१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०९:३३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

फाइजर खोप : चार दिनमा  ३२ सयले मात्रै लगाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०९:३३:००

१२ वर्षमाथिका दीर्घरोगीलाई लगाइँदै आएको खोप न्यून संख्यामा प्रयोग

 बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको फाइजरको खोप नेपालमा न्यून मात्रै प्रयोग भएको छ । अहिले नेपालमा दैनिक २४ वटा अस्पतालमा यो खोप लगाइँदै आएको छ ।स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घन्टामा पहिलो र दोस्रो मात्रा गरी एक लाख एक हजार सात सय ६१ जनाले खोप लगाएका छन् । तर, फाइजर खोप एक हजार एक सय नौजनाले मात्रै लगाएका छन् । गत २८ कात्तिकबाट सरकारले फाइजरको खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई दिने निर्णय गरेको थियो । 

परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा.सागर दाहालका अनुसार सरकारले एक सातामा ५० हजारजनालाई फाइजर खोप लगाउने लक्ष्य लिएको छ । तर, समयसीमा सकिन तीन दिन बाँकी हुँदा ३२ सय २० जनाले मात्रै फाइजर खोप लगाएका छन् । फाइजरको खोप एक लाख ६ हजार डोज आएको छ । यो खोप ३० दिनभित्र लगाइसक्नुपर्नेमा अहिले दैनिक एक हजारले लगाउँदा धेरै समय लाग्ने देखिएको छ । दीर्घरोगीको संख्या एकिन नभएकाले पनि फाइजरको खोप लगाउने कमी देखिन थालेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको कोभिड–१९ खोप अभियान सबै प्रदेशहरूमा एकै साथ सञ्चालन भइरहेको छ । हाल नेपालमा भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका तथा फाइजर–बायोएनटेक खोप चलिरहेको छ । नेपालले गत ५ कात्तिकमै एक करोड ५० लाख मात्रा खोप लक्षित समूहमा प्रयोग गरी सफलता प्राप्त गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न स्रोतहरूबाट दुई करोड ५१ लाख ५० हजार ५३० मात्रा खोप प्राप्त भइसकेको छ । 

कहाँबाट कति प्राप्त भयो खोप ?
नेपालले ८ कात्तिकमा कोभ्याक्स सुविधाअन्तर्गत फाइजर–बायोएनटेक खोपको एक लाख ६ सय २० डोज प्राप्त गरेको थियो । २९ कात्तिकमा चीन सरकारबाट एडिबी कोभ्याक्सबाट लागत सेयरिङ सुविधाअन्तर्गत भेरोसेल खोपको १४ लाख ७० हजार सात सय आठ डोज प्राप्त गरेको थियो । ३० कात्तिकमा क्यानेडियन सरकारबाट कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार एस्ट्राजेनेका खोप प्राप्त गरेको थियो ।