१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
कमल खत्री नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नारच्याङबाट अन्नपूर्ण आधार शिविर अब दुई दिनमै 

Read Time : > 2 मिनेट
कमल खत्री, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४४:oo

विश्वप्रसिद्ध अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविर म्याग्दीको नारच्याङबाट अब दुई दिनमै पुगिने भएको छ । आधार शिविरसम्म पुग्ने ‘मौरिस हर्जोग ट्रेल’ मर्मतपछि यहाँको यात्राअवधि छोटिएको हो । 

पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले गत वर्ष दुई करोड ८० लाख बजेट विनियोजन गरेको थियो । यो बजेटले हुमखोलादेखि आधार शिविरसम्म पदमार्गलगायत अन्य पूर्वाधार निर्माण गरिएको छ । नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म यसअघि सडक पुगिसकेको छ ।  

पदमार्गमा ढुंगा चिनेर ६ हजार पाँच सयवटा सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए । आधार शिविरसम्म पुग्ने पदमार्गमा आश्रयस्थल, विश्राम गर्ने चौतारालगायत पूर्वाधार निर्माण भएका छन् । यो पदमार्ग ०६८ मा पहिचान भएको हो । 

दुई दिनको यात्रा अब दुई घन्टामा 
नीलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोट गरेर बनाएको दोभान–हुमखोला (१३ किलोमिटर) पहुँचमार्ग निर्माण गरेको छ । यो सडक निर्माणपछि १३ किलोमिटरको यात्रा दुई घन्टामा छोटिएको छ । जसले आधार शिविर अझै नजिक भएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए । 

अन्नपूर्ण पदमार्गमा राखिएको सिँढी, जसले यात्रालाई छोट्याएको छ । 

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माण भएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ । नीलगिरि हिमालको फेदी हुमखोलाबाट करिब १४ किलोमिटर लामो पदमार्गमा ढुंगाको सिँढी चिनिएको छ भने अक्करे पहाड र भिरमा रेलिङसमेत राखिएको छ । अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माण सकिएको र दुई महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको खानी एन्ड एनबी जेभी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर होमराज गौतमले जानकारी दिए । 

पदमार्गमा यसअघि पर्यटन विभागसँगै प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को समेत लगानीमा पदमार्ग, झोलुंगे पुल, फड्के, सिँढीलगायत पूर्वाधार निर्माण गरिएको थियो

पदमार्गअन्तर्गत पाँच ठाउँमा काठको साँघु, १० ठाउँमा चौतारालगायत पूर्वाधार निर्माण भइरहेको छ । यो पदमार्गमा यसअघि पर्यटन विभागसँगै प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)कोसमेत लगानीमा पदमार्ग, झोलुंगे पुल, फड्के, सिँढीलगायत पूर्वाधार निर्माण गरिएको थियो । 

सवारीसाधनबाट एकै दिनमा
अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्ग छोटिएसँगै अब आधार शिविरमा एकै दिन पुग्न सकिने भएको छ । पदमार्ग पहिचान गर्दा सात दिन लागेकोमा अहिले आन्तरिक पर्यटकहरू नारच्याङबाट हुमखोलासम्म सवारीसाधन र त्यहाँबाट करिब १५ किलोमिटर पदयात्रामार्फत एकैदिन आधार शिविर पुग्न थालेका छन् ।

सडक, पदमार्गलगायतका सहज पूर्वाधारले अब अन्नपूर्ण आधार शिविरमा दुई दिनमै पुगेर फर्कन सक्ने अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पुर्जाले जानकारी दिए । सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ । यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । 

 ‘मौरिस हर्जोग ट्रेल’को प्रवद्र्धन गरिने 
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग टे«ल’लाई योजनाबद्ध ढंगबाट प्रचारप्रसार गर्ने तयारी भएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउँपालिकाले यो पदमार्ग सञ्चालन गरेको थियोे ।

आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका आरोही मौरिस हर्जोगका नाममा तयार भएको पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित पदमार्ग भएकाले यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमा पहल गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गर्न प्रवेशविन्दु नारच्याङमा दुई वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सवसमेत भएको थियो । यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामका रूपमा विकास गर्न लागेको अध्यक्ष पुनले बताए ।

हर्जोगले ३ जुन १९५० मा अन्नपूर्ण प्रथमको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहणको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ ।

अघिल्लो वर्ष यो पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमालको आरोहण गरेका थिए । अहिले असारयता मात्रै सात सयभन्दा बढी आन्तरिक पर्यटक आधार शिविर पुगेको अनुमान छ । 

ad
ad