१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ मा रहेको शंखधर मेमोरियल स्कुलमा १२ देखि १७ वर्षका विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउँदै । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
अर्जुन अधिकारी काठमाडाैं
२०७८ पौष २७ मंगलबार ०७:१७:००
Read Time : > 4 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

दोब्बरले बढ्दै बालबालिकामा संक्रमण

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
२०७८ पौष २७ मंगलबार ०७:१७:००

दोस्रो लहरपछि दैनिक २५ बालबालिकामा सीमित कोरोना संक्रमण मंगलबारदेखि उकालोतर्फ, सोमबार १८ वर्षमुनिका एक सय १६ बालबालिकामा देखियो संक्रमण

गत सातादेखि बालबालिकामा कोरोना संक्रमण उकालो लागेको छ । कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएसँगै बालबालिकामा पनि दैनिक दोब्बरले संक्रमण बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै १८ वर्षमुनिका एक सय १६ जना बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन फैलिएसँगै देशभर बालबालिकामा पनि संक्रमण बढ्दै गएको हो । मन्त्रालयका अनुसार आइतबार ७५ जनामा संक्रमण देखिएको थियो । शनिबार ६७ जना संक्रमित भएका थिए । 

पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ४६ जनामा संक्रमण देखिएको छ । कोभिडको दोस्रो लहरपछि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिकामा संक्रमण गत मंगलबारदेखि उकालो लागेको हो । गत सोमबार २२ बालबालिका संक्रमित भएका थिए । मंगलबार, बुधबार, बिहीबार र शुक्रबार क्रमशः ४२, ४२, ५७ र ४३ जनामा संक्रमण देखिएको छ । १२ वर्षमुनिका बालबालिका खोपको पहुँचमा नभएको र ओमिक्रोन बालबालिकामा बढी देखिने दरका कारण संक्रमण दिनानुदिन बढिरहेको चिकित्सकहरूले अनुमान गरेका छन् । 

हालसम्म १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख २५ हजार चार सय आठ बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् । संक्रमण बढेसँगै बालबालिका खोप कार्यक्रममा तीव्रता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबारदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई फाइजर र मोडर्ना खोप दिन लागिएको छ । 

अमेरिकामा बालबालिका अस्पताल भर्नादर बढ्यो 
कोभिड महामारी सुरु भएयताकै सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा खोप उपलब्ध नभएका उमेर समूहका बालबालिकाको अस्पताल भर्नादर बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले गरेको पछिल्लो सर्वेक्षणले पाँच वर्षमुनिका बालबालिकामा कोभिड संक्रमणका कारण अस्पताल पुग्नेको संख्या बढेको देखाएको छ । अमेरिकामा गत सातादेखि दैनिक औसत अस्पताल भर्नादर ६ सय ७२ पुगेको छ । जुन हालसम्मकै सबैभन्दा धेरै रहेको सिडिसीले जनाएको छ ।

साना बालबालिकामा बढेको अस्पताल भर्नादरका कारण ओमिक्रोन र अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमणलाई मानिएको छ । खासगरी पाँच वर्षभन्दा माथि उमेर समूहमा तुलनात्मक रूपमा संक्रमण कम देखिएकाले समेत ओमिक्रोन जिम्मेवार रहेको विज्ञहरूको अनुमान छ । तर, हालसम्म संक्रमित बालबालिका अझै पनि वयस्कहरूको तुलनामा गम्भीर बिरामी हुने जोखिममा धेरै कम छ । अघिल्ला लहरमा साना बालबालिका अस्पताल भर्ना भए पनि आइसियु तथा भेन्टिलेटरमा पुग्ने दर निकै न्यून थियो । 

सिडिसीको तथ्यांकअनुसार १ जनवरीदेखि मात्रै चार वर्षमुनिका एक लाखभन्दा बढी बालबालिका अस्पताल भर्ना भइसकेका छन् । जुन पछिल्लो महिनाको तुलनामा दोब्बर र पछिल्लो वर्षको तुलनामा झन्डै तीन गुणा बढी भएको सिडिसीले जनाएको छ । तर पाँचदेखि ११ वर्ष उमेर समूहका बालकालिका संक्रमणदर पछिल्लो वर्षजस्तै करिब ०.६ प्रतिशतको हाराहारीमा छ । 

