१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार o८:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विप्लवले बढाए सक्रियता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o८:३६:oo

स्थानीय तहको निर्वाचन घोषणा र संसद्बाट अमेरिकी परियोजना एमसिसी अनुमोदन भएसँगै विप्लव नेतृत्वको नेकपाको गतिविधि बढ्यो, तर चुनावमा भाग लिने–नलिने अझै अनिश्चित

दुई वर्ष लामो प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुलुकमा स्थानीय तहको निर्वाचन घोषणा र संसद्बाट अमेरिकी परियोजना एमसिसी अनुमोदन भएसँगै गतिविधि बढाएको छ । नेकपाले वामपन्थी राजनीतिक दलहरूसँग मोर्चाबन्दी गर्दै एमसिसीविरोधी आन्दोलन चर्काइरहेको छ भने संसद्मा विपक्षमा उभिएका दल र नेताहरूसँग संवादमार्फत आफ्नो सक्रियता बढाएको हो । 

नेकपा महासचिव विप्लवले संसद्मा एमसिसी सम्झौताविरुद्ध आवाज उठाउने दल र नेतालाई भेटेर सहकार्यका लागि आग्रह गरेका छन् । बिहीबार विप्लवले एमाले नेता भीम रावलसँग भेट गरी ‘राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन’ प्रस्ताव गरेका छन् । जवाफमा रावलले ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने’ बताएका छन् । 

त्यसअघि बुधबार मात्रै विप्लवले एमसिसीकै मुद्दामा पार्टीभित्र असन्तुष्ट एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ र संसद्मा चर्को विरोध गरेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेट गरेका छन् । बुधबार नै नेकपासहितका पार्टी सम्मिलित मोर्चाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । 

नेकपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव असल क्षेत्रीले एमसिसी र अन्य जनजीविकाका विषयमा विभिन्न दल र व्यक्तिसँग छलफल गर्ने क्रममा पार्टीका महासचिव विप्लवले भेटघाट थालेको बताए । ‘अहिलेको तत्कालीन कार्यक्रम संसद्वादी दलहरूले पारित गरेको एमसिसी सम्झौताको खारेजी हो । यसै विषयलाई लिएर महासचिवले राजनीतिक दलहरू र विभिन्न पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग छलफल गर्नुभएको हो,’ नेता क्षेत्रीले भने, ‘हामीले ६ दल र दुई मोर्चासँग सहकार्यमार्फत संघर्षका कार्यक्रम घोषणा गरिसकेका छौँ । यसलाई अझै प्रभावकारी बनाउने विषयमा छलफल गर्नकै लागि महासचिवले भेटघाट गर्नुभएको हो ।’ उनले एमसिसी राष्ट्रघाती सम्झौता भएको भन्दै यसलाई खारेज गर्नुपर्ने मागसहित आन्दोलनलाई विस्तार गर्ने र अन्य जनजीविकाका सवाललाई पनि उठाइने बताए ।

माओवादी केन्द्रका नेता श्रेष्ठले अध्यक्ष प्रचण्डले छलफलै नगरी यथास्थितिमा पार्टीको लाइनविपरीत एमसिसी टेबुल गरेर पारित गर्ने निर्णय गरेको भन्दै असन्तुष्ट व्यक्त गरिरहेका छन् । उनीनिकट नेताहरूका अनुसार प्रचण्डले एकलौटी निर्णय गर्ने गरेको भन्दै असन्तुष्ट बन्दै आएका छन् । एमसिसीको विषयमा पनि प्रचण्डले सोही व्यवहार दोहो¥याएको भन्दै श्रेष्ठ थप चिढिएका हुन् । यही मौकामा विप्लवले नेता श्रेष्ठसँग भेट गरेर सहकार्यका लागि आग्रह गरेका हुन् । श्रेष्ठले भने आफ्नै पार्टीका बैठकहरूमा उक्त विषय उठाउने र त्यसपछि अन्य विकल्पमा छलफल गर्ने जवाफ विप्लवलाई दिएका छन् ।

