१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
कमलपोखरीमा मरेर तैरिएका माछा । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

माछा मरेपछि कमलपोखरी फेरि दुर्गन्धित 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:oo:oo

काठमाडौं महानगरपालिका भन्छ– कमलपोखरीमा माछा हाल्ने योजनामै छैन, कहाँबाट आयो ?

काठमाडौंको मध्यभागमा रहेको कमलपोखरी फेरि दुर्गन्धित बनेको छ । पुनर्निर्माणको चरणमै रहेको पोखरीमा हालिएका माछा मरेर पानीमा तैरिएका छन् । कुहिएका माछाका कारण दुर्गन्ध फैलिन थालेको छ । 

पोखरीवरपर फोहोर छरिएको छ । तर, महानगरले भने पुनर्निर्माण गरी ठेकेदार कम्पनीले हस्तान्तरण नगरेसम्म सबै जिम्मा ठेकेदारको भएको बताएको छ । ‘कमलपोखरीमा हामीले माछा हालेका होइनौँ । कमलपोखरी स्पोर्टस् क्लबले हालेको हो कि,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘कमलपोखरी पुनर्निर्माण सम्पन्न गरी ठेकेदार कम्पनीले हस्तान्तरण नगरेसम्म हाम्रो भूमिका केही हुन्न ।’ 

ईश्वरमान डंगोल, प्रवक्ता, काठमाडौं महानगरपालिका

कमलपोखरीमा हामीले माछा हालेका होइनौँ । कमलपोखरी स्पोर्टस् क्लबले हालेको हो कि ! कमलपोखरी पुनर्निर्माण सम्पन्न गरी हामीलाई ठेकेदार कम्पनीले हस्तान्तरण नगरेसम्म हाम्रो भूमिका केही हुन्न ।

डंगोलले कमलपोखरीमा माछा हाल्ने महानगरको योजनामै नरहेको बताए । कमलपोखरीमा यसअघि रानीपोखरीमा भएका १० हजार माछा लगेर हालिएको थियो । भूकम्पले क्षति पुर्‍याएपछि रानीपोखरी पुनर्निर्माण गर्ने क्रममा त्यहाँका १० हजार माछा कमलपोखरीमा हालिएका थिए । त्यससँगै कमलपोखरीमै पनि माछा थिए । तर, ती माछाको महानगरले बेवास्ता गर्दा मरेरै सकिए । महानगरले कमलपोखरी स्पोर्टस् क्लबले माछा रेखदेख गरेको र उसैको जिम्मामा छाडेको भने पनि माछाबारे क्लबले अनभिज्ञता जनाएको थियो । 

अब पोखरीमा फाइबरकमलका फूल राखिने
कमलपोखरी पुनर्निर्माणको अन्तिम चरणमा छ । काठमाडौं महानगरका अनुसार अब कमलपोखरीमा फाइबरको कमलको फूल राख्ने, नौवटा चैत्य राख्ने र फिनिसिङबाहेकका सबै काम सकिएको छ । ‘कमलपोखरीमा फाइबरको कमलको फूल राख्ने र फिनिसिङबाहेकका सबै काम सकिएका छन् । हामीले ठेकेदार कम्पनीलाई बाँकी काम छिटो सक्न भनेका छौँ । लगभग पोखरी पुनर्निर्माणको अन्तिम चरणमा पुगेका छौँ,’ प्रवक्ता डंगोलले भने । पोखरी जुन प्रविधिबाट बनाइनुपर्ने हो, त्यो तरिकाबाट पुनर्निर्माण नहुँदा अब पोखरीमा बोरिङ खनेर पानी हाल्नुपर्ने भएको छ । पोखरीको बीचभागमा फुलाइने कमलको फूल पनि कृत्रिम हुनेछ । 

