१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
हिमाल पौडेल काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मतपत्र छपाइ सुरु : १६ देखि ५६ लहरसम्मका मतपत्र, दैनिक सात लाख मतपत्र छपाइ

Read Time : > 2 मिनेट
हिमाल पौडेल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३३:oo

आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ कार्य सुरु भएको छ । आयोगका अनुसार पहिला दुर्गम जिल्ला र त्यसपछि क्रमशः सुगम जिल्लाका मतपत्र छपाइ हुनेछ । आयोगले मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा कम १६ लहरको र सबैभन्दा बढी ५६ लहरको मतपत्र छपाइको काम सुरु भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

पौडेलका अनुसार आयोगले जिल्लाअनुसार कुल मतदाताको आठदेखि २५ प्रतिशतसम्म बढी मतपत्र छाप्नेछ । दुर्गम क्षेत्रमा थप मतपत्र आवश्यक परेको खण्डमा ढुवानीका लागि मतपत्र छपाइमा भन्दा बढी खर्च लाग्ने भएकाले त्यस्ता क्षेत्रमा २५ प्रतिशतसम्म बढी मतपत्र जगेडा राख्न मिल्ने गरी मतपत्र छपाइ हुने आयोगले जनाएको छ । 

२५ प्रतिशतसम्म बढी मतपत्र छापिने :  शालिग्राम शर्मा पौडेल प्रवक्ता, निर्वाचन आयोग
जिल्लामा आवश्यक पर्ने मतपत्रका आधारमा आठदेखि २५ प्रतिशतसम्म बढी मतपत्र छापिनेछ । दुर्गम क्षेत्रमा थप मतपत्र आवश्यक परेमा तत्काल छपाइ गरेर ढुवानी गर्नुपर्दा मतपत्र छपाइमा भन्दा ढुवानीमा बढी खर्च लाग्ने भएकाले मनाङ, हुम्ला, जुम्लाजस्ता दुर्गम जिल्लामा बढी जगेडा रहने गरी मतपत्र छपाइ हुनेछ

‘जिल्लामा आवश्यक पर्ने मतपत्रका आधारमा आठदेखि २५ प्रतिशतसम्म बढी मतपत्र छापिनेछ । दुर्गम क्षेत्रमा थप मतपत्र आवश्यक परेमा तत्काल छपाइ गरेर ढुवानी गर्नुपर्दा मतपत्र छपाइमा भन्दा ढुवानीमा बढी खर्च लाग्ने भएकाले मनाङ, हुम्ला, जुम्लाजस्ता दुर्गम जिल्लामा बढी जगेडा रहने गरी मतपत्र छपाइ हुनेछ,’ प्रवक्ता पौडेलले भने । 

१६ देखि ५६ लहरका मतपत्र 
निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो आकारको मतपत्र १६ लहरको हुनेछ भने सबैभन्दा ठूलो आकारको मतपत्र ५६ लहरको हुनेछ । ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । एउटा लहरमा सातवटा चुनावचिह्न हुन्छन् । 

यी पालिकामा मतपत्र उम्मेदवारको मनोनयन दर्तापछि 
आयोगले काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौं गरी तीनै जिल्लाका सबै पालिका, विराटनगर महानगरपालिका, वीरगन्ज महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाको मतपत्र उम्मेदवारको मनोनयन दर्ता भएपछि मात्र छाप्ने भएको छ । 

‘काठमाडौं उपत्यकाका तीन जिल्लाका सबै पालिका र अन्य चार महानगरपालिकाको मतपत्र उम्मेदवारी मनोनयन दर्तापछि यथार्थ उम्मेदवारहरूका आधारमा छापिनेछ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने । उनका अनुसार प्रदेशअनुसार मतपत्र छपाइ भइरहेको छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार हाल कर्णाली प्रदेशको मतपत्र छपाइ भइरहेको र भोलिदेखि सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ हुनेछ । उनका अनुसार दैनिक साढे ६ लाखदेखि सात लाखसम्मको संख्यामा मतपत्र छपाइ भइरहेको छ । 

त्यसैबीच, आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छापेको जनाएको छ । स्थानीय तह निर्वाचनका लगि आवश्यक एक लाख ८० हजार नमुना मतपत्रको छपाइ कार्य सकिएको आयोग प्रवक्ता पौडेलले जानकारी दिए । 

मतदाता नामावली सशुल्क उपलब्ध गराइने
निर्वाचन निर्देशिका २०७८ मा भएको व्यवस्था अनुसार आयोगले मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले राजनीतिक दलको पत्रका आधारमा देशैभरिको र प्रदेशको मतदाता नामावली केन्द्रबाट उपलब्ध गराउनेछ । 

देशैभरिको मतदाता नामावलीका लागि सात हजार तथा प्रदेशको मतदाता नामावलीका लागि पाँच हजार शुल्क लाग्ने आयोगले जनाएको छ । त्यसैगरी, जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्ला, पालिका तथा वडा तहको मतदाता नामावली सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउनेछ । 

आयोगका अनुसार जिल्लाको मतदाता नामावलीका लागि तीन हजार, पालिकाका लागि एक हजार र वडा तहका लागि पाँच सय शुल्क लाग्नेछ । आयोगले मतदाता नामावलीको इलेक्ट्रोेनिक प्रति उपलब्ध गराउनेछ । 

त्यसैगरी, निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८, निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका, २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएको आयोगले जनाएको छ । 

 

ad
ad