त्यस्तै, विप्लवले नेमकिपाका अध्यक्ष बिजुक्छेसँग पनि एमसिसीविरोधी आन्दोलनमा सहकार्यका लागि अनुरोध गरेका छन् । पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मासहित विप्लवले भक्तपुरस्थित बिजुक्छे र महासचिव प्रेम सुवालसँग निवासमा पुगेर छलफल गरेका थिए । नेता क्षेत्रीले नेकपाले राष्ट्रियताको पक्षमा उभिने सबै शक्तिसँग सहकार्य गर्ने र त्यसका लागि छलफल चलिरहेको बताए ।

एमसिसी पारित भएसँगै विप्लवले राजनीतिक गतिविधिलाई तीव्र पारे पनि उनको पार्टीले घोषणा भइसकेको आगामी निर्वाचनमा सहभागी हुन्छ वा हुँदैन भन्ने आमचासोको विषय बनेको छ । नेकपाले यसअघि संसदीय चुनावले मुलुकको समस्या समाधान नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन जनमतसंग्रह गर्नुपर्ने धारणा राख्दै आएको छ । 

नेकपा केन्द्रीय सदस्य क्षेत्रीले अहिले नै यस विषयमा पार्टी ठोस निर्णय गरिनसकेको बताए । ‘संसदीय चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा पार्टीले अहिले नै निर्णय गरिसकेको छैन । निर्वाचनलाई लिएर हाम्रो आफ्नै दृष्टिकोण रहेको अवगत नै छ । आगामी केन्द्रीय समिति बैठकले यस विषयमा अन्तिम निर्णय गर्नेछ,’ उनले भने । यसअघि फागुनमा पार्टीको महाधिवेशन गर्ने योजना बनाएको नेकपाले कोरोना महामारीका कारण त्यसलाई स्थगित गरेकोे छ । महासचिव विप्लवले महाधिवेशनकै लागि भनेर दस्ताबेज लेख्न सुरु गरेका थिए । तर, अहिले यी सबै विषय केन्द्रीय समितिमा छलफल गर्ने नेता क्षेत्रीको भनाइ छ ।

निरन्तर सडक आन्दोलनमा

एमसिसीविरुद्ध सडकमा निरन्तर आन्दोलन गरिरहेको नेकपाले संसद्बाट सम्झौता पारित भएसँगै थप संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेको हो । त्यसका लागि नेकपाले संसद्बाहिरका ६ वटा राजनीतिक दल र अन्य दुईवटा मोर्चासँग सहकार्य गरिरहेको छ । उक्त मोर्चामा नेकपासँग मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा तथा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा सहभागी छन् । एमसिसी अनुमोदनपछि जनमोर्चा पाँचदलीय गठबन्धनबाट बाहिरिएको छ ।

मोर्चाले एमसिसीविरुद्ध आगामी ६ चैतसम्मका लागि घोषणा गरेका आन्दोलनका कार्यक्रममा अन्तत्र्रिmयादेखि विरोधसभासम्म छन् । घोषणा भएका संघर्षका कार्यक्रममा २० फागुनमा काठमाडौं उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, २२ फागुनमा बुद्धिजीवीसँग अन्तत्र्रिmया, २४ फागुनमा ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने भएको छ । 

त्यस्तै, २६ फागुनमा विद्यार्थीको देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन तथा सभा, २८ फागुनमा युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, ३० फागुनमा मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा, २ चैतमा किसानको देशव्यापी विरोध प्रदर्शन र सभा, ४ चैतमा श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने तथा ६ चैतमा राष्ट्रिय मुक्ति (जातीय÷क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने घोषणा भएको छ । नेकपासहितको मोर्चाले यसअघि एमसिसीविरुद्ध पछिल्लो दुई सातामा मात्रै दुईपटक नेपाल बन्द आयोजना गरेको थियो । खुला राजनीतिमा आए पनि नेकपाका कैयौँ नेता अझै थुनामा छन् । उनीहरूको रिहाइका लागि नेकपाले सरकारसँग माग गर्दै आएको छ । 

ad
ad