मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७८ माघ २ आइतबार ०८:०९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जग्गा किन्ने सिलसिलामा चिनजान, सम्बन्ध लुकाउन महिलाको हत्या

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ माघ २ आइतबार ०८:०९:००

सम्बन्ध लुकाउन महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाले शनिबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न तीनजनालाई सार्वजनिक गरेको हो । प्रहरीले हरिवन नगरपालिका–१० ताइवान टोलका २७ वर्षीय सन्तोष साह, २७ वर्षकै मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई पक्राउ गरेको हो । तीनैजना एकै गाउँका रहेको खुलेको छ । 

उनीहरूले गत १७ पुस राति बरहथवा नगरपालिका–१० निवासी सुरत रामकी श्रीमती ३२ वर्षकी सावित्रीकुमारी महराको हत्या गरेका थिए । घटनाका मुख्य योजनाकार सन्तोष साहले सावित्रीकुमारीलाई घरबाट ल्याएर उखुबारीमा हत्या गरेका प्रहरीको भनाइ छ । मृतक महिला र सन्तोषबीच जग्गा किन्ने सिलसिलामा चिनजान भएको थियो । सोही चिनजानपछि सम्बन्धमा परिणत भएको थियो । 

मृतक महिला र सन्तोष दुवै विवाहित हुन् । महिलाले अब आफूसँग बिहे गर्न वा भगाउन दबाब दिएपछि सन्तोषले साथीहरूसँग मिलेर उनको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । सन्तोषको केही समयअघि मात्र विवाह भएको हो । महिलाका भने तीन सन्तान छन् । 

अंग्रेजी नयाँ वर्षको दिन रातिदेखि बेपत्ता सावित्रीकुमारीको शव उखुबारीमा एक सातापछि फेला परेको थियो । प्रहरीका अनुसार शवको केही भाग जलेको अवस्थामा निर्वस्त्र फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा तीनजनाको संलग्नता पाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकर यादवले जानकारी दिए । 

विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीलाई आर्थिक प्रलोभन देखाएर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाइकल र मोबाइल फोनसमेत बरामद गरेको थियो । सावित्रीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । उनी दुई वर्षअघि मात्र नेपाल आएर फर्किएका थिए ।

घटनाको सूक्ष्म अनुसन्धान गरेका छौँ : डिएसपी उमाशंकर यादव
महिलाको हत्या भएको थाहा पाउनेबित्तिकै स्थानीयले हामीलाई खबर गरे । त्यसपछि घटनास्थललाई सुरक्षित राखेर हामीले अनुसन्धान सुरु गर्‍यौँ । र, त्यसमा संलग्न तीनजनालाई पक्राउ गरेका हौँ । मृतक महिलाका श्रीमान् लामो समयदेखि वैदेशिक रोजगारीमा रहेछन् । यहाँ उनीहरू छुट्टिएर बसेका पाइयो । सासूससुराको भन्दा सावित्राको घर केही पर छ । महिला दुई छोरा र एक छोरीसँग बस्ने गरेकी रहिछन् । सन्तोष साह भन्नेसँग महिलाको केही समयदेखिको सम्बन्ध रहेछ । 

घडेरी किन्न सन्तोषलाई दुई लाख बैना
सन्तोष सामान्य व्यापार–व्यवसाय गर्ने र कहिलेकाहीँ घरजग्गा किनबेचमा संलग्न हुने गरेको खुलेको छ । जग्गा किनबेचकै क्रममा सावित्रीको सन्तोषसँग चिनजान भएको प्रहरीले जनाएको छ । सावित्रीभन्दा पहिला सन्तोषको उनको बुबा र श्रीमान्सँग चिनजान भएको खुलेको छ । सावित्रीका श्रीमान सुरतले विदेशमा कमाएको पैसाले घडेरी किन्ने योजनाअनुसार आफूले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए । उनले विभिन्न समयमा गरेर श्रीमतीलाई १० लाखको हाराहारीमा पैसा पठाइसकेका थिए । 

