१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ६ बिहीबार २१:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा अत्यावश्यकबाहेक सबै सवारीसाधनमा जोरबिजोर प्रणाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ६ बिहीबार २१:२२:००

तेस्रो लहरको सुरुवातदेखि कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारीसाधनमा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुँदै छ । स्वास्थ्य मन्त्रालयले माघ दोस्रो साता संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेका वेला उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले जोरबिजोर लागू गर्ने निर्णय गरेको हो । 

जोर मितिमा जोर र बिजोर मितिमा बिजोर नम्बरका सवारीसाधन सञ्चालन गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । ‘दुईपांग्रेसहितका सार्वजनिक र निजी सबै सवारीसाधनमा जोरबिजोर लागू गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘जोर मितिमा जोर र बिजोर मिति बिजोर नम्बरका सवारीसाधन चल्न पाउनेछन् ।’

औषधिलगायत स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडी, खाद्यान्न, फलफूल, तरकारी, माछामासु बोकेका तथा पशुपक्षीका दाना बोकेका सवारीसाधनलाई भने जोरबिजोर लागू हुनेछैन । सरकारी नम्बर प्लेटका सवारीसाधनलाई पनि जोरबिजोर लगाइएको छैन । 

सिडिओहरूको संयुक्त बैठकको निर्णयपछि तीनवटै जिल्ला प्रशासनले एकै व्यहोराको सार्वजनिक सूचना जारी गरी आलोपालो सेवाप्रवाहको प्रबन्ध मिलाउन पनि भनेका छन् । सार्वजनिक निकायका कैयौँ कर्मचारी पनि कोभिड संक्रमित भएको र भिडभाडका कारण संक्रमण बढ्न सक्ने भएकाले सेवा प्रवाहमा आलोपालो मिलाउन भनिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।