१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १५ बिहीबार ०७:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनप्रति असन्तुष्टि भए पनि उम्मेदवारी फिर्ता लिन कांग्रेस महामन्त्री थापाको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १५ बिहीबार ०७:२२:००

कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनप्रति तीव्र असन्तुष्टि कायम रहे पनि पार्टी निर्णय मानेर जानु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवार बनेका पार्टीका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह पनि गरेका छन् ।

कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार गरेको कार्यक्रममा महामन्त्री थापाले भविष्यमा अन्यायका विरुद्ध एक–एक हिसाब गर्ने भन्दै बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । ‘चुनावअगाडि पार्टीमा मतभेद हुन्छन्, चुनावपछाडि फेरि ती विषय उठ्छन् । तर, चुनावमा होमिइसकेपछि पार्टी निर्णय सबैले मान्नुपर्छ, सम्मान गर्नुपर्छ । अहिले पार्टी निर्णयभन्दा बाहिर स्वतन्त्र उम्मेदवारी दिनु भएका तमाम साथीहरूलाई अनुरोध गर्न चाहन्छु–तपाईंहरूमाथि भएको अन्याय र विभेदको एउटा–एउटा हिसाबकिताब हुन्छ,’ थापाले भने, ‘म यो निर्वाचनबारे मात्रै चिन्ता गरेर भनिराखेको छैन, निर्वाचन परिणामलाई चिन्ता गरेर मात्रै भनिराखेको होइन । तपाईंहरूका जायज असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी लिएर आएको छु ।’ 

थापाले असन्तुष्टिको विषयमा चुनावपछि पनि पार्टीभित्र छलफल हुने बताए । ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन, ठूलो भिन्न मत पनि छ । यसबारे संघर्ष पनि भयो, संघर्ष छ र भोलि पनि रहन्छ । तर, राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । यसै गरेर पार्टी निर्णय गरेर अघि बढिरहेका हुन्छन्,’ थापाले भने, ‘हामी पार्टीलाई जिताउन चाहन्छौँ, पार्ट निर्णय कार्यान्वयन गराउन चाहन्छौँ । तर, चुनावपछाडि फेरि छलफल हुन्छ, बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा–एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ ।’

ओलीप्रति कांग्रेस नेता आक्रोशित 
एमाले अध्यक्ष ओलीले कांग्रेसको चुनावी घोषणापत्र पागलहरूको प्रलाप भएको टिप्पणी गरेपछि कांग्रेस नेताहरूका लगातार प्रतिवाद आएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका कांग्रेस महामन्त्री गगन थापाले झुटको पर्दाफास गरेकाले ओलीले सहन नसकेको आरोप लगाएका छन् । 

‘केपी ओलीले मुख छाड्नु नयाँ भएन । जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । यो कुनै नयाँ कुरा भएन, केपी ओली झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छेले तपाईं झुट बोल्दै हुनुहुन्छ भन्यो भने सनक्क सन्केर पागल भन्नुहुन्छ । ओलीलाई आफ्नो प्रशंसाको एकलाप सुन्ने बानी छ । कांग्रेसको घोषणापत्रमा एकपछि अर्को झुटको पर्दाफास गरेकाले ओलीले सहन सक्नुभएन,’ महामन्त्री थापाले भने, ‘ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । कांग्रेस घोषणापत्रमा म्याजिक छैन, लजिक छ । मैले महाधिवेशनका वेला समुन्नत नेपालको अवधारणा अघि सार्दै गर्दा यो मेरो आइडिया थियो, चोर्‍यो भन्नुभयो । हिजो पनि चोर्‍यो, चोर्‍यो भन्नुभएछ । उहाँलाई पनि र मलाई पनि अहिले दौडधुप छ । अलिकति भ्याएको वेला म बालकोटै गएर उहाँलाई ट्युसन पढाउँछु ।’

त्यसैबीच कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको घोषणापत्रलाई लिएर ओलीले मनगढन्ते टिप्पणी गरेको बताएका छन् । ‘कांग्रेस घोषणापत्रबारे ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो । राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्ठा हुन्,’ उनले भनेका छन्, ‘आफ्नो सरकारले विगतमा गरेका काण्डहरूलाई जति बचाउ गर्छन् उति नांगिँदै जान्छन् ।’