुको अभाव नभएको वायुसेवा कम्पनीहरूले बताए । देशमा नौवटा वायुसेवा कम्पनीले आन्तरिक उडान गर्दै आइरहेका छन् । बुद्ध, यती, सौर्य, श्री, तारा, गुण, नेपाल एयरलाइन्स, समिट र सीता एयरले आन्तरिक उडान गर्छन् ।

अहिले जहाजले बोक्न सक्ने लोड पूर्ण रूपमा उपयोग भइरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए । कतिपय विमानस्थलमा भौगोलिक बनावट र तापक्रमका कारण जहाजले पूरै लोड बोकेर उडान–अवतरण गर्न सक्दैनन् । यस हिसाबले जहाजहरू औसतमा ९५ प्रतिशत अकुपेन्सीमा उडिरहेको उनको भनाइ छ । वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन ३० वैशाखमा नियमित आन्तरिक उडान बन्द गर्ने निर्णय गरिसकेको छ । यती एयरलाइन्सका जहाजमा करिब ९५ प्रतिशत अकुपेन्सी रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । 

बुद्ध एयरले १६ जहाजबाट दैनिक एक सय ४० भन्दा बढी उडान–अवतरण गर्दै आइरहेको छ । यी जहाज ९५ प्रतिशत अकुपेन्सीमा उडिरहेको कम्पनीका प्रवक्ता कर्णले बताए । ‘पहिला सामान्य समयमा पनि ९० प्रतिशत हाराहारी अकुपेन्सी हुने गथ्र्यो,’ उनले भने, ‘अहिले चुनाव र बिहेबारीका कारण अकुपेन्सी राम्रो बढेको हो ।’ 

यतीले देशका विभिन्न गन्तव्यमा दैनिक ५४ उडान–अवतरण गर्दै आइरहेको छ । ‘पोखरामा टेम्प्रेचर हेरेर लोड बोक्नुपर्छ, त्यहाँ लोड रेस्ट्रिक्सन छ,’ उनले भने, ‘एटिआर ७२ जहाजले अन्यत्र ७० जना बोक्दा पोखरा उडानमा ६०–६५ यात्रु बोक्नुपर्छ, त्यसैले औसत अकुपेन्सी ९५ प्रतिशतसम्म पुग्छ ।’ अहिले चुनावका कारण काठमाडौंबाट बाहिर जाने धेरै भएका कारण जहाज भरिएका हुन् । तर, काठमाडौं आउने पनि उत्तिकै रहेको वायुसेवा कम्पनीको भनाइ छ । 

यस्तै, गुण एयरलाइन्सका जहाज ९५ प्रतिशतभन्दा बढी अकुपेन्सीमा उडिरहेको कम्पनीका मार्केटिङ प्रमुख प्रज्वल थापाले बताए । अहिले गुणले देशका नौ गन्तव्यमा दैनिक १२ उडान गर्दै आइरहेको छ । गुणले पोखरालाई आधार बनाएर भरतपुर, भैरहवा र नेपालगन्ज उडान पनि सुरु गरेको उनले बताए । श्री एयरलाइन्सले पूर्ण क्षमतामा उडान गरिरहेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए । अहिले श्रीले दैनिक ४० उडान–अवतरण गर्दै आइरहेको छ ।