मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १६ शुक्रबार ०७:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारले तत्काल  कोभिडविरुद्धको खोप खरिद नगर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १६ शुक्रबार ०७:३७:००

सरकारले तत्काल कोभिडविरुद्धको थप खोप खरिद नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मौज्दात खोप बढी देखिएको र नियमित रूपमा लगाउनेको संख्या न्यून हुँदै गएकाले तत्काल थप खोप खरिद नगर्ने जानकारी दिए ।

डा. रोशन पोखरेल, सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मौज्दात खोप बढी देखिएको र नियमित रूपमा लगाउनेको संख्या न्यून हुँदै गएकाले तत्काल थप खोप खरिद नगर्ने निर्णय भएको छ ।

खोपको मौज्दात धेरै र लगाउने अपेक्षाअनुसार नभएका कारण तत्काल खरिद नगर्ने निर्णयमा मन्त्रालय पुगेको सचिव पोखरेलले बताए । ‘अहिले भएको खोप लगाइसक्ने र आवश्यकता परेको खण्डमा पछि निर्णय गर्नेछौँ,’ उनले भने । मन्त्रालयलाई हाल मौज्दात रहेको खोप समयमा प्रयोग गरिसक्न निकै चुनौती देखिएको छ । खोपको मौज्दात धेरै हुनु र प्रयोग अवधि कम हुनुले पनि समस्या देखिएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

नेपालमा प्रयोग भएका खोपको म्याद ६ महिनाभन्दा कम रहेको स्रोतले बतायो । स्वास्थ्य मन्त्रालयले यसअगाडि निर्णय गरेको पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप भने ल्याउने भएको छ । यो उमेरसमूहका बालबालिका खोपको लक्षित समूहभित्र छन् । मन्त्रालयले ६४ लाख मात्रा खोपका लागि सम्झौता गरिसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखाको पछिल्लो तथ्यांकअनुसार एक करोड १२ लाख ९१ हजार ८८१ मात्रा खोप मौज्दात छ । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ज्यादै न्यून छ । बिहीबार एक लाख २५ सय ४३ जनाले खोप लगाएका थिए । जसमध्ये पहिलो मात्रा लगाउनेको संख्या नौ हजार २२ छ ।

महाशाखाका खरिद प्रमुख डा. सुरेन्द्रकुमार चौरासियाका अनुसार पहिलो मात्रा खोप लगाउनेको संख्या करिब–करिब सकिएको छ । लक्षित जनसंख्यामा ९५ दशमलव ३ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् । त्यस्तै, पूर्ण मात्रा खोप लगाउने ८३ दशमलव ७ प्रतिशत छ । तथ्यांकअनुसार चार करोड १५ लाख ५९ हजार ३५५ मात्रा खोप लगाइएको छ । पहिलो मात्रा एक करोड ८८ लाख ९७ हजार ५४२ र पूर्ण खोप एक करोड ९५ लाख ३४ हजार ५३४ जनाले लगाएका छन् । अतिरिक्त खोप लगाउनेको संख्या ३१ लाख २७ हजार २७९ छ ।

कहाँ कति खोप बाँकी ?
प्रदेश १ मा : ५ लाख २५ हजार ५३८
मधेस प्रदेश : ६ लाख ६१ हजार ७७९
हेटौँडा : २ लाख ५३ हजार ४३्
बागमती प्रदेश : ११ लाख ९३ हजार ५५
गण्डकी प्रदेश : १ लाख ३९ हजार ९४५
लुम्बिनी प्रदेश : ३ लाख ४२ हजार ७२०
कर्णाली प्रदेश : १ लाख ६४ हजार ५७१
सुदूरपश्चिम प्रदेश : ८० हजार ४ सय ४
केन्द्रीय स्टोर टेकु : ७९ लाख ३० हजार ८८०