१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एसइई आयो, शिक्षक र पाठ्यपुस्तक नहुँदा मर्कामा दृष्टिविहीन विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२५:oo

आगामी वैशाख दोस्रो हप्तादेखि हुने एसइई परीक्षा नजिकिँदै गरे पनि ब्रेललिपि पढाउने शिक्षक र पाठ्यपुस्तकका सबै भाग नहुँदा दृष्टिविहीन विद्यार्थीहरू समस्यामा परेका छन्। सिराहाको लहानस्थित पशुपति आदर्श माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरू पाठ्यक्रमअनुसार ब्रेललिपिका पाठ्यपुस्तकका सबै भाग नआउँदा एसइई परीक्षाको तयारी गर्न गाह्रो परिरहेको बताउँछन्।

अनिवार्य विषयको रूपमा पढाइ हुने नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक अध्ययन र गणितको ब्रेललिपिको पहिलो भाग आए पनि दोस्रो तथा तेस्रो भागका सबै पुस्तक नआउँदा समस्या भइरहेको विद्यार्थी अजित रजकले गुनासो गरे। ‘विद्यालयमा ब्रेललिपिका शिक्षक हुनुहुन्न। त्यसमा पनि ब्रेललिपि पुस्तकका सबै भाग आएको छैन,’ रजकले भने। ब्रेललिपि पढाउने शिक्षक नहुँदा सामान्य विद्यार्थीलेझैँ सुनेकै भरमा पढ्न उनीहरू बाध्य छन्।

दृष्टिविहीन विद्यार्थीका फोकल शिक्षक शोभितलाल चौधरीले छुटेका ब्रेललिपिका पुस्तक धरान र काठमाडौंमा मात्र पाइने उल्लेख गर्दै माग गरिएको भए पनि नआएको बताए। ‘कोभिड– १९ को महामारीले पनि विद्यालय प्रशासनले दृष्टिविहीन विद्यार्थीको मागअनुसारको सामान उपलब्ध गराउन सकेन,’ उनले भने, ‘पछिल्लोपटक काठमाडौंबाट मगाएका छौँ, त्यो पनि आइसकेको छैन।’

स्लेट र स्टाइलर्सको पनि अभाव
ब्रेललिपिमा आधारित पुस्तकहरू जसोतसो पढ्न सकिने, तर लेख्नका लागि स्लेट र स्टाइलर्ससमेत नहुँदा थप समस्या भइरहेको कक्षा १० का अर्का विद्यार्थी ईश्वरकुमार महतोले बताए। ‘ब्रेललिपिको पुस्तक पढेपछि नोट तयारीका लागि लेख्न स्लेट र स्टाइलर्स चाहिन्छ,’ महतोले भने, ‘तर, शैक्षिक सत्र सुरु भएको १२औँ महिनासम्म पनि स्लेट र स्टाइलर्स पाएका छैनौँ।’ 

महतोजस्तै आउँदो एसइई परीक्षाको तयारीका लागि समस्या भइरहेको गुनासो गर्छन् कक्षा १० का अर्का विद्यार्थी रामकुमार पासवान। ‘विद्यालय र फोकल शिक्षकलाई धेरैपल्ट भन्दा पनि पाएनौँ,’ महतोले भने, ‘त्यसबाहेक दृष्टिविहीन विद्यार्थीका लागि गणितका सामग्रीहरू नहुँदा परीक्षाको तयारी गर्न समस्या थपिएको छ।’ पशुपति आदर्श माविबाट यसपटक दृष्टिविहीन विद्यार्थीहरू रजक, महतो, पासवान, श्याम ठाकुर र तेजनारायण महतोले एसइई परीक्षा दिन फर्म भरेका विद्यालय प्रशासनले जनाएको छ।

अर्को तगारो नगरपालिका 
उक्त विद्यालयमा कक्षा चारदेखि ११ सम्म आठजना दृष्टिविहीन विद्यार्थी पढिरहेका प्रधानाध्यापक डा. महेन्द्रप्रसाद चौधरीले बताए। दृष्टिविहीन विद्यार्थीलाई पढाउँदै आएका शिक्षक सुरेन्द्र पराजुली गत साउनमा सेवानिवृत्त भएपछि अर्का दृष्टिविहीन शिक्षक ल्याउने प्रयास गरिएको भए पनि नगरपालिकाले सहमति नदिँदा अप्ठ्यारो परेको उनको भनाइ छ।

‘यो विद्यालयबाट एइई उत्तीर्ण गरेका दृष्टिविहीन विद्यार्थी नीलकण्ठ वाग्ले अहिले धादिङमा शिक्षक छन्,’ उनले भने, ‘उनलाई सरुवा गराएर ल्याउने प्रयास गरिएको भए पनि नगरपालिकाले सहमति दिएन। बरु दरबन्दी नै काट्ने प्रयास गरेपछि त्यत्तिकै बस्न बाध्य भयौँ।’ मधेस प्रदेशमै लहानमा मात्र रहेको दृष्टिविहीन विद्यार्थीको पठनपाठन व्यवस्थित गर्न नगरपालिकाले आवश्यकताअनुसार सहयोग नगर्दा दृष्टिविहीन विद्यार्थीसँगै विद्यालय प्रशसनलाई पनि समस्या भएको उनको भनाइ छ।

रकम नपाएको गुनासो
दृष्टिविहीन कल्याण संघमार्फत प्रतिमहिना पाँच सय रुपैयाँको दरले हरेक शैक्षिक सत्रको १० महिनाको पाँच हजार रुपैयाँ सम्बन्धित विद्यार्थीलाई दिइने गरिएको विद्यालयका प्रधानाध्यापक डा. महेन्द्रप्रसाद चौधरीले जानकारी दिए। विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूले शैक्षिक सत्र ०७६ को रकम पनि नपाएको गुनासो गरेको सन्दर्भमा उनले भने, ‘म प्रअ हुनुअगावैको रकम हो। के भयो, त्यतिवेलाकै प्रअको जिम्मेवारीको कुरा हो।’

त्यसयता शैक्षिक सत्र ०७७ को रकम बाँडिसकिएको र २०७८ को रकम निकासा भएपछि बाँड्ने योजना रहेको उनले बताए। त्यसबाहेक उनीहरूलाई विद्यालयले आन्तरिक स्रोतबाट जाडोका लागि एक–एक थान स्वेटर र विद्यालय पोसाक दिइएको उनले बताए। ‘सामान्य अवस्थाका विद्यार्थीलाई वर्षको एकपटक विद्यालय पोसाक दिन्छौँ,’ दृष्टिविहीन विद्यार्थीलाई वर्षको दुईपटक दिने गरी योजना बनाएका छौँ,’ उनले भने।

ad
ad