१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १८ आइतबार ०७:५८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

घट्दै कोभिडविरुद्धको खोपको प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १८ आइतबार ०७:५८:००

पर्याप्त मौज्दात रहेपछि सरकारले तत्काल खोप खरिद प्रक्रिया रोक्यो 

कोभिडविरुद्धको खोप प्रशस्त उपलब्ध भए पनि प्रयोग भने घट्दो क्रममा छ । दैनिक खोपको प्रयोग घट्दै गएपछि मौज्दात धेरै रहँदा सरकारले तत्काल खोप खरिद प्रक्रिया नै रोकेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल एक करोड दुई लाख १८ हजारभन्दा बढी डोज खोप मौज्दात छ । तर, दैनिक खोप खपत भने घट्दै गएको छ । मन्त्रालयको विवरणअनुसार शनिबार ७४ हजार ६ सय ४६ डोज मात्रै प्रयोगमा आएको छ । खोप मौज्दात रहन नदिन सरकारले यसअघि प्रत्येक दिन कम्तीमा पाँच लाख डोज प्रयोगमा ल्याउने नीति लिएको थियो ।

तर, लक्ष्यअनुसार कार्यान्वयन भएन । स्वास्थ्य मन्त्रालयका अनुसार लक्षितमध्ये एक लाख ९२ हजार जनसंख्यामा पूर्ण खोप लगाउन बाँकी छ । यो संख्या लक्षित जनसंख्याको १६ प्रतिशत हो । हालसम्म चार करोड १८ लाख ४३ हजार ५७ डोज खोप प्रयोगमा आएको छ । 

विश्व स्वास्थ्य संगठनका एक सय ९४ सदस्यराष्ट्रमध्ये ५२ राष्ट्रले मात्रै ७० प्रतिशत जनसंख्यालाई खोप दिने लक्ष्य पूरा गरेका छन् । न्यून आय भएका ५४ मध्ये तीन देश मात्र लक्ष्यमा पुगेका छन् । यसबाहेक अधिकांश देशमा खोपको प्रयोग १० प्रतिशतभन्दा कम छ । खासगरी अफ्रिकी क्षेत्रका डब्लुएचओ सदस्यराष्ट्रहरूमा खोपको न्यून प्रयोगसँगै दैनिक खोपदरसमेत घट्दै गएको छ । 

कोभिडविरुद्धको भ्याक्सिन प्रयोगमा आएको एक वर्षभन्दा बढी भइसक्दा खोपको प्रयोग उच्च आय भएका देशमा मात्र धेरै प्रयोगमा आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक अर्ब १७ करोड जनसंख्या भएका उच्च आय भएका देश र दुई अर्ब ६ करोड जनसंख्या भएका मध्यम आय भएका देशहरूमा खोपको प्रयोग ७४ प्रतिशतभन्दा बढी छ ।

तर, न्यून–मध्यम आय भएका देशहरूमा औसत ५१ प्रतिशत र न्यून आय भएका देशमा ११ प्रतिशत मात्रै खोप प्रयोगमा आएको छ ।  खोप उत्पादन गरेका देशहरूमा खोपको भण्डारण अत्यधिक भएर तत्काल खरिद र थप भण्डारणमा रोकसमेत लगाइएको छ ।