मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २८ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २८ आइतबार १९:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दशौँ महाधिवेशनमा ओलीपछिको वरीयतामा उम्मेदवारी दिने सुवास नेम्वाङको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २८ आइतबार १९:३७:oo

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको आसन्न दशौँ महाधिवेशनमा अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने संकेत गरेका छन्। एमालेले विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अध्यक्षपछिको दोस्रो वरीयता हुने र त्यसपछि चार उपाध्यक्ष रहने विधान पारित गरेको छ।

नेम्वाङले कूटनीतिक शब्द प्रयोग गर्दै अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ उपाध्यक्षमै आफूले उम्मेदवारी दिन सक्ने प्रस्ट संकेत गरे। यद्यपि, दुईपटक महासचिव भइसकेका ईश्वर पोखरेलले पनि निकटस्थहरूलाई आफूले पनि वरिष्ठ उपाध्यक्षमै दाबी गर्ने बताउँदै आएका छन्।

‘व्यक्तिगत रूपमा मैले अहिलेसम्म केही पनि बोलेको छैन तर पनि साथीभाइ तथा शुभेच्छुकहरूको कुरा सुनिरहेको छु। हाम्रा अध्यक्ष केपी ओलीले एउटा परिस्थितिमा क्लास दोहर्याउँदिन भन्नुभएको थियो, तर अहिले जुन ढंगले एमालेमाथि घेराबन्दी भइरहेको छ, यस्तो अवस्थामा पार्टी र मुलुकका लागि तपाईंको नेतृत्व फेरि आवश्यक छ भनेर हामीले पुनः अध्यक्षमा निर्वाचित हुनुहोस् भनेर उहाँलाई आग्रह गरेका छौँ र उहाँ नै नेतृत्वमा आउनुपर्छ भन्ने टुंगोमै पुगिसकेका छौँ,’ नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘त्यसैले अध्यक्षका बारेमा अन्यथा सोच्ने कुरा भएन त्यसभन्दा बाहेकका पदमा विचार गर्ने हो, मलाई धेरै साथीहरूले तपाईंले अहिलेसम्म जुन भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ, त्यस हिसाबले उपयुक्त पदमा दाबी गर्नुस् भन्ने सुझाब दिइरहनुभएको छ।’ 

उनले पार्टीले निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनको समेत प्रबन्ध गरे पनि महाधिवेशनमा अन्तिमसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गरिने पनि प्रस्ट्याए। 

स्थायी समिति सदस्य रहेका नेम्वाङ संसदीय दलमा ओलीपछिको दोस्रो वरीयतामा छन्। ओलीले सरकारको नेतृत्व गर्दा र त्यसपछि प्रतिपक्षको भूमिकामा रहँदा उनको अनुपस्थितिमा संसदीय दलमा नेम्वाङले नै समग्र नेतृत्व गर्दै आएका छन्। एमालेले विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी रहने गरी २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने निर्णय गरेको थियो। आगामी १० देखि १२ मंसिरसम्म चितवनमा एमालेको दशौँ महाधिवेशन हुँदै छ ।