१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सुवास भट्ट नयाँ पत्रिका
२०७८ पौष २२ बिहीबार ०७:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वन निर्देशकको सात करोड अवैध सम्पत्ति : काठमाडौं, कास्कीसहित ३२ ठाउँमा घरजग्गा, १९ बैंकमा खाता

Read Time : > 2 मिनेट
सुवास भट्ट, नयाँ पत्रिका
२०७८ पौष २२ बिहीबार ०७:३८:००

लेखा समितिको निर्देशनपछि अख्तियारले थालेको थियो अनुसन्धान, पदीय दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यबाट गैरकानुनी रूपमा आर्जन गरेको ठहर

साविक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम (हाल खारेज भइसकेको)मा भ्रष्टाचार गरी करिब सात करोड अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको वन निर्देशनालयका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पत्नी रुवी जिसी विष्टसमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले बुधबार अदालतमा मुद्दा दायर गरेको हो । 

विष्टविरुद्ध गैरकानुनी रूपमा आर्जित सम्पत्ति ६ करोड ८७ लाख ५७ हजार रुपैयाँलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको छ । सम्पत्ति जफतको प्रयोजनका लागि मात्र आयोगले पत्नी जिसीलाई प्रतिवादी बनाइएको छ । 

हेमराज विष्ट

वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमितताबारे नयाँ पत्रिकालगायत सञ्चारमाध्यममा आएको समाचारका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

२७ वैशाख ०५५ मा सहायक वन अधिकृतबाट सरकारी सेवा सुरु गरेका विष्टले करिब २२ वर्षको अवधिमा यति ठूलो मात्रामा गैरकानुनी सम्पत्ति आर्जन गरेका आयोगको आरोपपत्रमा उल्लेख छ । ६ चैत ०६८ मा उपसचिवसरहको जिल्ला वन अधिकृतमा बढुवा भएका उनी सुदूरपश्चिम प्रदेशअन्तर्गतको वन निर्देशनालय, कैलालीमा निमित्त वन निर्देशकका रूपमा कार्यरत थिए । 

आयोगले विष्टको सरकारी सेवामा बहाल अवधि २७ वैशाख ०५५ देखि १७ कात्तिक ०७७ सम्ममा सिर्जित सम्पत्ति र खर्च तथा लगानीसहितको आयव्ययमाथि अनुसन्धान गरेको थियो । आयोगको छानबिनबाट सरकारी सेवामा बहाल अवधिमा उनको वैध आय १७ करोड ३७ लाख १२ हजार देखिएको थियो । त्यही अवधिमा विष्टको खर्च तथा लगानी भने २४ करोड २४ लाख ६९ हजार रुपैयाँ देखिएको आयोगले उल्लेख गरेको छ । 

‘जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आयको अनुपातमा ६ करोड ८७ लाख ५७ हजार बराबरको रकम गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि हुन आयो,’ आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ । यो सम्पत्ति उनले पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यबाट गैरकानुनी रूपमा आर्जन गरेको आयोगको ठहर छ । गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि हुन आएको त्यही रकमलाई आयोगले बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो । आयोगले उक्त सम्पत्ति असुलउपर र जफत गर्न भनेको छ । विष्टले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी जिसीका नाममा भएका घरजग्गा तथा बैंक खाताहरूमा समेत राखेको देखिएकाले पत्नीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि आयोगले प्रतिवादी बनाएको छ । 

काठमाडौं, भक्तपुरसहित ३२ ठाउँमा विष्टदम्पतीको घरजग्गा 
आयोगले अदालतमा पेस गरेको अभियोगपत्रमा गैरकानुनी रूपमा आर्जित सम्पत्ति विष्टले कहाँकहाँ लगानी गरे भन्ने पनि उल्लेख छ । आरोपपत्रमा उल्लेख भएअनुसार विष्ट र पत्नी जिसीका नाममा काठमाडौं र भक्तपुरसहित विभिन्न जिल्लाका ३२ ठाउँमा घरजग्गा देखिएको छ । काठमाडौं, भक्तपुर, कास्की, दाङ, कैलाली र कञ्चनपुरमा विष्ट दम्पतीको घरजग्गा देखिएको आरोपपत्रमा उल्लेख छ । यसमध्ये दाङ र कैलालीमा भएको घरजग्गामा अन्य व्यक्ति पनि जोडिएका छन् । त्यस्तै, विष्ट दम्पतीको १९ वटा बैंकमा खाता देखिएको आरोपपत्रमा उल्लेख छ । 

वन उपभोक्ता समितिमा नक्कली सदस्य बनाएर रूख कटान 
विवादित वैज्ञानिक वन व्यवस्थापनमा कार्यरत रहेका विष्टले पदको दुरुपयोग गरी गैरकानुनी गतिविधि सुरु गरेका थिए । कार्यक्रमलाई नै उनले गैरकानुनी सम्पत्ति आर्जनको थलो बनाएका थिए । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध साधारण सदस्यहरूको किर्ते दस्तखत गर्ने, नक्कली घरधुरी खडा गरी समितिमा राख्ने, एउटै घरमा एकजनाभन्दा बढीलाई समितिको सदस्य बनाउनेलगायतका किर्ते गतिविधिमा विष्ट सहभागी भएको आयोगको अनुसन्धानबाट देखिएको छ । वन उपभोक्ता समितिमा आफैँले नक्कली सदस्यहरू खडा गरेर कार्यक्रमअन्तर्गत रूख कटान गर्ने कार्यमा विष्ट संलग्न भएको आरोपपत्रमा उल्लेख छ । 

एक वर्षअघि लेखा समितिले गरेको थियो सम्पत्ति छानबिनको सिफारिस 
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा व्यापक अनियमितता भएको निष्कर्षसहित त्यसमा संलग्नमाथि कारबाही गर्न गत वर्ष संसद्को सार्वजनिक लेखा समितिले सिफारिस नै गरेको थियो । सांसद प्रदीप यादवको संयोजकत्वमा गठित उपसमितिले सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरको वैज्ञानिक वन व्यवस्थापनको अध्ययन गरेको थियो । 

उपसमितिले विभिन्न जिल्लाका वन अधिकृतसहित थुप्रै उपभोक्ता समूहलाई छानबिनको दायरामा ल्याउन सिफारिस गरेको थियो । समितिले उपसमिति नै गठन गरेर कार्यक्रमको अनुगमन गरी गत वर्ष असोजमा प्रतिवेदन तयार गरेको थियो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी वन अधिकारीहरूले अस्वाभाविक उच्च जीवनस्तर यापन गर्दै आएको ठहर गर्दै उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग समितिले गरेको थियो । 

आयोगले मुद्दा दायर गरेको यिनै विष्टमाथि साझेदारी वनहरूको कटान प्लट निरीक्षण गर्नेक्रममा काठ व्यवसायीसँग मिलेमतो गरी अवैध रूख कटानलाई वैध बनाउने कार्य गरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । उनले अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको उपसमितिको ठहर थियो । विष्टसहित आधा दर्जनभन्दा बढीको नामै किटेर सम्पत्ति छानबिन गर्न समितिले माग गरेको थियो । 

‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेका जिल्लामा तत्कालीन समयदेखि हालसम्म कार्यरत डिभिजन वन अधिकृतहरू, प्रदेश वन निर्देशकहरू, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीहरू र सामुदायिक वन उपभोक्ता समूहको पदाधिकारीका रूपमा रहेका निर्वाचित जनप्रतिनिधिहरूलगायत सबै जिम्मेवार व्यक्तिहरूउपर सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम पहिचान र सम्पत्ति छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिने’ प्रतिवेदनमा भनिएको थियो ।