१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ बैशाख ७ बुधबार ०७:२२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

नौ महिनामा ६ लाख घरजग्गा खरिद–बिक्री, ६० अर्ब राजस्व संकलन

गत वर्षको तुलनामा घरजग्गा खरिद–बिक्री १४ प्रतिशत र राजस्व संकलन ३० प्रतिशतले वृद्धि, चैतमा मात्रै करिब ७१ हजार घरजग्गा किनबेच हुँदा पौने ६ अर्ब रुपैयाँ राजस्व संकलन

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ बैशाख ७ बुधबार ०७:२२:००

कोभिड महामारीको प्रभावसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका बीच पनि देशभरि घरजग्गा किनबेच बढेको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा देशभरि पाँच लाख ९८ हजार सात सय ७८ घरजग्गा किनबेच भएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो । गत वर्षको नौ महिनामा पाँच लाख २६ हजार दुई सय ९० घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । 

देशभरका मालपोत कार्यालयहरूमा घरजग्गा किनबेच र विभिन्न प्रकारका सेवा प्रवाह बढेपछि मालपोत राजस्व पनि ३० प्रतिशतले बढेको छ । गत वर्षको नौ महिनामा ४६ अर्ब ५८ करोड रुपैयाँ कुल राजस्व संकलन भएकोमा यस वर्षको सोही अवधिमा ६० अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष कोभिड महामारीको बीचमै घरजग्गा कारोबारमा उछाल आएको थियो । यस वर्ष कोभिड महामारी कम हुँदै गए पनि बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अभाव खड्किँदा पनि घरजग्गा किनबेचमा प्रभाव परेन । राष्ट्र बैंकले हालै प्रकाशित गरेको आठ महिनासम्म (फागुन)को तथ्यांक हेर्दा अरू क्षेत्रमा प्रवाह हुने कर्जामा संकुचन आए पनि घरजग्गा क्षेत्रमा प्रवाहित कर्जा रकम बढेको छ । आठ महिनाको अवधिमा बैंकले घरजग्गा क्षेत्रमा ६८ अर्ब कर्जा प्रवाह गरेका छन् ।

भूमि विभागको तथ्यांक हेर्दा, गत वर्षको सुरुवाती महिना घरजग्गा किनबेच सुस्ताए पनि कोभिड कम हुँदै गएपछि ऐतिहासिक किनबेच भएको थियो । मंसिरपछि हरेक महिना घरजग्गा किनबेचको नयाँ–नयाँ रेकर्ड बनेको थियो । चैत महिनामा ८७ हजार घरजग्गा किनबेच भएका थिए । वैशाख मध्यदेखि कोभिडको दोस्रो लहर फैलिन थालेसँगै किनबेच पुनः प्रभावित भयो । यो आवको सुरुवाती महिना घरजग्गा किनबेच उल्लेख्य भए पनि बीचमा उतारचढाव आइरह्यो । तरलताको अभाव देखाउँदै बैंकले ऋण दिन कडाइ गर्दा पनि एक महिनामा करिब ७१ हजार घरजग्गा किनबेच हुनु उत्साहजनक रहेको रियल इस्टेट क्षेत्रमा काम गर्दै आइरहेका उमेश घिमिरे बताउँछन् ।

चालू आवको चैत महिनामा देशभरि ७० हजार आठ सय २९ घरजग्गा किनबेच भएका छन् । यस वर्ष सबैभन्दा बढी साउन महिनामा ७५ हजार घरजग्गा किनबेच भएका थिए भने गत वर्ष चैत महिनामा ८७ हजार घरजग्गा किनबेच भएको भूमि विभागको तथ्यांक छ । भदौ महिनामा ७० हजार, असोजमा ५९ हजार, कात्तिकमा ५० हजार, मंसिरमा ६९ हजार, पुसमा ७० हजार, माघमा ५९ हजार र फागुनमा ७४ हजार घरजग्गा किनबेच भएका थिए । फागुनको तुलनामा चैतमा करिब घरजग्गा किनबेचको संख्या तीन हजारले घटेको छ भने राजस्व पनि ५० करोड रुपैयाँले कम भएको छ । 

देशभरि रहेका एक सय २६ मालपोत कार्यालयमध्ये पछिल्लो समय सबैभन्दा बढी घरजग्गा किनबेच गराउने मालपोतमा इनरुवा, बेलबारी, भद्रपुर, जनकपुर, नेपालगन्‍ज, लगनखेल, भक्तपुर, काभ्रे, कलंकी, पर्सा, धनगढी हुन् ।

गत आवको साउनदेखि कात्तिक महिनासम्म घरजग्गा किनबेच सुस्त थियो । साउनमा ३८ हजार, भदौमा १५ हजार, असोजमा ५८ हजार र कात्तिकमा ३६ हजार घरजग्गा किनबेच भएका थिए । तर, मंसिर लागेसँगै घरजग्गामा उछाल आएको देखिन्छ । मंसिरमा ६१ हजार घरजग्गा किनबेच हुँदा पुसमा ७६ हजार पाँच सय ३२, माघमा ७६ हजार दुई सय ८८, फागुनमा ७६ हजार चार सय ९१ र चैतमा ८७ हजार एक सय ८७ घरजग्गा किनबेच भएका थिए । घरजग्गा व्यवसायी गत वर्षको पुस, माघ, फागुन र चैत महिनाको कारोबारलाई ऐतिहासिक भन्छन् । भर्खर कोभिड कम हुँदै गइरहेको, बैंकमा पर्याप्त तरलता भएको र अनिश्चितताका बीच लगानी गर्न अरू गतिलो ठाउँ नभेटिएका बेलामा बैंकहरूले घरजग्गामा पैसा खन्याइरहेको अवस्था थियो । 