अमेरिकामा पाँचदेखि ११ वर्ष उमेरका १६ प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । खोप लगाउन मिल्ने जनसंख्यामा बुस्टर डोजसमेत प्रयोग भइरहेको छ । तर, खोप लगाउन नमिल्ने समूहमा अस्पताल भर्नादर बढेको सिडिसीकी निर्देशक डा. रोशेल वालेन्स्कीले बताएकी छिन् । ‘पछिल्लो सातायता २१ प्रतिशत बालबालिकामा संक्रमण देखिनु सामान्य होइन । गम्भीर समस्या न्यून देखिए पनि बालबालिकाको स्वास्थ्यलाई महत्व दिन अति आवश्यक भएको छ,’ उनले भनेकी छन् ।

बालबालिकाको बढ्दो अस्पताल भर्नादरले ओमिक्रोनले साना बालबालिका बढी प्रभावित हुने चिकित्सकहरूले अनुमान गरेका छन् । भारतमा पनि ओमिक्रोन फैलिएसँगै गत वर्षको तुलनामा बालबालिका अस्पताल भर्नादर बढेको छ । ओमिक्रोनले बालबालिकाको श्वासनलीमा असर गरिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । दिल्लीस्थित श्री बालाजी एक्सन मेडिकल इन्स्टिच्युटका श्वासप्रश्वास रोग विशेषज्ञ डा.अनिमेश आर्यालले भनेका छन्, ‘बालबालिकाको श्वासनली वयस्कको तुलनामा साँघुरो हुने भएकाले श्वासनलीको माथिल्लो भागमा संक्रमण देखिएको छ । प्रतिरोधी क्षमता कमजोर र भ्याक्सिनसमेत प्रयोग नभएका यो समूहमा भाइरसले अन्य अंगमा पनि प्रभाव पार्ने जोखिम बढी देखिन्छ ।’

पहिलो र दोस्रो डोज छुटेकालाई काठमाडौंका यी ठाउँमा लगाइन्छ खोप

कोरोनाको दर दैनिक बढ्न थालेसँगै सरकारले विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने भनेको छ । सरकारले यस्ता नियम लागू गर्न लागेसँगै खोप लगाउन छुटेका र पहिलो डोज लगाएका कतिपयलाई खोप लगाउन पाए हुने भन्ने भएको छ । 

काठमाडौंमा रहेका कसैले खोप लगाउन पाएका छैनन् वा दोस्रो मात्रा लगाउन बाँकी छ भने ११ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालनकै अवस्थामा छन् । १८ वर्षभन्दा माथिका उमेर समूहले ती ठाउँमा गएर खोप लगाउन सक्नेछन् । आफूलाई पायक पर्ने जुनसुकै ठाउँमा गएर खोप लगाउन सक्नेछन् । त्यसका लागि पहिलो डोज लगाएकाले खोप कार्ड र पहिलो मात्रा पनि नलगाएकाले आफ्नो परिचय पत्र लिएर जाँदा खोप लगाउन पाउनेछन् ।

काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकाबाहेक अन्य नगरपालिकाभित्र खोप कार्यक्रम सञ्चालनमा छन् । कीर्तिपुर नगरपालिकामा विष्णुदेवी अस्पताल कीर्तिपुरमा खोप कार्यक्रम सञ्चालनमा छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा पनि खोप कार्यक्रम यथावत् छ । नगरपालिकाभित्र मूलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको गोकर्णेश्वर अस्पतालमा खोप कार्यक्रम सञ्चालन छ । दक्षिणकाली नगरपालिकाका प्रवक्ता अम्रिका बलामीका अनुसार खोप लगाउन छुटेकालाई नौवटै वडामा रहेका स्वास्थ्य चौकीमा खोप लगाइन्छ । तारकेश्वर नगरपालिकामा मनमैजु स्वास्थ्य चौकीमा बिहान १० देखि साँझ ४ बजेसम्म लगाइन्छ । टोखा नगरपालिकाले मंगलबारदेखि १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाउने भएकाले अन्य उमेर समूहलाई ६ माघसम्मका लागि खोप नलगाउने भएको छ । 

काठमाडौँका ६ स्थानीय तहबाहेक जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमातहत पनि खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । जसमध्ये काठमाडौँका आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, टिचिङ अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल, प्रसूति गृह, वयोधा अस्पताल, कोटेश्वर एपेक्स पोलिक्लिनिक, नयाँ बसपार्क गोंगबु, सहिद मेमोरियल अस्पताल कलंकीमा गएर छुटेका वा पहिलो डोज लगाएकाले खोप लगाउन सकिनेछ । यी अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइन्छ । 

