१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाबाट ज्यान गुमाएका ८७ घरपरिवारले अझै पाएनन् राहत रकम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५२:oo

कोभिडबाट ज्यान गुमाउने ८७ घरपरिवारले अझैसम्म राहत रकम पाउन सकेका छैनन् । सरकारले कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई ५० हजार रुपैयाँ राहत रकम दिने घोषणा गरेको थियो । जसअनुसार गोरखामा अझै ८७ घरपरिवारले राहत रकम नपाएका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार कोभिड संक्रमणबाट गोरखामा एक सय ९५ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाएका ५० जनाको परिवारलाई मात्र राहत रकम वितरण गरिएको कार्यालयका कोभिड फोकल पर्सन नारायणबाबु अर्यालले बताए । कार्यविधिअनुसार राहत रकम पाउनयोग्य ५० परिवारलाई उनीहरूले बुझाएको निवेदन र आवश्यक प्रमाणका आधारमा बैंक खातामा रकम निकासा गरेको उनले जानकारी दिए । 

गोरखा नगरपालिकामा १७, पालुङटार नगरपालिका, शहीदलखन र बारपाक सुलिकोट गाउँपालिकामा ६÷६, भीमसेन थापाका तीन, सिरानचोक गाउँपालिकामा ८, गण्डकी गाउँपालिकामा दुई, अजिरकोट र आरुघाट गाउँपालिकामा एक÷एक परिवारलाई राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ । 

कोभिडका कारण मृत्यु भएकामध्ये राहत रकमका लागि एक सय ३७ जनाको निवेदन प्राप्त भएकामध्ये ५० जनाले राहत रकम प्राप्त गरेका हुन् । पहिलो चरणमा प्रदेश सरकारबाट कार्यालयमा २५ लाख रुपैयाँ मात्र प्राप्त भएकाले सबैलाई राहत रकम वितरण गर्न नसकिएको अर्यालले बताए । बाँकी ८७ जनाका लागि रकम अपुग भएको र थप रकमका लागि स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसमक्ष माग गरेर पत्र पठाइसकेको उनले जानकारी दिए । बजेट प्राप्त भएपछि बाँकी परिवारलाई दोस्रो चरणमा रकम वितरण गर्ने उनले भनाइ छ । 

कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई थप राहत रकमका लागि सबै जिल्लाबाट विवरण माग भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव श्रीराम तिवारीले बताए । ‘अहिले प्रदेशमा एक हजारभन्दा बढी विवरण प्राप्त भएको छ । हामीले सबै जिल्लाबाट कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको विवरण माग गरिरहेका छौँ,’ उनले भने, ‘कोभिडकै कारण मृत्यु भएको सबै प्रक्रिया पूरा गरेका व्यक्तिहरूलाई मात्र रकम दिने हो । निर्देशिकामा उल्लेख भएका सबै प्रक्रिया पूरा गरेको हुनुपर्दछ । प्रदेशका सबै व्यक्तिको विवरण प्राप्त भएपछि छिट्टै रकम पठाउँछौँ ।’ कोभिडबाट ज्यान गुमाएका व्यक्तिहरूको प्रदेशभरिको विवरण प्राप्त भएपछि आगामी १५ वैशाखभित्र सबै जिल्लाको स्वास्थ्य कार्यालयमा रकम पठाउने तयारीमा रहेको सचिव तिवारीले बताए । 

ad
ad