घडेरी किन्न भनेर सावित्रीले सन्तोषलाई दुई लाख बैनासमेत दिएको अनुसन्धानबाट खुलेको छ । सोही सिलसिलामा उनीहरूको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाइ छ । ‘सम्बन्ध बढ्दै गएपछि विभिन्न ठाउँ घुम्न जाने गरेको देखिएको छ,’ डिएसपी यादवले भने, ‘उनीहरूले सुरतले पठाएको पैसा खर्च गरेको पाइएको छ ।’

समय बित्दै जाँदा सावित्राले सन्तोषलाई आफूसँग बिहे गर्न र भगाउन दबाब दिन थाल्छिन् । तर, सन्तोषले विभिन्न बहानामा टार्दै जान्छन् । यहीबीचमा सन्तोषको बुबाको मृत्यु हुन्छ । उनी केही समय बुबाको किरियामा व्यस्त हुन्छन् । बुबाको किरिया सकेपछि सन्तोषलाई सावित्राले भगाउन दबाब दिन्छिन् । श्रीमान् सुरतले पठाएको पैसाको हिसाबले सावित्रालाई तनाव बढ्दै जान्छ । सावित्रा र सन्तोष दुवै चिन्तामा पर्छन् । १७ पुसमा सन्तोषले साथीहरूसँग आफ्नो समस्या राख्छन् । साथीहरूले महिलाको हत्या गर्ने उपाय सुझाउँछन् । मदिरामा लट्ठिएका सन्तोषले केही पैसा दिने लोभ देखाएर दुईजना साथीसँग सहयोग माग्छन् ।

साथीहरूले साथ दिने भनेपछि हत्याको योजना बनेको प्रहरीले जनाएको छ । सन्तोषले साथीहरूसँगको योजनाबमोजिम आफू लिन आउँदै गरेको बताउँदै सावित्रालाई राति ८ बजेतिर तयार भएर बस्न भन्छन् । त्यसपछि तीनैजना एउटै मोटरसाइकलमा ७:३० बजेतिर महिलाको घरतर्फ लाग्छन् । पूर्वयोजनाबमोजिम सन्तोषले दुईजनालाई कटानीस्थित उखुघारीमा लुकेर बस्न भन्छन् । आफू भने मोटरसाइकल लिएर महिलालाई लिन जान्छन् । महिलालाई फोन गर्छन् र लिएर साथीहरूकहाँ आइपुग्छन् । सन्तोष पिसाब फेर्ने बहानामा मोटरसाइकल रोकेर नजिकैको इँटाभट्टातर्फ लाग्छन् । महिला मोटरसाइकलनजिकै बसिरहेकी हुन्छिन् । त्यसपछि तीनैजना आएर महिलाको मुख र घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

त्यसपछि उनीहरूले सावित्राको शव बारीमा फालिदिन्छन् । शवमा फिंगर–प्रिन्ट रहने डरले उनीहरूले आगो लगाउने योजना बनाउँछन् । शव घिसारेर उखुबारीको बीचमा पुर्‍याउँछन् । महिलाको कपडा खोलेर शवमाथि राख्छन् । मोटरसाइकलबाट पेट्रोल झिक्छन् र छर्किएर जलाउन खोज्छन् । तर, उनीहरूसँग भएको लाइटर फेला पर्दैन । शव त्यसै छाडेर तीनैजना बरहथवास्थित एक पसलबाट दुईवटा चुरोट र लाइटर किनेर फेरि महिलाको शव भएको स्थानमा पुग्छन् । 

सन्तोषले साथीहरूलाई मोटरसाइकल तयारी अवस्थामा राख्न लगाएर शवमा आगो लगाएर हतार–हतार फर्कन्छन् । महिलाको ब्याग भने सँगै लिएर जान्छन् । ब्याग केही किलोमिटरको दूरीमा रहेको बरहथवास्थित सोल्टी गेटनजिकै पुगेर चेक गर्छन् र सडक–किनारमा फालेर फरार हुन्छन् । गत २३ पुसमा महिलाको बीभत्स शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गर्छन् । २४ पुसमा सन्तोष साह र २७ गते मुकेश ब्लोन र रोहित हजरालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।