आफ्नै काकाको बीभत्स हत्या गरी फरार भएका बाजुराको त्रिवेणी नगरपालिका– ८ कालापानी गिरीबाडा बस्ने भरत गिरीलाई १६ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । गिरीले २०६३ माघ ४ मा गाउँकै नवराज गिरीको हत्या गरेर १६ वर्षदेखि भारतको उत्तराखण्डमा बस्दै आएका गिरीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।
नवराज गिरीको हत्या भएलगत्तै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जाहेरी दिएपछि अभियुक्त भरत गिरी फरार भएका थिए । तत्काल मृतकका दाइले किटानी जाहेर दिई अनुसन्धानपश्चात १२ जनामाथि अनुसन्धान भएकोमा भरत गिरी घटनास्थलबाट सोही दिन फरार रहेका थिए ।
अभियुक्त गिरीलाई जिल्ला अदालत बाजुराबाट ०७८ माघ ४ मा सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो । ०७० भदौ २१ मा सर्वोच्च अदालतबाट फरार मुख्य अभियुक्त गिरीलाई जन्मकैदको फैसला ठहर भएको थियो ।
अभियुक्त गिरीलाई घटना भएकै दिनदेखि खोजतलास गर्दा कतै फेला नपरी भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको खबरपछि इन्टरपोलसँगको समन्वय तथा भारतीय प्रहरीको सहयोगमा १६ वर्षपछि भारतको उत्तराखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चतुर्भुज ओझाले जानकारी दिए ।
यसैबीच पीडित परिवारले फरार अभियुक्तलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याएको भन्दै न्यायको महसुस गरेको बताएका छन् । पीडित परिवारका तारा गिरीले अभियुक्त पक्राउ गरेकोमा प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् ।