१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २३ आइतबार १४:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नियमित विद्युत् आपूर्ति नभए उद्योग बन्द गर्ने चेतावनी

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:o३:oo

पछिल्लो एक हप्तादेखि औद्योगिक क्षेत्रमा १२ घन्टासम्म अघोषित रूपमा लोडसेडिङ हुन थालेको भन्दै उद्योगीहरले विद्युतको नियमित आपूर्ति गराउन माग गरेका छन्। मंगलबार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र उद्योग परिसंघ प्रदेश नं. १ ले विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गर्दै कोभिड महामारीको मारमा परेका उद्योगहरू एक्कासि भएको  विद्युत् कटौतीले झनै मारमा परेको भन्दै नियमित विद्युत् आपूर्ति गराउन सरकारसँग माग गरेका हुन्। 

विद्युतको शुल्क वृद्धि भएको बहानामा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न नमिल्ने तथा उद्योगलाई आवश्यक विद्युत् उपलब्ध गराउने दायित्व सरकारले जिम्मेवार भएर पूरा गर्नुपर्ने उद्योगीहरूको माग छ। जसोतसो सञ्चालन भइरहेका उद्योगहरू बिजुली अभावकै कारण बन्द भएमा कार्यरत हजारौँ कर्मचारी र कामदारसँगै उनीहरूका परिवार भोकभोकै पर्ने तथा समग्र अर्थतन्त्र प्रभावित हुने उद्योगीहरूको चिन्ता छ। उद्योग संगठन मोरङका अनुसार सुनसरी र मोरङमा सञ्चालन भरहेका ठूलासाना गरी पाँच सयभन्दा बढी उद्योगमा ५० हजारजति कर्मचारी कार्यरत छन्।

गत दुई वर्षदेखि कोभिडको महामारीबाट थला परेको उद्योग व्यवसाय क्षेत्रले केही महिनायता थप वित्तीय संकट तथा बढ्दो ब्याजदरको मार पनि झेल्नुपरिरहेको छ। भारतले नदिएको भन्दै प्राधिकरणले दैनिक १४ घन्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्दा कलकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल  बताउँछन्। प्याकुरेल भन्छन्,  ‘तत्काल विद्युत् आपूर्ति सुचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरू बन्द गर्न हामी बाध्य हुनेछौँ । यसैले सम्बन्धित निकाय सचेत बनोस्।’

‘पछिल्लो समय उद्योगहरूमै पुगेर चाहिएजति विद्युत् दिन्छौँ भन्दै सरकारले लगानी बढाउन प्रेरित गरिरहेको, तर एक्कासि मूल्य वृद्धिको बहानामा मारमा परेका औद्योगक क्षेत्रको विद्युत् कटौती गरेर झन् मारमा पार्नु सरकारको दोहोरो चरित्र हो,’ उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने। विद्युत् निर्यात गर्ने अवस्था रहेको नेपालले एक्कासि  विद्युत् संकटको अवस्था सिर्जना भएको भन्दै औद्योगक क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनु प्राधिकरणको गैरजिम्मेवारीपन भएको भन्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

मोरङ व्यपार संघका अध्यक्ष नवीन रिजालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै मूल्यमा भए पनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत् उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनी दिएको आश्वासन झुटाे हुन नदिन नियमित विद्युत् आपूर्ति गर्न आग्रह गरे। विश्वव्यापी रूपमा बढिरहेको मूल्य वृद्धिका कारण भारतमा नै चरम ऊर्जा संकट हुँदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक संकट भएको, तर प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन दिन नहुने उद्योगीहरूले बताएका छन्।

लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाए पनि दुई दिनमै फेरि १२ घन्टा विद्युत् कटौती गर्ने कार्यले भनाइ र गराइमा फरक आएको भन्दै उद्योगीहरूले संवेदनशील हुन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

ad
ad