पोखरी सुकाउँदा नै ढुंगेधारा तथा पोखरीविज्ञहरूले धाँजा फाट्ने गरी पोखरी सुकाउनु गलत भएको भन्दै विरोध जनाएका थिए । ‘पोखरीवरपर चारैतिर रुख थियो । विभिन्न किसिमका चरा आउँथे । पानीहाँस आउँथ्यो । वीरशमशेरका पनातिहरू पानीहाँसको सिकार खेल्थे । पोखरीको क्षेत्रफल पनि ठूलो थियो, हामी पनि त्यहाँ गएर माछा माथ्र्याैं, माझीले त्यहाँ फुलेको कमलको फूल दिन्थे,’ ५० वर्षअघिको दिन सम्झिँदै स्थानीय घनश्याम राजकर्णिकारले सुनाए, ‘त्यस्तो पोखरी अहिले यो अवस्थामा आइपुग्यो । पुनर्निर्माणपछि पहिलाको जस्तै पोखरीवरपर टहलिन पाउँछौँ कि भनेको न समयमै काम हुन सकिरहेको छ, न मौलिकतालाई कायम नै राखिएको छ ।’ 

पोखरी समयमै पुनर्निर्माण नहुनु, निर्माण सम्पन्न नहुँदै पानीमा लेउ लाग्नु, बोरिङको पानी प्रयोग गर्नुपर्नेलगायत कारण पहिलेकैजस्तो पोखरी नदेखिने हो कि भन्ने उनको चिन्ता छ । अब उनको चिन्ता चिन्तामै सीमित हुने भएको छ । अब न त्यहाँ माछा हुनेछन्, न पहिलाको जस्तो प्राकृतिक पोखरी । केही समय पहिला मेलम्चीको पानी दुई करोड लिटर हालेर भरिएको पोखरीमा हाल लोकसेवा आयोगबाट पाइपमा पानी ल्याएर भर्न थालिएको छ । 

एक वर्षमा सक्नुपर्ने काम दुई वर्षसम्म पनि निरन्तर
सम्झौताअनुसार कमलपोखरी पुनर्निर्माण १५ असार ०७७ असारभित्रै सक्नुपर्ने थियो । तर, अझै पनि पूरा भएको छैन । १९ असार ०७६ मा पोखरी एक वर्षमा पुनर्निर्माण सक्ने भन्दै शिलान्यास भएको थियो । महानगरले ‘हाम्रो काठमाडौँ आफैँ बनाऔँ’ नाराका साथ थालेको पुनर्निर्माण शिलान्यास मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले गरेका थिए । नौ करोड ४७ लाख रुपैयाँ लागतमा सबै काम सक्ने गरी जय धनञ्जय (कँडेल निर्माण सेवा) ले पोखरी पुनर्निर्माणको काम गरिरहेको छ । २३ रोपनी १४ आना क्षेत्रफलमा रहेको कमलपोखरी परिसर हाल १९ रोपनीबराबरको क्षेत्रफलमा बन्ने पोखरी पुनर्निर्माणका लागि मात्र काम भइरहेको छ । 

४ माघ ०७७ मा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता विष्णुप्रसाद भुसाल, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, अधिवक्ता लिशा महर्जन र सञ्जय अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कमलपोखरी मौलिक शैलीमै पुनर्निर्माण हुनुपर्ने भन्दै उनीहरू अदालत गएका थिए । सर्वोच्चले कुनै पनि आदेश नदिँदा कमलपोखरी महानगरकै अनुसार निर्माण सम्पन्नको चरणमा छ । कमलपोखरीको पुनर्निर्माणमा ढिलाइ भएको र यसको महत्वलाई नै मास्ने गरी ढुंगा, क्रंक्रिटको प्रयोग गरी निर्माण गरिएका कारण केही समयअघि स्थानीयसमेत विरोधमा उत्रिएका थिए ।

कमलपोखरीमा नौवटा चैत्य रहनेछन् । पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइनेछ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिनेछ । पोखरीआसपासमा नेपालीपन झल्काउन झिँगटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिनेछन् । पोखरीपरिसरमा खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन र बास्केटबल कोर्ट हुनेछ । बालबालिकाका लागि खेल्न खुला पार्क बनाइनेछ । साँझपख पार्कमा चहलपहल होस् भनेर बिजुलीबत्ती जडान गरिनेछ । पोखरीको बीच भागसम्म पुल बनाइनेछ । चारै कुनामा कमलका फूलसहित स–साना पोखरी र बीचमा फोहोरा निर्माण हुनेछ । 

ad
ad