मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ ५ बुधबार ११:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्ज नाका लागुऔषधको ट्रान्जिट प्वाइन्ट : ६ महिनामा ८८ जना लागुऔषध कारोबारी पक्राउ 

Read Time : > 1 मिनेट
२०७८ माघ ५ बुधबार ११:५८:००

नेपालगन्ज नाकाबाट पछिल्लो ६ महिनामा लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न ८८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, चार किलो तीन सय ७५ ग्राम चरेस, तीन हजार पाँच सय ४३ ट्याब्लेट नाइट्रोजेपाम, ६ हजार लिटर कोरेक्स, २० ग्राम गाँजा र एक हजार चार सय ३० ट्याब्लेट ट्रमाडोल बरामद गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।त्यस्तै, पाँच लाख ११ हजार नगदसमेत उनीहरूको साथबाट बरामद भएको न्यौपानेले बताए । 

नेपालगन्ज नाकाबाट लागुऔषध ओसारपसार मात्र नभई प्रयोगकर्ताहरूसमेत भारतीय सीमा बजार रुपैडिहा पुग्ने गरेको प्रहरीले जनाएको छ । ब्राउनसुगर, नाइट्रोजेपाम ट्याब्लेट, कोरेक्स, ट्रमाडोललगायतका लागुऔषध भारतबाट नेपाल भित्रिने गरेको बताउँदै डिएसपी न्यौपानेले गाँजा र चरेस नेपालबाट भारत जाने गरेको बताए । ‘अधिकांश लागुऔषध ओसारपसार नेपालगन्ज नाकाबाट भएको देखिन्छ,’ उनले भने । 

लागुऔषध ओसारपसार तथा प्रयोगकर्ताले जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठा भरिने गरेको छ । ८२ जना थुनुवामध्ये २६ जना लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता भएको उनले बताए । थुनामा रहेका २६ जना मध्ये १८ जनाविरुद्ध मुद्दा दायर गरिएको न्यौपानेले जानकारी दिए । 

एक सय ३९ जना फरार अभियुक्त पक्राउ

बाँके प्रहरीले ६ महिनामा एक सय ३९ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । अदालतबाट कैद तथा जरिवाना सजाय पाए पनि भुक्तान गर्न नआएका अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले बताए । 

उनीहरूबाट ३७ लाख ९९ सय हजार पाँच सय १४ रुपैयाँ जरिवाना असुल गरिएको छ । ‘फरार अपराधी पक्राउ गर्ने सरकारको नीतिअनुसार अदालतबाट सजाय पाएका अपराधीलाई पक्राउ गरी अदालतमा बुझाएका छौँ,’ उनले भने । 

चार करोड ३६ लाख रुपैयाँको अवैध सामान बरामद

प्रहरीले ६ महिनामा चार करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ मूल्यबराबरको अवैध सामानसहित ओसारपसारमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले भन्सार चोरी पैठारी, सुन तस्करलाई कारबाही, ट्राफिक जरिवाना, नदीजन्य पदार्थ उत्खनन, जुवातास, काठ तस्करीलगायतबाट नाै करोड ३९ लाख, ९३ हजार ८०७ रुपैयाँ राजस्व संकलन भएको प्रहरी प्रवक्ता न्यौपानेले बताए । गत आर्थिक वर्षको यही अवधिमा दुई करोड ७५ लाख ३४ हजार सात सय ३८ रुपैयाँ राजस्व संकलन भएको थियो ।

ठूलो परिमाणमा वन्यजन्तुको छाला बरामद

बाँके प्रहरीले ठूलो परिमाणमा वन्यजन्तुको छाला तथा हड्डीसहित कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता न्यौपानेका अनुसार ६ महिनामा तीन थान बाघको छाला, एक थान रेडपाण्डाको छाला, भालुको पित चारवटा र  हातीको दाँत दुईवटासहित १० जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी, तीनवटा कटुवा पेस्तोल, एक–एक थान एयरपेस्तोल र भरुवा बन्दुकसहित चारजनालाई पक्राउ गरी कारबाही गरिएको बाँके प्रहरीले जनाएको छ ।