१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक बोहरा दीपक बोहरा
२o८१ बैशाख २० बिहीबार १७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गाउँपालिकाको बजेटमा सामूहिक ‘चौरासी पूजा’

Read Time : > 1 मिनेट
दीपक बोहरा, दीपक बोहरा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१६:oo

दाङ शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहिक चौरासी पूजा गरिएको छ । गाउँपालिकाको कार्यालयको प्रांगणमा रहेको मन्दिरमा आइतबार ८४ पूजा आयोजना गरिएको हो। गाउँपालिकाको तीन लाख बजेटमा ‘चौरासी पूजा र सम्मान कार्यक्रम’ आयोजना गरिएको जेष्ठ नागरिक संघ शान्तिनगरका अध्यक्ष तेजराम पौडेलले बताए । ‘हामीलाई गाउँपालिकाले  तीन लाख बजेट दिएको थियो, हामीले कार्यक्रमका लागि त्यो बजेट माग गरेका थियौैँ,’उनले भने, ‘सोहीअनुसार जेष्ठ नागरिकलाई सम्मान र चौरासी पूजाका लागि बजेट व्यवस्था गरेको हो ।’  

आइतबार गाउँपालिकाभित्रका पाँचजना जेष्ठ नागरिकहरूको सामूहिक चौरासी पूजा गरिएको उनले बताए । उनका अनुसार वडा नं. ३ का खगी घर्ती, सोही वडाका भबिलाल घर्ती, भपाल खत्री, वडा नं. १ का दुर्गा वली र अमृताकुमारी क्षेत्रीको चौरासी पूजा गरिएको हो । ८२ वर्ष उमेर पुगेपछि ‘चौरासी पूजा’ गर्ने चलन छ । आर्थिक अवस्थाले नभ्याउने भएपछि आफूहरूलाई यसरी गाउँपालिकाले सहयोग गरेर ८४ पूजा गर्न पाउँदा निकै खुसी भएको जेष्ठ नागरिक दुर्गा वलीले बताइन् । ‘घरमा पैसा थिएन, त्यसैले ८४ पूजा गर्ने रहर हुँदा पनि गर्न सकिएको थिएन,’ उनले भनिन्, ‘अहिले गाउँपालिकाले बजेट दिएपछि सजिलो भयो ।’ 

गाउँपालिकाभित्र ८० वर्ष पूरा भएका २२८ जना जेष्ठ नागरिक छन्। उनीहरू सबैलाई सहभागी बनाएर कार्यक्रम गर्ने योजना बनाएपछि कोरोना महामारी बढेकाले त्यो सम्भव नभएपछि उनीहरूलाई वडामै पुगेर कार्यक्रम गर्ने योजना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए। ‘हामीले एकै ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका थियौँ,’उनले भने, ‘तर, अहिले  कोरोना महामारी पनि छ, त्यसैले पहिलो चरणमा ५ जनालाई सहभागी बनाएर चौरासी पूजा गर्यौँ, अब केही दिनमा वडामा पुगेर सबै जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ।’ 

वैदिक सनातन धर्मअनुसार ८२ वर्ष पुगेपछि चौरासी पूजा गरेमा यो उमेरसम्म गरेका सबै कुकर्म तथा पाप मेटिएर जाने विश्वासअनुसार यो पूजा गर्ने गरिएको जेष्ठ नागरिक संघ दाङका वरिष्ठ उपाध्यक्ष खुमानन्द अधिकारीले बताए। ‘सबै वृद्धवृद्धाहरूले ८२ वर्ष पुगेर ८४ वर्ष नलाग्दै यो पूजा गरेपछि मनमा शान्ति पाउने, बाँकी उमेरसम्म शान्तिपूर्ण रूपमा बाँच्न पाइने, भगवानसँग वास पाइने विश्वास रहेको छ। त्यसैले वृद्धवृद्धाहरूको सहजताका लागि हामीले सामूहिक चौरासी पूजाको आयोजना गरेका हौँ।’ 
 

ad
ad