 महिनामा औसत पौने सात अर्ब राजस्व
चालू आवको नौ महिनामै कुल ६० अर्ब रुपैयाँ मालपोत राजस्व उठिसकेको छ । यस हिसाबले मासिक औसतमा ६ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको देखिन्छ । यदि बैंकले घरजग्गामा पर्याप्त कर्जा लगानी गरेका हुन्थे भने देशभरि घरजग्गा किनबेच बढ्नुका साथै वर्षभरिमा मालपोत कार्यालयबाटै करिब खर्बको हाराहारीमा राजस्व संकलन हुने अनुमान लगाउन सकिन्छ । गत वर्षको नौ महिनाको तुलनामा यस वर्ष करिब १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको भूमि विभागको तथ्यांकले देखाउँछ । गत वर्षको पहिलो नौ महिनामा कुल ४६ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।


चालू आवको साउनमा आठ अर्ब १३ करोड रुपैयाँ राजस्व संलकन भएकोमा भदौमा आठ अर्ब २६ करोड, असोजमा सात अर्ब ३३ करोड, कात्तिकमा पाँच अर्ब ४९ करोड, मंसिरमा सात अर्ब ६ करोड, पुसमा ६ अर्ब ७० करोड, माघमा पाँच अर्ब ५० करोड, फागुनमा ६ अर्ब २६ करोड र चैतमा पाँच अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको पुसमा ६ अर्ब ६५ करोड, माघमा ६ अर्ब ७३ करोड, फागुनमा सात अर्ब पाँच करोड र चैतमा आठ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

यस्तो छ चैतको कारोबार
चैत महिनामा देशभरि ७० हजार आठ सय २९ घरजग्गा किनबेच भएका छन् भने पाँच अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । चैतमा घरजग्गा किनबेच, रोक्का–फुकुवा, नामसारीदेखि विभिन्न शीर्षकमा देशभरिका मालपोत कार्यालयहरूबाट एक लाख ५९ हजार दुई सय ६४ सेवा प्रवाह भएको छ । 

चैतमा पनि सबैभन्दा बढी घरजग्गा किनबेच सुनसरीको इनरुवा र मोरङको बेलबारीमा भएको भूमि विभागले जनाएको छ । इनरुवा मालपोतबाट तीन हजार पाँच सय २३ घरजग्गा किनबेच भएका छन् भने बेलबारीमा दुई हजार आठ सय ३४ घरजग्गा किनबेच भए । तेस्रो नम्बरमा झापाको भद्रपुर परेको छ, जहाँ दुई हजार सात सय ६८ घरजग्गा किनबेच भएका छन् ।

धनुषाको जनकपुर मालपोतबाट दुई हजार तीन सय ७६, बाँकेको नेपालगन्‍जबाट दुई हजार दुई सय ७१, ललितपुरबाट दुई हजार ९६, भक्तपुरबाट एक हजार नौ सय ४९, काभ्रेबाट एक हजार नौ सय ३६, कलंकीबाट एक हजार सात सय २४, सप्तरीको राजविराजबाट एक हजार पाँच सय १८, बाराको कलैयाबाट एक हजार चार सय ७९, चितवनबाट एक हजार पाँच सय ५६, पर्साबाट एक हजार चार सय १० घरजग्गा किनबेच भएका छन् । 

 चैतमा काठमाडौं उपत्यकामा  नौ हजार किनबेच
काठमाडौं उपत्यकाका तीन जिल्लामा नौ मालपोत कार्यालय छन्, जहाँबाट चैतमा आठ हजार आठ सय ५३ घरजग्गा किनबेच भएका छन् । ललितपुरको लगनखेलबाट दुई हजार ९६, ललितपुरकै गोटीखेलबाट ४१, भक्तपुरबाट एक हजार नौ सय ४९, डिल्ली बजारबाट तीन सय १५, चाबहिलबाट सात सय ५८, कलंकीबाट एक हजार सात सय २४, साँखुबाट एक हजार ३८, मनमैजुबाट ६ सय ३९ र टोखाबाट दुई सय ९३ घरजग्गा किनबेच भए । 

उपत्यकामा सबैभन्दा बढी राजस्व लगनखेल मालपोतबाट उठेको छ । लगनखेलबाट चैतमा ५८ करोड ४५ लाख रुपैयाँ, भक्तपुरबाट ३२ करोड ४० लाख, डिल्ली बजारबाट ३४ करोड ५० लाख, चाबहिलबाट ३० करोड ३६ लाख, कलंकीबाट ४० करोड ५० लाख, साँखुबाट ११ करोड ५८ लाख, मनमैजुबाट १४ करोड ६८ लाख, टोखाबाट नौ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।