Skip This
ad
हुम्लामा खाद्यान्न  ढुवानी गर्न सरकारको ढिलाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o५:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हुम्लामा खाद्यान्न  ढुवानी गर्न सरकारको ढिलाइ

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o५:४१:oo

सेनाको हेलिकोप्टर मर्मतमा रहेकाले  ढुवानीमा अझै एक–दुई दिन लाग्ने सरकारको भनाइ

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा खाद्यान्न पुर्‍याउन सरकारले ढिलाइ गरेको छ । यसअघि शुक्रबारदेखि ढुवानी गर्ने बताएको सरकारले अब सेनाको हेलिकोप्टर बिग्रिएका कारण ढिलाइ हुने बताएको छ । 


अस्ति शुक्रबारबाटै ढुवानी हुन्छ भन्थे, फेरि अझै १–२ दिन लाग्छ भन्दै छन् : पाल्जोर तामाङ, वडाध्यक्ष, नाम्खा गाउँपालिका– ६

गृह मन्त्रालयले त शुक्रबारबाटै हिल्साबाट लिमीमा खाद्यान्न जान सुरु हुन्छ भनेको थियो, तर अहिले हेलिकोप्टर नै तयार नभएकाले केही ढिलो हुन्छ भन्ने खबर पाएको छु । अझै हेलिकोप्टर तयार हुन एक–दुई दिन लाग्छ भनेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सेनाको हेलिकोप्टर मर्मत भइरहेकाले ढुवानीमा ढिलाइ हुने बताए । ‘सेनाको हेलिकोप्टरबाट छिटो खाद्यान्न ढुवानी गर्ने निर्णय भएअनुसार पत्राचार भइसकेको थियो, तर रक्षा मन्त्रालयले सेनाको हेलिकोप्टर मर्मतमा रहेकाले तोकिएभन्दा केही ढिलाइ हुने जानकारी गराएको छ,’ उनले भने, ‘एक–दुई दिनमै हेलिकोप्टर बन्ने र खाद्यान्न ढुवानी सुरु गर्ने रक्षाको भनाइ छ ।’ 

भोकमरी भएपछि लिमी क्षेत्रका बासिन्दा राज्यसँग चामल माग्दै सदरमुकाम सिमकोट हुँदै काठमाडौंंसम्म पुगेका छन् । नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङ र हुम्लाका संघीय सांसद छक्कबहादुर लामाले सोमबार काठमाडौं आई मंगलबार गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए । लगत्तै गृहले सेनाको हेलिकोप्टर प्रयोग गरी शुक्रबारदेखि हिल्सा नाकामा रहेको खाद्यान्न लिमी क्षेत्रमा पुर्‍याउने बताएको थियो । 

वडाध्यक्ष तामाङले सरकारले खाद्यान्न ढुवानीमा ढिलाइ गरेको बताए । ‘गृह मन्त्रालयले त शुक्रबारबाटै हिल्साबाट लिमीमा खाद्यान्न जान सुरु हुन्छ भनेको थियो, तर अहिले हेलिकोप्टर नै तयार नभएकाले केही ढिलो हुन्छ भन्ने खबर पाएको छु,’ उनले भने, ‘अझै हेलिकोप्टर तयार हुन एक–दुई दिन लाग्छ भनेका छन् ।’ बिहीबार दिउँसो तामाङ र सांसद लामाले रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई भेटेका थिए । त्यसक्रममा हेलिकोप्टर चाँडै मर्मत गरी खाद्यान्न ढुवानी सुचारु गर्ने बताएको तामाङले भनाइ छ ।
 
हेलिकोप्टरमा खाद्यान्न लोड गर्न हिल्सामा १२ जना पुगिसके
हेलिकोप्टरमा खाद्यान्न लोड गर्न लिमीका १२ स्थानीय हिल्सा पुगिसकेका छन् । खाद्यान्न माग गर्दै लिमीबाट सिमकोट आएका करिब ३० जनामध्ये आठजना हिँडेर हिल्सा पुगेका हुन् । त्यस्तै, लिमीबाट थप चारजना पनि हिल्सा पुगेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘साथीहरू हिल्सामा हेलिकोप्टर कुरेर बस्नुभएको छ,’ उनले भने ।

हिल्सामा चीनले अनुदान दिएको चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल थन्किएको छ । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गाउँपालिकाले गरेको थियो । हिल्सा पुगेका लिमीका बासिन्दाले करिब पाँच सय बोरा मैदा सीमापारिबाट नेपालतर्फ ओसारेर गोदाममा राखिएका छन् । त्यस्तै, थप खाद्यान्न शुक्रबार पनि ओसार्ने अध्यक्ष तामाङले बताए । ‘हिल्सामा रहनुभएका साथीहरूले सबै सामान गोदाममा राखेर हेलिकोप्टरमा लोड गर्ने अवस्थामा राख्नुहुन्छ,’ उनले भने ।

हेलिकोप्टर सोमबार मात्रै बन्ने
हिल्सादेखि लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्न प्रयोग गरिने भनिएको एमआई– १७ हेलिकोप्टर यतिवेला मर्मतमा रहेको सेनाको भनाइ छ । हेलिकोप्टर सोमबार मात्र बन्ने र त्यसपछि खाद्यान्न ढुवानी गरिने जानकारी सेनाले जिल्ला प्रशासन कार्यालय हुम्लालाई दिएको छ । ‘सेनाले सोमबार मात्रै हेलिकोप्टर मर्मतबाट निस्कन्छ भनेको छ । त्यसपछि पहिलो काम नै हिल्साबाट लिमी क्षेत्रमा खाद्यान्न ढुवानी हुने भनिएको छ,’ हुम्लाका सिडिओ गणेश आचार्यले भने, ‘अब हेलिकोप्टर पर्खनुको विकल्प छैन ।’

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने यस विषयमा खुलेर बोल्न चाहेनन् । ‘हुम्लामा सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्ने विषयमा मैले राम्ररी बुझेको छैन । यो विषयमा बुझेर तपाईंलाई भन्छु,’ उनले भने । यद्यपि, गृह मन्त्रालयले गत मंगलबार नै सेनालाई पत्र पठाउँदै बुधबारदेखि हुम्लाको हिल्सादेखि लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्न भनेको थियो । त्यसपछि सेनाले हेलिकोप्टर मर्मतमा रहेकाले तत्काल उपलब्ध नहुने जानकारी गराउँदै बुधबारबाटै ढुवानी सुरु गर्नुपर्ने व्यहोराको पत्रको सट्टा अर्को पत्र पठाइदिन आग्रह गरेको थियो । त्यसपछि बिहीबार पुनः सेनालाई जतिसक्दो छिटो हिल्साबाट लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्न पत्राचार गरेको गृहप्रवक्ता पोखरेलले बताए । ‘मैले आज फेरि अर्को पत्र पठाएर जतिसक्दो छिटो हिल्साको खाद्यान्न लिमीमा ढुवानी गर्न भनेको छु । सेनाले एक–दुई दिन लाग्ने र त्यसपछि ढुवानी सुरु गरिहाल्ने जानकारी दिएको छ,’ उनले भने ।

 

ad
ad