दैनिक पाँच लाखलाई खोप अभियान भएन प्रभावकारी

सरकारले दैनिक पाँच लाख नागरिकलाई खोप लगाउने घोषणा गरेको थियो । तर, सरकारले लिएको लक्ष्यअनुसार खोप अभियान अघि बढ्न सकेको छैन । हरेक दिन खोप लगाउनेको संख्या दुई लाखको हाराहारीमा मात्र देखिएको छ । सोमबार पनि दुई लाख १० हजार पाँच सय ९४ जनाले खोप लगाएका छन् ।

पर्याप्त सिरिन्ज नहुँदा दैनिक पाँच लाखलाई खोप लगाउने अभियान कार्यान्वयनमा नआएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । कोभिड महामारीको समयमा तीन तहका सरकारबीच समन्वय हुन नसक्दा खोप अभियान बरालिएको उनीहरूको भनाइ छ । सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिँदै आएको छ । तर, संघीय सरकारको निर्णयअनुसार सबैले खोप सहज रूपमा पाएका छैनन् । कतिपय खोपकेन्द्रले नेपालमा उपलब्ध भएका खोप आवश्यकताअनुसार दिएका छन् भने कतिपय केन्द्रले आफूलाई सहज हुने खोप मात्रै चलाएका छन् । यसले गर्दा एक मात्रा र दुई मात्रा खोप लगाउन जानेहरू समस्यामा परेको गुनासा आएका छन् । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी संघीयता कार्यान्वयनपछि स्वास्थ्यमा समन्वयको पाटो बरालिएको बताउँछन् । ‘कतिपय क्षेत्रमा धेरै राम्रो काम पनि भएका छन्,’ उनले भने, ‘तर कतिपय स्वास्थ्य क्षेत्रले बाटो बिराएको जस्तो भएको छ । यो हाम्रा लागि निकै ठूलो चुनौती हो ।’

देशभर सात सय ५३ पालिकाले के गरिरहेका छन् भनेर स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी हुँदैन । ‘स्वास्थ्य मन्त्रालय तीन तहमा विभाजित छ । स्थानीय तहमा २५ हजार स्वास्थ्यकर्मी छन् । करिब ६ हजारको संख्यामा प्रदेश र २५ सयको हाराहारीमा संघमा छन् । संघमा भएका कर्मचारी र प्रदेशमा भएका कर्मचारीबीचको समन्वयमै सबैभन्दा ठूलो चुनौती छ,’ अधिकारीले भने, ‘कोरोना रोकथाम स्वास्थ्य मन्त्रालयको काँधमा भएकाले अरू निकायसँगको समन्वय त झनै ग्याप छ । समयअनुसार व्यवस्थापन गर्ने काम हामीले गर्दै आएका छौँ । हामीले मागेजति खोप स्थानीय तहमा पठाएका छौँ, तर नलगाएर समय सकिन लागेपछि फिर्ता भएका पनि छन् ।’

सिरिन्ज अभावले रोकिएको फाइजर खोप अभियान मंगलबारदेखि सुरु हँुदै छ । अन्य खोपका लागि आवश्यक पर्ने सिरिन्ज पनि कम मात्रै मौज्दात छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार हाल देशभर ३० लाख २४ हजार आठ सय सिरिन्ज बाँकी छ । दैनिक रूपमा दुई लाखले खोप लगाइरहेका छन् । यही संख्यामा खोप लगाए १५ दिनभन्दा बढीलाई सिरिन्ज पुग्ने देखिँदैन । फाइजरका लागि आएको छुट्टै ६ लाख सिरिन्जबाट मंगलबारदेखि खोप लगाइने भएको छ । 

व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीका अनुसार हाल भएको सिरिन्जले १० देखि १५ दिनलाई पुग्छ । तर, सरकारको लक्ष्यअनुसार दैनिक पाँच लाखले लगाएको अवस्थामा भने एक साताभन्दा बढी खोप अभियान चल्न सक्दैन । मरासिनीका अनुसार कोभ्याक्समार्फत २० जनवरीमा १२ लाख ९६ हजार खोप आउँदै छ । सरकारले दुई करोड खोप खरिद गर्न लागेको छ, त्यसमध्ये ५० लाखको टेन्डर भइसकेको छ । जुन १५ दिनभित्र आउने अनुमान गरिएको छ । चीनले २० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ, तर कहिले दिने भन्ने टुंगो लागेको छैन ।