कोरोना महामारी : देशभर ५५ वटा अक्सिजन प्लान्ट जडान

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

पाटन, वीर, शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता ठूला स्वास्थ्य संस्थामा बिग्रिएका अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा


कोरोनाको तेस्रो लहरमा ५५ वटा अक्सिजन प्लान्ट तयार भएका छन् । दोस्रो लहरमा देशभर १५ वटा मात्रै अक्सिजन प्लान्ट सञ्चालनमा थिए । अहिले बिग्रिएका प्लान्टलाई समेत मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

जडान भएका अक्सिजन प्लान्टले दैनिक ५० देखि दुई सयसम्म अक्सिजन सिलिन्डर भर्न सक्ने क्षमता राख्छन् । कोरोनाको तेस्रो लहरमा ४० वटा नयाँ प्लान्ट जडान भएका छन् । दोस्रो लहरमा अक्सिजनको अभावका कारण कैयौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेपछि सरकारले सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पतालहरूले आफ्नो बेड क्षमताका आधारमा अक्सिजन प्लान्ट जडान गरेका हुन् ।

पाटन, वीर, शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता ठूला स्वास्थ्य संस्थाका अक्सिजन प्लान्ट बिग्रिएका थिए । अहिले मर्मत गरेर सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभर १५ हजार चार सय ६५ अक्सिजन सिलिन्डर रहेको जानकारी दिए । अक्सिजन कन्सन्ट्रेटर ६ सय ९३ वटा छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको संक्रमण तीव वृद्धि भए पनि अस्पतालमा भर्ना भएका र आइसियूमा पुगेकालाई विगतको जस्तो अक्सिजन आवश्यकता परेको छैन । पहिलो र दोस्रो लहरमा अक्सिजनको अभावले धेरैको मृत्यु भएको थियो ।

यसपटक स्वास्थ्यकर्मी धेरै संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार करिब एक हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । कतिपय भने निको भएर काममा फर्केका छन् । तर, अझै पाँचदेखि ६ सयको संख्यामा स्वास्थ्यकर्मी सेवामा फर्केका छैनन् । स्वास्थ्यकर्मीको अभावले सेवा नरोक्न सरकारले सरकारी अस्पतालहरूमा करारमा स्वास्थ्यकर्मी लिन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तर, सेवा रोकिएको छैन । भोलिका दिनमा सेवा अवरुद्ध नहोस् भनेर मन्त्रालयले करारमा जनशक्ति लिई सेवा नियमित गर्न अस्पतालमा परिपत्र भइसकेको छ ।’

धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तर, सेवा रोकिएको छैन । भोलिका दिनमा सेवा अवरुद्ध नहोस् भनेर मन्त्रालयले करारमा जनशक्ति लिई सेवा नियमित गर्न अस्पतालमा परिपत्र भइसकेको छ ।

डा. समीरकुमार अधिकारी, सहप्रवक्ता, स्वास्थ्य मन्त्रालय

टेकु अस्पतालले ५० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि खोप सेवा नै रोकेको छ । सबैभन्दा धेरै खोप लगाउँदै आएको टेकुले स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा रोक्नुपरेको जनाएको छ । तर, कोभिडका कारणले अस्पतालमा बिरामीको चाप भने बढेको छैन ।

कम परीक्षण गरेकाले संक्रमितको संख्या घट्यो

पछिल्लो २४ घन्टामा देशभर १७ हजार चार सय ३७ वटा नमुना परीक्षण गर्दा ६ हजार चार सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार चार सय १६ जना निको भएका छन् । यस अवधिमा चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले शनिबार धेरै नमुना संकलन र परीक्षण नभएकाले कम तथ्यांक आएको बताए । 

तथ्यांकअनुसार कुल संक्रमितमध्ये ७५ हजार तीन सय ७६ जना घरमा बसेका छन् । एक हजार ६ सय ६४ जना अस्पतालमा छन् । दुई सय १५ जना आइसियू र ४० जना भेन्टिलेटरमा पुगेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आइतबारसम्म ११ हजार ६ सय ५५ पुगेको छ । अघिल्लो दिनमा भन्दा आइतबार आइसियूमा पाँचजना र भेन्टिलेटरमा तीनजना थपिएका छन् ।

सुझावित समाचार