Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ चैत २६ शनिबार ०८:०१:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङमा गण्डकी प्रदेशस्तरीय सातौ लमजुङ महोत्सव सुरु 

Read Time : > 2 मिनेट
२०७८ चैत २६ शनिबार ०८:०१:००
  • दुई लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा
  • महोत्सवले कोभिड १९ ले थला पारेको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य 
  • महोत्सव वैशाख ४ गतेसम्म सहजीखेल मैदानमा सञ्चालन हुने
     

लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौ लमजुङ महोत्सव सुरु भएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनर्स्थापना’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पोखरेलले महोत्सव जिल्लाको पर्यटकीय महत्व उजागर गरी लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्ने भन्दै लगानीमैत्री वातावरण बनाउन सके गण्डकी प्रदेशको भविष्य उज्ज्वल रहेको बताए । लगानीमैत्री वातावरणका लागि शान्ति सुरक्षाको ग्यारेन्टी मुख्य सर्त भएको भन्दै उनले प्रदेश सरकार निजी क्षेत्र र स्थानीय तहसँग मिलेर काम गर्न तत्पर रहेको उनको भनाई थियो ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले थला पारेको व्यवसाय, परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको बताए ।  

जिल्लामा व्यवसायिक कृषि, पशुपालन र जडीबुटीको प्रवर्द्धन गरी निर्यातजन्य उत्पादनका लागी प्रोत्साहन गर्ने, स्थानिय उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने, महोत्सव मार्फत साना तथा मझौला उद्योगको स्थापनामा प्रवर्द्धन गराई युवा जनशक्तिमा विदेशीनबाट रोक्न, जिल्लामै उद्यमी बनाउन, आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्य लिएको संघले जनाएको छ । 

यस्तै परम्परागत सीपसँगै प्रविधि प्रवर्द्धन गर्ने, कला संस्कार, संस्कृतिको जर्गेना, नव प्रतिभालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने, नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनलाई सहयोग गर्ने, आदर्श बाल गृह, सर्वोदय ज्येष्ठ नागरिक आश्रम, मानवसेवा आश्रमलाई सहयोग गर्ने र जिल्लाको पर्यटकीय गन्तव्य एवं होमस्टेहरुको थप प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले जानकारी दिए । 

महोत्सवमा जिल्लाको पहिचान बन्दै गएको अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह प्रवर्द्धन गर्न सहयोग गर्ने, होमस्टेहरुलाई महोत्सव मार्फत् प्रवद्र्धनात्मक कार्य गर्ने, स्थानीय तथा प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्न सहयोग गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने, स्थानीय प्रतिभाहरुको प्रस्फुटन गर्ने, स्थानीय कला, संस्कृति, साहित्य, गीत संगीतको जगेर्नाका लागि विविध गतिविधी गरिने आयोजकले जनाएको छ । 

लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णजंग गुरुङले महोत्सवले कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्ययसायलाई पुनर्स्थापना गर्न सहयोग पुग्ने बताए । महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

महोत्सव प्रवेशमा शुल्क

महोत्सवस्थल प्रवेशका लागि प्रति दर्शक ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई नि:शुल्क प्रवेश दिइनेछ । महोत्सवमा २ सय वटा स्टल रहेका छन् ।  

चैत २५ देखि वैशाख ४ गतेसम्म सहजीखेल मैदानमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवस्थल सहजी खेलमैदानमा उद्घाटन कार्यक्रम हुनुअघि शुक्रबार मध्यान्ह बेँसीसहरमा बिभिन्न जातजातिको झाँकीसहितको र्‍याली निकालिएको थियो । 

महोत्सवको टिकटबाट १० रुपैयाँँ सामाजिक क्षेत्रमा खर्च गरिने

सातौं लमजुङ महोत्सवमा प्रवेश टिकटको रकममध्ये १० रुपैयाँ सामाजिक क्षेत्रमा खर्च हुने भएको छ । संघले विगतका वर्ष झै यस वर्ष पनि महोत्सवमा बिक्री भएका टिकटबाट प्रति टिकट सामाजिक क्षेत्रमा खर्च गर्ने जनाएको हो । जसमध्ये प्रति टिकट दुई रुपैयाँ नेपाल पत्रकार महासंघ लमजुङलाई प्रदान गरिने भएको छ । पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणार्थ प्रतिटिकट दुई रुपैयाँ सहयोग गर्ने निर्णय भएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए।

आयोजकका अनुसार सहजीखेल मैदान विकास समितिका लागि प्रतिटिकट दुई रुपैयाँ, विपद व्यवस्थापन कोषका लागि तीन रुपैयाँ, आदर्श महिला तथा बालविकास केन्द्रलाई एक रुपैयाँ, मानव सेवा आश्रमलाई एक रुपैयाँ र सर्वोदय जेष्ठ नागरिक आरोग्य आश्रमलाई प्रति टिकट एक रुपैयाँ सहयोग गर्ने भएको हो ।