१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालले हवाई रुट फेरि माग्यो तर भारत बोलेन

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१२:oo

छिमेकी मुलुक भारत भ्रमणमा रहेका नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन् । २ जेठदेखि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भइरहेको समयमा प्रधानमन्त्री देउवाले पश्चिम क्षेत्रमा प्रवेश बिन्दु दिन माग गरेका हुन् । महेन्द्रनगर, नेपालगन्ज र जनकपुर सीमा क्षेत्रबाट हवाई प्रवेश बिन्दु दिन देउवाले आग्रह गरे पनि नयाँ हवाई रुटको विषयमा भारत केही बोलेको छैन । 

नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा जहिल्यै नयाँ प्रवेश बिन्दुको विषय उठान हुने गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओलीको भारत भ्रमणमा पनि नयाँ हवाई प्रवेश बिन्दुको विषय उठान भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि यो विषय उठेको थियो । प्रधानमन्त्रीका भ्रमणहरूमा नयाँ प्रवेश बिन्दुको विषय उठ्ने र दुई देशका सम्बन्धित निकायले छलफल गरेर टुंगो लगाउने भनिन्छ, तर सहमति भने हुन सकेको छैन । भारतीय पक्षले महेन्द्रनगर, नेपालगन्ज र भैरहवाबाट हवाई प्रवेश बिन्दु दिन आलटाल गर्दै आइरहेको छ ।

भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध विमानस्थलका लागि पश्चिम प्रवेश बिन्दु अत्यन्तै आवश्यक छ । पश्चिमका मुलुकबाट काठमाडौं आउने जहाजका लागि पनि पश्चिम प्रवेश बिन्दु अत्यन्त महत्वपूर्ण रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले बताए । भारतले महेन्द्रनगर र नेपालगन्ज रुट दिन सुरक्षाको विषय उठाएको छ । नेपालगन्ज प्रवेश बिन्दु दिन त्यस क्षेत्रमा आर्मीको ब्यारेक रहेको भारतीय पक्षको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि ०७५ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको नागरिक उड्डयन महानिर्देशनालयबीच भएको छलफलमा महेन्द्रनगर र नेपालगन्जबाट नयाँ प्रवेश रुट दिने सहमति भएको थियो । तर, केही महिना नबित्दै पश्चिम क्षेत्रबाट प्रवेश रुट दिन नसकिने भन्दै नागरिक उड्डयन प्राधिकरणलाई भारतले जानकारी गराएको थियो । भैरहवाबाट प्रवेश बिन्दु दिन पनि २१ हजार फिटबाट मात्र जहाज नेपाल प्रवेश गर्नुपर्ने सर्त तेस्र्याइएको छ । २१ हजार फिटबाट प्रवेश गरेको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्नका लागि उचाइ घटाउन धेरै फन्को मार्नुपर्छ, जसले लागत बढाउँछ । सिमरा हुँदै भैरहवामा जहाज अवतरण गर्न दूरी लामो हुन्छ । प्राधिकरणले २ जेठदेखि सिमराबाटै जहाज प्रवेश गराई भैरहवा अवतरण गराउने प्रक्रिया अगाडि बढाएको छ ।

किन पश्चिम रुट ?
महेन्द्रनगर, नेपालगन्ज प्रवेश बिन्दु त्रिभुवन विमानस्थलसँगै भैरहवाको गौतम बुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण मानिन्छ । पश्चिम क्षेत्रबाट जहाज प्रवेश हुँदा बिस्तारै उचाइ घटाउँदै विमानस्थलमा जहाज अवतरण गराउन सहज हुने सहसचिव लामिछाने बताउँछन् । उनले भने, ‘यो प्रवेश बिन्दु पश्चिमबाट आउने जहाजका लागि सीधा रुट हुन्छ ।’ पश्चिम मुलुकबाट आएका जहाजहरू सिमराबाट प्रवेश गरेर गौतम बुद्ध विमानस्थलमा अवतरण गर्न ‘यू टर्न’ गर्नुपर्छ । पश्चिमबाट जहाजलाई काठमाडौं अवतरण गर्न पनि महेन्द्रनगर र नेपालगन्ज प्रवेश बिन्दु नै उपयुक्त हुन्छ । अहिले दोहा, दुबईलगायत मुलुकबाट आउने जहाजहरू भारतीय भूमि फन्को मार्दै सिमरा पुगेर नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ । तर, फर्किंदा महेन्द्रनगरको रुट प्रयोग गर्न पाउँछन् । 

पश्चिमी देशका जहाजहरू महेन्द्रनगरबाटै नेपाल भित्रिँदा १० देखि १५ मिनेटसम्म दूरी छोटिने लामिछानेको भनाइ छ । ‘जहाजको करिब एकतिहाइ सञ्चालन खर्च इन्धनकै हुन्छ, दूरी छोटिनेबित्तिकै इन्धन र समयको बचत हुन्छ,’ उनले भने, ‘यो रुटले जहाजको सञ्चालन खर्च कम हुन्छ ।’ अझ पश्चिम क्षेत्रबाट आएका जहाज सिमरा पुगेर भैरहवा अवतरण गर्दा अर्को १० मिनेट बढी समय लाग्छ ।

पोखरा–दिल्ली उडानमा पनि महेन्द्रनगर–नेपालगन्ज प्रवेश बिन्दु सहज हुने लामिछानेको भनाइ छ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि पश्चिम प्रवेश बिन्दु सहज हुने बताइन्छ । महेन्द्रनगर, नेपालगन्ज, भैरहवालगायत प्रवेश बिन्दु काठमाडौं, भैरहवा र पोखरा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण रहेको छ । भारतले नयाँ हवाई बिन्दु नदिँदासम्म पूर्व र पश्चिम सबैतिरबाट आएका जहाज सिमराबाटै प्रवेश गर्नुपर्ने हुन्छ । जसले सिमरामा हवाई ट्राफिकसमेत बढिरहेको लामिछानेले बताए ।

ad
ad